प्रविधिका क्षेत्रमा महिलाको पहुँच र भूमिका बारे बहस

भदौ ७, काठमाडौं । पछिल्लो समय प्रविधिको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढ्दै गइरहेको देखिन्छ । विविध कारणले गर्दा प्रविधिको पहुँचबाट पछि परेका महिलाहरू प्रविधिमा अभ्यस्त हुन सके समाजलाई सकारात्मक प्रभाव पार्ने सरोकारवालाहरूको तर्क छ । डिजिटल संवादको १७औं श्रृंखलामा ‘महिला र डिजिटलाइजेसन’ विषयमा बोल्दै प्रविधि क्षेत्रमा संलग्न अग्रणी महिलाहरूले प्रविधिको महत्व र समानताको बारेमा कुरा गरे । प्रविधि क्षेत्रमा महिलाको सहभागिताले डिजिटलाइजेसन र ज्ञानमा आधारित समाज निर्माणमा सहज हुने धारणा सहभागीहरूले व्यक्त गरे । प्रविधि क्षेत्रमा कार्यरत १५० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा बोल्दै सूचना प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेका नेपाली महिलाहरूले आफ्नो अनुभव सुनाएका थिए ।

पछिल्लो समय नेपालमा पनि महिलाहरू प्रविधिको क्षेत्रमा अग्रसर भइरहेको पाइन्छ । उद्यमी तथा प्राविधिक पक्षबाट नेतृत्व गर्ने क्रममा महिलाहरू पछाडि परेको अध्ययनले देखाउँछ । बैंकिङ व्यवस्थापनमा महिलाहरूको संख्या उल्लेख्य भए पनि प्राविधिक क्षेत्रमा भने कम रहेको प्रभु बैंकका आइटी प्रमुख रत्नतारा वैद्यले बताइन् । महिलालाई अगाडि बढाउन डिजिटल साक्षरता महत्वपूर्ण हुने बताउँदै वैद्यले अबको समयमा महिलाहरू आफै अग्रसर हुनुपर्ने धारणा राखिन् ।

नेपालको पहिलो कम्प्युटर इन्जिनियर तथा वुमन इन आइटी संस्थाको अध्यक्ष गुणकेशरी प्रधान महिलाहरू आफै क्रियाशील हुनुपर्ने बताउँछिन् । कतिपय सन्दर्भमा महिलाले आइटी तथा प्राविधिक काम गर्न सक्दैनन् भन्ने सोचाइले पनि नेतृत्वमा अवसर नपाएको प्रधानको भनाइ छ । पहिलो महिला प्रोफेसर तिमिला यमीले दुर्गम क्षेत्रका महिलालाई पनि प्रविधिको पहुँचमा ल्याउनुपर्ने र यसको लागि ग्रामीण दूरसञ्चार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखिन् । विद्यालय स्तरको शिक्षादेखि नै बालिकाहरूलाई कम्प्युटरतर्फको ज्ञान दिने र उच्च शिक्षामा प्राविधिक शिक्षा अध्ययनमा प्रोत्साहन गर्नुपर्ने यमीको भनाइ छ ।

महिला तथा बालबालिका विभागकी महानिर्देशक रोशनी कुमारी श्रेष्ठले सरकारको नीति तथा योजनाहरूमा राखिए पनि लक्षित महिलाहरूले सो अनुरुपको कार्यक्रम प्राप्त गर्न नसकेको र कार्यान्वन पक्ष फितलो रहेको बताइन् । सरकारले नयाँ योजनाहरू ल्याएर महिला उद्यमीहरूलाई सहयोग पुर्‍याइरहेको उनले बताइन् ।

कालिका गाउँपालिका, रसुवाकी अध्यक्ष सीता कुमारी अधिकारीले दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहुँच पुग्न नसकेको कारण महिलाहरू अझ ओझेलमा परेको बताइन् । पछिल्लो समय वैकल्पिक शिक्षा प्रयोगमा पनि समस्या रहेको बताउँदै अब नयाँ पुस्ता प्रविधिमा अभ्यस्त बनाउन प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई योजना, कार्यक्रम र बजेटमा सहयोग गर्नुपर्ने अध्यक्ष अधिकारीले बताइन् ।

ऐनसेलको प्राविधिक प्रबन्धक लेना केशरी कंसाकारले महिलाहरूले आइटी क्षेत्रमा राम्रो गर्नका लागि आत्मविश्वास बढाउनुपर्नेमा जोड दिइन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको उपनिर्देशक रोजा किरण वासुकलाले अहिलेको समयमा सूचना, सञ्चार र प्रविधिको अधिकतम प्रयोग गरेर अघि बढ्नुपर्ने बताइन् । महिलालाई प्रविधिमा पहुँच बढाउन डिजिटल कनेक्टिभिटी र साक्षरताका कुरामा बढि ध्यान दिनुपर्ने वासुकलाको भनाइ छ । एनबी बैंकको शाखा प्रबन्धक अञ्जना लोहनीले आइटी क्षेत्रमा महिलाहरूले आफू सक्छु भन्ने मनसायसँगै अघि बढ्नुपर्ने बताइन् । आइटीमा काम गर्दा समय व्यवस्थापनको चुनौती हुने हुँदा महिलाहरूले अलि अप्ठ्यारो मान्ने गरेको उनको भनाइ थियो ।

सोचवेरको सहसंस्थापक र सीइओ इडा रिजालको अनुसार प्रविधिको पहुँचमा लैंगिक भिन्नता नहुने भनाई छ । महिलाले टेक्नोलोजी तथा प्रोग्रामिङमा काम गर्न सक्दैनन् भन्ने धारणा नै गलत भएको भन्दै बर्तमान ग्लोबलाइज्ड परिप्रेक्षले महिलाहरूलाई अवसर सिर्जना गरेको रिजालले बताइन् । महिलाले आइटी क्षेत्रमा राम्रो पहुँच बनाउन त्यस अनुसारको महिलामैत्री वातावरण सिर्जना गरिदिनुपर्ने रिजालको भनाइ थियो ।

फिल्पिस अल्ट्रा साउन्डको सफ्टवेयर इन्जिनियर विना बोगटीको अनुसार आइटी क्षेत्रमा अहिले पनि पुरुषकै वर्चस्व भए तापनि महिलाहरू अघि बढे भने यो क्षेत्रमा एकदमै राम्रो भविष्य रहेको छ । अहिले लकडाउनको समयमा त होटेलको भान्छामा काम गर्ने मान्छेले पनि अर्डर लिन र चलाउन टेक्नोलोजीको ज्ञान हुनु आवश्यक देखिएको भन्दै डिजिटल लिट्रेसी बढाउन सके वातावरण सहज हुँदै गरेको बोगटीको भनाइ थियो । सेजनका उपाध्यक्ष तथा कारोबार दैनिकका सरु ढकालले महिलाहरू अहिलेको डिजिटल युगमा पुरुष सरह दाबेदार रहेको तर उचित शिक्षा, प्रोत्साहन र महिलामैत्री वातावरणको कमीले पछि परिरहेको बताइन् । डिजिटल संवादको महिला र डिजिटलाइजेसन सम्बन्धी कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, क्यानका संस्थापक अध्यक्ष विमल शर्मा र पूर्व अध्यक्ष लोचन अमात्य लगायतले प्रविधि तथा डिजिटलाइजेनसनमा महिलाको भूमिका र यसले समाजमा पार्ने सकारात्मक प्रभावको बारेमा विचार राखेका थिए । वुमन इन आइटीका शिखा श्रेष्ठ र पल्पसा तुलाधार कंसाकारले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेका महिलाहरूको उल्लेख्य सहभागिता थियो ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *