‘बिपी चिन्तन र सहकारी’ विषयक विमर्श सम्पन्न


काठमाडौँ । सूचना चौतारी सञ्चार सहकारी संस्था लि. अन्तर्गत हरेकपल डटकमको आयोजनामा भएको ‘बिपी विमर्शका बहुआयाम’ कार्यक्रमको तेस्रो श्रृङ्खलाका रूपमा ‘बिपी चिन्तन र सहकारी’ विषयक विमर्श सम्पन्न भयो । कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव वडाल र हरेकपल डट कमका प्रधान सम्पादक पुरुषोत्तम दाहालले बिपी र सहकारीका विषयमा बोल्नुभएको थियो । कार्यक्रममा सहजकर्ताको भूमिका सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले गर्नुभएको थियो ।

बालकृष्ण खाँड
प्रमुख सचेतक, नेपाली कांग्रेस संसदीय दल

बिपीको चिन्तन सम्पत्तिमाथिको अधिकार त नागरिकको हो भन्ने थियो । उहाँको समयमा शासक वर्ग, सरकार, र तिनका वरिपरि रहेकाहरुका ठालुहरुका बीचमा मात्र सम्पत्तिको अधिकार थियो । पुँजीपतिले श्रम गर्ने गरिब जनतालाई श्रम वापत पैसा दिँदैनथे, त्यसको सट्टा मकै, भटमास जस्ता खाद्यान्न दिन्थे, त्यस्तो चलन थियो । बिपीको भने प्रत्येक नेपालीलाई आफ्नो खुट्टामा उभिने बनाउने प्रतिबद्धता र प्रयत्न दुवै थियो । सम्पत्तिमाथि नागरिकको हक स्थापित गर्ने, हरेक नेपाली नागरिकलाई सम्पत्तिको पहुँचमा पुर्याउने, सम्पत्तिको हकदार बनाउने सबैभन्दा उचित माध्यम सहकारी हो भन्ने सोच बिपीको थियो । इजरायल र बेलायतको अध्ययनबाट उहाँले यो नेपालका लागि उपयुक्त देख्नुभयो ।

लोकतन्त्रलाई स्थायित्व दिने, विकसित गर्ने, परिष्कृत गर्ने कामका लागि सहकारी एउटा सशक्त माध्यम हुन सक्छ भन्ने बिपीको सोच थियो । लोकतन्त्र नागरिकका लागि, नागरिकको सचेतना अभिवृद्धि गर्न, नागरिक आफ्नो खुट्टामा आफैँ उभिन सक्ने बनाउन, राज्यले रोजगार प्रवद्र्धन नगरे नागरिक आफैँले रोजगार प्रवद्र्धन गर्ने कामका लागि सहकारीको सहयोग पुर्याउँछ भन्ने बिपीको चिन्तन हो । जसरी बिपीको व्यक्तित्वको बहुआयामिकता छ,त्यसरी नै सहकारीको पनि बहुआयामिकता छ । ’

दीपकप्रकाश बाँस्कोटा
संस्थापक अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ

खासगरी कानुनी रुपले संसदबाट सहकारी ऐन बनेको वि। सं। २०१६ सालमा हो । तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको रुचि नभएको भए यो ऐन आउने थिएन । तर उहाँले कार्यान्वयन गर्ने अवसर पाउनु भएन । तर जुन लक्ष्यका लागि बिपीले सहकारी भन्नु भएको हो, हामीले भनेका हौँ त्यो अभियान अझै पूरा हुन सकेको छैन । वचत तथा ऋणका रूपमा मात्रै अघि बढ्ने काम भएको छ ।समाजवाद र लोकतन्त्रका लागि सहकारी भनेको धेरै ठूलो पाठशाला हो ।

केशव बडाल
निवर्तमान अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ

प्रधानमन्त्रीका हैसियतले बिपी संयुक्त राष्ट्र संघमा भाग लिएर फर्कंदा इजरायल भएर आउनु भएछ । त्यहाँ सहकारी अभियानबाट प्रभावित भएर काठमाडौँमा तत्कालीन जनसेवा सिनेमाहलमा काठमाडौँका कर्मचारी, विश्वविद्यालयका विद्वान् वर्ग, र अन्य प्रबुद्धहरुलाई भेला गरेर सहकारी बारे लामो प्रवचन दिनुभएछ । यसबाट उहाँले सहकारीलाई निकै महत्त्वका रूपमा लिएको थाहा हुन्छ ।
आज विश्वमै सहकारी आन्दोलनको सन्दर्भमा नेपालकोे राम्रो उपस्थिति छ । नेपालको सहकारी आन्दोलनको जग बिपी कोइरालाले हाल्नुभएको हो । यसलाई नेपालको सहकारी आन्दोलनले कहिल्यै पनि बिर्सन सक्तैन र बिर्सन हुँदैन ।

पुरुषोत्तम दाहाल
प्रधानसम्पादक हरेकपल डट कम

बिपीले नेपालको अर्थतन्त्रका सन्दर्भका कुरा गर्दाखेरि सहकारीको कुरा गर्नु भएको हो । गाउँमा बस्ने, सबभन्दा पीँधका जनतालाई पनि फाइदा पुगोस् भनेर सहकारीलाई सोच्नुभएको हो । पुँजीपतिको हातमा मात्र सम्पत्तिको अधिकार हुने स्थिति पनि नहोस् र राज्य नियन्त्रित अर्थतन्त्र पनि नहोस् भन्ने उहाँको चिन्तन हो ।

साम्यवाद र पूँजीवादको फ्युजनका रूपमा बिपीले परिकल्पना गरेको अवधारणा हो सहकारी ।व्यक्ति नियन्त्रित आर्थिक सामाजिक ढाँचा र राज्य नियन्त्रित, आर्थिक सामाजिक ढाँचा दुइटैलाई नियन्त्रित गर्ने गरी बिपीले परिकल्पना गर्नु भएको चिन्तन हो सहकारी जस्तो लाग्छ मलाई ।

https://www.facebook.com/watch/live/?v=294383158654722&ref=external


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?