कुरा सुनिदिएर मात्र पनि जोगाउन सकिन्छ आत्महत्याबाट


‘सामाजिक न्याय, जलबायु परिवर्तन र स्थानिय उद्यमशिलतासम्बन्धी अभियान’का तर्फबाट अभियन्ता रीता परियारले संचालन गर्नु भएको सामुदायिक छलफलको आजको श्रङ्खलामा कोरोना कहरका कारण बढ्दो आत्महत्या विषयमा मनोविद् डा. करूणा कुँवरले मानसिक समस्यामा परेका र आत्महत्या गर्ने सोचमा गएला मानिसहरूको कुरा सुनिदिएर पनि उनीहरूलाई बचाउन सकिने बताउनुभएको छ । कोरोनाका कारण हाल नेपालमा आत्महत्याको दर बढिरहेको भन्ने तथ्य सार्वजनिक भएकाले यसको अवस्था बुझ्न, कोरोनाको डर र जोखिमको अवस्थाबारे दर्शकहरूलाई जानकारी दिन तथा मानसिक स्वास्थ्य र आत्महत्याबारे सचेतनाका लागि आजको कार्यक्रममा शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. सागर राज भण्डारी, मनोविद डा. करूणा कुँवर, नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रवक्ता एस.पी ईश्वर कार्कीको सहभागिता रहेको थियो । सूचना चौतारीको प्राविधिक समन्वयमा जुम मार्फत गरिएको उक्त छलफल हरेकपल डटकमको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । यहाँ प्रस्तुत छ वक्ताहरूसँगको कुराकानीको सम्पादित अंशः

डा. करूणा कुँवर
मनोविद्

अहिलेको समय आर्थिक र सामाजिक दृष्टिले मानिसहरूका लागि निकै अप्ठेरो परिस्थित हो । त्यसै पनि विगत केहि वर्ष देखि आत्महत्याको समस्या बढेकोले यो समयलाई हामीले आत्महत्याको युग भन्न सक्छौँ । अहिले कोरोनाको अवस्थामा मानिसहरूलाई विभिन्न पुराना मानसिक समस्या र भयले आत्महत्या तिर धकेलिरहेको छ ।  यो समयमा आत्महत्या गरेका अधिकांश मानिसमा पहिलेदेखिनै मानसिक स्वास्थ्य समस्या हुनसक्छ । केहि न केहि समस्या पहिला देखि नै भएको र अहिले उपचार गर्न जान नसक्ने अवस्था आइपरेकोले पनि आत्महत्याको संख्या केहि बढेको हो कि भन्ने लाग्छ । कोरोनाका कारण व्यक्तिहरूमा आर्थिक, सामाजिक समस्याहरू आईपरे । लकडाउन यता २००० भन्दा बढिले आत्महत्या गरे, यो पहिले पहिलेको यहि अवधिको भन्दा अलि बढि हो । मानिसले आत्महत्या गर्नुका विभिन्न कारणहरू हुनसक्छन् । जुनसुकै कारणले पनि मानिसले आत्महत्या गर्नु गम्भिर विषय हो । आत्महत्या गर्ने मान्छेले पूर्व संकेतहरू प्राय व्यक्त गर्ने गर्छ । ति विषयहरूमा उसको नजिक रहेका व्यक्तिले खुलेर कुरा गर्न सक्यो भने उसलाई आत्महत्याबाट जोगाउन सकिन्छ । उसलाई कोहि त रहेछ मेरो कुरा सुनिदिने भन्ने अवस्था सिर्जना गरिदिनुपर्छ । हाम्रो समाजमा केहि गलत धारणाहरु पनि छन् जस्तो कि, जसले आत्महत्याको कुरा गर्छ उसले आत्महत्या गरिहाल्दैन भन्ने गलत मान्यता र बुझाई रहेको पाईन्छ । त्यो विलकुल गलत हो, आत्महत्या गर्नु अघि मान्छेले पटक पटक त्यस्तो संकेत गरिरहेको हुन्छ । अन्तिम चरणमा पुगेको मान्छेले समेत बाँच्ने आधार केहि न केहि आधार खोजिरहेको हुन्छ । त्यसै गरी सफल र पैसा भएको मान्छे आत्महत्या गर्दैन, हट्टाकट्टा मान्छे र बालबालिकाले आत्महत्या गर्दैन भन्ने गलत धारणा छ । तर जोकोहिमा पनि यस्तो समस्या आयो भने त्यसमा विशेष ध्यान दिनुपर्ने र उसको कुरा सुनिदिनुपर्ने हुन्छ ।

मानसिक समस्या र उदासिनताका कुराहरूबाट बाहिर निसक्ने उपायबारे सिएमसी नेपालको वेबपेजमा हेर्नुभयो केहि सामग्री पाउन सक्नुहुने छ । त्यहि पेजमा हटलाईनको सेवा बारे जानकारी पनि पाउन सकिन्छ । मानिस सामाजिक प्राणि हो । अहिले मानिससँग नजिक हुन नपाउने समस्या पनि एउटा समस्या होला । मानव जीवनको सुरुवात देखि नै मानिसले संघर्ष नै गर्दै आएको हो । हामीले हाम्रा जीवनमा कतिपय गर्व गर्न लायकका काम गरेका हुन्छौँ । असफलता र कमजोरीमा मात्र ध्यान लैजानु हुदैन । हामीले आफ्नो जीवनका सकारात्मक पाटो तिर सोच लग्नुपर्छ । सामाजिक सञ्जालमा बढि नअल्मलिने, ठिक समयमा सुत्ने र समयमा खाने गर्नुपर्छ । अरू कसैमा वा आफूमा पनि डिप्रेसनको संकेत देखियो भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

डा. सागर राज भण्डारी
निर्देशक, शुक्रराज सरुवा रोग अस्पताल

टेकु अस्पतालले आफ्नो स्रोत साधनलाई भरपूर सदुपयोग गरेर डेडिकेटेड कोरोना अस्पतालको रूपमा काम गरेको छ । स्वास्थ्यकर्मीहरूबाट बाहिर अन्यमा कोभिड संक्रमण नहोस् भनेर प्रविधिको उपयोग गरिरहेका छौँ । सुरुका दिनमा भारतबाट आउने र बोर्डर साइडबाट दशौँहजार मानिसहरू अन्य जिल्लाहरूमा गएकोले संक्रमण फैलिन गयो । सुरुका दिनमा काठमाडौँमा जिखिम हुन्छ भन्ने मानेर सुरक्षित रहन अन्य जिल्लामा गएको र पछिल्लो समय काठमाडौँ नै सुरक्षित रहेछ भनेर वा कामको शिलशिलामा यहाँ मानिसहरू फर्कने क्रम बढेसँगै संक्रमण बढेको हो । काठमाडौँको संक्रमितहरूको अवस्थालाई हेर्दा केहि दिन अघिसम्म तराई तिरबाट आउने मान्छेहरूमा बढि संक्रमण देखिएको थियो भने अहिले पछिल्लो ५-६ दिन देखि पहाडि क्षेत्रका मान्छेहरूमा संक्रमण बढि देखिएको छ । अन्यत्रको तुलनामा नेपालमा मृत्युदर कम्ति छ ।  

धुम्रपान, मद्यपान र सुर्ति सेवन बढि गर्ने बानी मानिसमा यस्तो समयमा बढ्न सक्छ, त्यसले शारीरिक र मानसिक स्वास्थ्यलाई झन् हानी गर्छ । हाम्रो आफ्नो व्यवहारहरूमा परिवर्तन गर्नुपर्छ । कोभिड १९ भनेको त्यस्तो प्राणघातक रोग भने होइन । संक्रमण नभएकाले सुरक्षित रहने उपाय गर्ने र लागि हालेमा र उपचार गरेमा ठूलो जोखिम छैन । । मानिसहरूमा रहेको डर र नकारात्मकता हटाउन मिडियामा  र सामाजिक सञ्जालमा सकारातमक सन्देशहरू दिइनुपर्छ । यसबाहेक आवश्यक काममा मात्र बाहिर जाने, मास्क अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, हातधुने वा स्यानिटाइजर प्रयोग गर्ने गरेमा धेरै हदसम्म रोकथाम हुन्छ ।

एस.पि. ईश्वर कार्की
प्रवक्ता, अपराध महाशाखा, नेपाल प्रहरी

मानिसले विभिन्न कारणहरूले आत्महत्या गर्छन् । आत्महत्या अघि पूर्व संकेतहरू विभिन्न किसिमले व्यक्त पनि गरिरहेका हुन्छन् । उनीहरूको व्यवहारमा केहि परिवर्तन भईरहेका छन् कि भनेर विशेष गरि परिवारले ध्यान दिनु पर्ने हुन्छ । समयमै ति संकेतहरू बुझेर उनीहरूलाई भरोसा दिलाउन सक्यो भने आत्महत्या गर्नबाट रोकिन सक्छन् । मानिसले डरको कारण र मानिसिक स्वास्थ्यको कारणले आत्महत्या गरिरहेका हुन्छन् । यस सम्बन्धी सचेतनाको कार्यक्रम गर्न सकियो भने पनि यसमा कमी ल्याउन सकिन्छ ।  नेपाल प्रहरीले सचेतनाको काम पनि गरिरहेको छ भने पूर्वजानकारी पाएर त्यस्ता कतिपय केसमा आत्महत्याबाट जोगाएको पनि छ । सचेतनाका सम्बन्धमा नेपाल प्रहरी एक्लैले मात्र पनि यो सचेतनाको कार्यक्रम गर्न सक्दैन । स्वास्थ्य क्षेत्रले र विद्यालयहरूले पनि यससम्बन्धी काम गर्नुपर्छ । सचेतना र उद्दारको काम नेपाल प्रहरीले गरिरहेको छ । परिवार सचेत भयो भने मानसिक समस्याहरू सुसाइडल स्टेजमा पुग्न सक्दैन ।

कमजोर आत्मबल भएको मानिसलाई आत्महत्या गर्न बाध्य पार्नु दण्डनिय अपराध हो । यस्ता घटनाहरूमा प्रहरीले अनुसन्धान गर्छ र दोषि उपर कार्वाही हुन्छ । कसैलाई आत्महत्या गर्न प्रेरित गर्‍यो वा बाध्य बनायो भने आत्महत्या दुरुत्साहनको मुद्दा लाग्छ ।

पूरा भिडियो हेर्नुहोस्ः

harekpal community conversation

harekpal.comさんの投稿 2020年8月24日月曜日

प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२२औँ स्थापना दिवसमा लालिगुराँस सहकारीद्वारा एटिएम सेवा सुरुवात
मनकामना केबुलकारको टिकट अब मोबाइलबाटै पाइने
कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता सम्पन्न ।
दोहोरो सदस्यता कात्तिक १ गते देखी अन्त्य हुँदै