सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न


पाँचखाल । सहकारीलाई ‘साहुकारी’ भयो भन्ने आरोप देशै भरि लागिरहेको बेला ४ वटा स्थानीय तहभित्रका सहकारीहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लि., काभ्रेको आयोजनामा फाल्गुन १३ गते पाँचखालमा सम्पन्न भएको हो ।

तालिममा पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका र चौंरीदेउराली गाउँपालिका भित्रका सहकारीहरुका प्रतिनिधिहरु सहभागी रहेका थिए । तालिम भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागको सहयोगमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाँचखाल नगर उप–प्रमुख लक्ष्मी दनुवारले सहकारीले ऋण प्रदान गरेपछि उद्देश्य अनुसार लगानी भयो कि भएन भनेर अनुगमन नगर्दा घरबार नै उठीवास भएको बताईन् । सहकारीलाई आय आर्जनसँग जोडिनुपर्नेमा उप–प्रमुख दनुवारले जोड दिइन् । ‘एउटै व्यक्ति धेरै वटा सहकारीको सदस्य भएको पाइएको, ऋण लिन मात्र सदस्य भएको, आय आर्जनलाई केन्द्र राखेर सदस्य भएको नपाइएको तर्क उनले गरिन ।’ उनले भनिन्, ‘एउटा सहकारीको ऋण तिर्न अर्को सहकारीबाट ऋण लिएर तिर्नुपर्ने अवस्था छ । जुन उद्देश्यले ऋण लिएको छ त्यो उद्देश्य अनुसार लगानी गरेको छ कि छैन भनेर अनुगमन नगरेको पाइएको छ । ऋणका कारण घरबार उठीवास भएको देखिन्छ – उनले भनिन् ।’

कार्यक्रममा सहकारी विभागका मुख्य प्रशिक्षक नारायण कार्कीले तालिम प्रदान गरेका थिए । प्रशिक्षक कार्कीले पहिलो सेसनमा सहकारीको परिभाषा, सहकारी सञ्चालनको अवस्थाको विषयमा प्रष्ट पारेका थिए । साथै दोस्रो सेसनमा कार्कीले सम्पति शुद्धिकरणको परिभाषा, महत्व र कानुनी व्यवस्थाको बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष विनोद पराजुलीले तालिमको महत्व र आवश्यकताको बारेमा चर्चा गरेका थिए ।नेपालको सहकारी अभियान अधिकांशले गरिरहेको काम बचत तथा ऋण हो । बचत तथा ऋण सहकारी संस्थाहरुको नै सबैभन्दा कमीकमजोरी रहेको छ । ‘सहकारी सबैभन्दा बढी विस्वासमा चल्ने भएकोले आपसी विस्वासलाई कायम गर्दै सरकारले ल्याएको नीति कार्यन्वय गरेर अघि बढ्नुपर्छ ।’ अध्यक्ष पराजुलीले भने, ‘वित्तिय अनुशासन कायम गर्न सम्पत्ति शुद्धिकरणको आवश्यकता रहेको छ । यो विषयमा सहकारी संस्थाहरु जानकार हुन आवश्यक छ ।’

 

कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष एवं नगर सहकारी विभाव प्रमुख पुस्कर ढकाल, नगर स्तरीय सहकारी समन्वय समितिका संयोजक विद्यालक्ष्मी देउजा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अतिथिहरुमा जिल्ला सहकारी संघका सञ्चालकहरु यदुनथा हुमागईं, डिल्ली प्रसाद आचार्य, नारायण प्रसाद लम्साल, राजुप्रसाद श्रेष्ठ, पाँचखाल नगर सहकारी शाखाका कर्मचारी ईश्वर अधिकारी, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य सत्यदेवी भट्टराई रहेका थिए ।

जिल्ला सहकारी संघ, काभ्रेका सचिव दिलिप शर्माको सञ्चालनमा भएको उक्त कार्यक्रमको सभापतित्व संघका जिल्ला सदस्य तथा शिक्षा तालिम व्यवस्थापन उपसमितिका संयोजक ठाकुरनाथ अधिकारीले गरेका थिए । तालिममा ४ स्थानीय तहका १ सय ५० भन्दा बढी सहकारी सञ्चालकहरुको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर