कोअपरेटर्स एलाइन्सले मास्क र स्यानिटाइजर वितरण गर्ने
नेशनल कोअपरेटर्स एलाइन्स काठमाडौँ क्षेत्र नं. ३ ले कोभीड १९ को रोकथाम र नियन्त्रणका लागि मास्क र सेनिटाइजर वितरण गर्ने भएको छ । कोभिड १९ को महामारीका बेला फ्रन्टलाईनमा उभिएर काम गर्ने ट्राफिक प्रहरीहरूलाई सुरक्षित रूपमा सेवा प्रवाह गर्न मद्दत पुर्याउनु हेतु उक्त कार्यक्रम गरिन लागेको कुरा ३ नं. क्षेत्रीय एलाइन्सका सल्लाहकार एवम् नेशनल कोअपरेटर्स एलाईन्सका केन्द्रीय सदस्य गोविन्द काफ्ले ले जानकारी दिनुभयो । काफ्लेले गोकर्णेशवर, शंखरापुर, कागेश्वरी मनोहरालगायका स्थानिय तहमा फैलदै गएको कोरोना भाइरस रोगका कारण प्रत्यक्ष नागरिकसँग जोडिनुपर्ने ट्राफिक प्रहरीहरू जोखिममा रहेकोले एलाइन्सको यस प्रयासले थोरै भए पनि रोग नियन्त्रण र रोकथामका लागि मद्दत पुग्ने सहकारी नेपाललाई बताउनुभयो । कार्यक्रम भाद्र ३ गते दिउँसो ३ बजे ट्राफिक प्रहरी बृत बौद्ध, जोरपाटीमा हुनेछ ।