सहकारी डबली (३५) स्थानीय उद्यमशिलता र सहकारी


सहकारी डबलीको ३५औँ श्रृङ्खलामा झापाका सहकारीकर्मीहरूमाझ ‘स्थानिय उद्यमशिलता र सहकारी’ विषयमा छलफल भयो । उक्त छलफलमा सहकारीमार्फत उद्यमशिलताको विकास गर्न सकिने भए पनि कानूनि समस्या, खुला सिमानाका समस्या र सरकारबाट सहयोग नभएका कारण सहकारीले उद्यमशिलतामा जान नसकेको सहभागीहरूले बताउनु भयो । अपवाद बाहेक झापामा बचत ऋण बाहेकका अन्य विषयगत सहकारी संस्थाहरूले पनि ऋण लगानीमै आफूलाई केन्द्रित गरेको कुरा छलफलमा व्यक्त विचारहरूले प्रस्ट्याउँछन् । त्यसैगरी विभिन्न सरकारी निकायबाट प्राप्त हुने वित्तिय सुविधा र अनुदान समेत सम्बन्धित क्षेत्रमा काम गर्ने सहकारी संस्थाभन्दा कागजी परियोजना संचालन गर्ने संस्थाहरूले हात पार्ने गरेको गुनासो सहभागीहरूको रहेको छ । सहकारी डबली (३५) मा सहभागीहरूद्वारा व्यक्त विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ भने कार्यक्रमको सम्पादित भिडियो लिंक तल दिइएको छ ।

गणेश ढकाल
अध्यक्ष, जिल्ला सहकारी संघ लि.

झापाका सहकारीहरूले संस्थागत लगानिमा होस् वा सदस्यमार्फत होस् चक्लाबन्दि खेतिलाइ अगाडि बढाएको पाइन्छ । सहकारी संस्थाहरूले करार खेतिलाई अगाडि बढाएको पाईन्छ । बीउ उत्पादन, दुग्ध, माछा,मासु, चिया, तोरीका तेल र चामल उद्योगमा सहकारी संस्थाहरूले प्रत्यक्ष वा सदस्यमार्फत लागानी गरेका छन् । मल उत्पादन, अर्गानिक खेतीका क्षेत्रमा पनि सहकारीहरूले लगानी गरेका छन् । कर्नफ्लेक्स उद्योग संचालनमा आउन लागेको छ । विभिन्न कृषिजन्य उद्योगहरू सन्चालनमा आउन थालेका छन् । आधुनिक खेतिका लागि चक्लाबन्दी खेती आवश्यक पर्ने र त्यसका लागि जग्गा एकिकृत हुन नसकेकाले समस्या परिरहेको छ । करार खेतीको अभ्यास विकसित हुँदै छ ।

सहकारी संस्थाले सदस्यलाई लघु उद्यमी बनाउने र उनीहरूलाई बजारको नेटवर्कसँग जोड्ने काम गर्नुपर्ने हुन्छ । सहकारी मार्फत उद्यमशिलताको विकास गर्ने क्रममा पूर्वाधार विकासका काममा सरकारको लगानी आवश्यक पर्छ । राष्ट्रिय सहाकरी महासंघको अग्रसरतामा एउटा विशिष्टिकृत संघमार्फत धुलो दुध उत्पादन गर्ने उद्योग स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ । तरकारीको विशिष्टिकृत संघ बनेको छ जसले किसानसँगबाट तरकारी संकलन गरेर विक्रीवितरण गर्नेछ । त्यसै गरी पर्यटनको पनि विशिष्टिकृत संघ बनेको छ । सहकारी संस्थाहरूले बचत ऋणको कारोबार गर्दा ४-५ प्रतिशतको स्प्रेडमा काम गर्नुपर्ने हुन्छ भने व्यापार गर्दा ४० प्रतिशत सम्म पनि फाइदा पाउन सक्ने हुन्छ । त्यसले गर्दा पनि बजारको संजाल निर्माण गर्ने कुरामा सहकारीहरू केन्द्रित भएर उद्यमशिलतामा जानु पर्छ ।

दुर्गा प्रसाद सापकोटा
संचालक, मेची कृषक बहुमुखी सहकारी संस्था लि., मेचिनगर-७

उद्यमशिलता भन्ने बित्तिकै त्यसमा धेरै कुराहरू जोडिएर आउँछन् । सहकारी आफैँमा एउटा आन्दोलन हो र यो आन्दोलनले गरीब र विपन्न जनतालाई साथसाथै  लानु पर्छ । ती जनताको जीवनस्तर सुधार्नु पर्छ । निक्षेप संकलन र ऋण लगानी मात्र गरेर चाहिँ सहकारीहरू चल्न सक्दैनन । जुनसुकै सहकारीले पनि सदस्यलाई व्यवसायिकता तिर लैजान सके मात्र संस्थाको र सदस्यको आर्थिक उन्नति हुनसक्छ । मेची कृषक बहुमुखी सहकारी संस्थाले कृषकहरूले लगाउने बालीहरूको बीऊ उत्पादन गर्ने काम गरेको छ । यससँग सम्बन्धित अगुवा किसानहरूलाई बीऊबिजन उत्पादनका लागि आवश्यक तालिम दिने र आवश्यक मलखाद लगायतका सामग्रीहरू किसानलाई उपलब्ध गराउने गरेको छ । किसानले उत्पादन गरेका सम्पूर्ण कृषि उपजहरू विक्री वितरणको जिम्मा सहकारीले लिने गरेको छ । किसानले उत्पादन मात्र गरे पुग्छ, विक्री गर्न बजारसम्म जानु पर्दैन ।  कृषिसँग सम्बन्धित रहेर सहकारीमार्फत उद्यमशिलताको कुरा गर्दा अनेकन समस्या छन् । अहिलेसम्मका कुनै पनि सरकार सहकारी मैत्री बन्न सकेनन् तसर्थ सहकारीलाई उद्यमशिलता सम्बन्धी काम गर्न कानूनी समस्या छन् । झापा जिल्लामा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका विभिन्न जडिबुटीहरू संकलित भएर आउने गर्छन् । तर यसलाई उचित तवरले प्रशोधन र ब्रान्डिङ प्याकेजिङ गर्न नसक्नाले थुप्रै सम्भावनाहरू गुमिरहेका छन् ।

वसन्त तिवारी
संचालक, आधुनिक बचत तथा ऋण सहकारी संस्था, मेचिनगर

सहकारीमा सरकारको नीति र कार्यान्वयन पक्षमा अन्तर रहेको पाईन्छ । सरकारले सहकारीमार्फत उद्यमशिलता विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने सहकारी संस्थाहरू त्यस अनुकुल तयार भएका छन् । धेरै किसिमका सीप बोकेका मानिसहरू आफ्नो सीपलाई उपयोग गर्न खोजिरहेका छन् । सदस्यको सीप पहिचान गरि सो अनुरूपको उद्योग व्यवसायलाई अगाडि बढाउन सके जीवन निर्वाह भन्दा माथि उठेर व्यवसायिकता तर्फ समेत अगाडि बढ्न सक्ने देखिन्छ । आधुनिक बचत तथा ऋण सहकारी संस्थाले विदेशबाट फर्केर आएका सदस्यहरूलाई नेपालमै रोजगारी र स्वरोजगारी सृजना गर्ने अभियान चलाएको छ ।

चन्द्रा खड्का भट्टराई
निवर्तमान संचालक, नेफ्स्कून / अध्यक्ष, उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि.

वचत तथा ऋणको काममा जोखिम छ । चनाखो भएर नलागे संस्थालाई जुनसुकै बेला पनि अप्ठेरो पर्न सक्छ । हाम्रा सदस्यहरू सिलाईकटाई, कृषिमा आधारित साना उद्योग लगायतका लघु व्यवसायमा बढि केन्द्रित छन् । अहिले कोभिड १९ का कारण सानाठूला सबै व्यवसायी प्रभावित भएका छन् । यस्तो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने कुरा अन्योल पनि छ । यसको बाबजुद पनि आएको परिस्थितिलाई सामना गर्दै अगाडि बढ्न र सदस्यको व्यवसायलाई निरन्तरता दिन उत्साहित गराउने काम गरिरहेका छौँ । अघिल्ला सिकाई र अनुभवले मात्र पनि काम नगर्ने अहिलेको अवस्थामा सहकारी संस्थाहरूले एक अर्का बाट सिक्दै जोखिमलाई न्युनिकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

भुपाल बस्नेत
अध्यक्ष, कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.

हाम्रो संस्थाको मूल उद्देश्य भनेको ऋण र बचतको कारोबार नै हो । यति हुँदाहुँदै पनि हामीले सदस्यलाई लक्षित गरि थुप्रै सामाजिक सुरक्षाका कार्यक्रमहरू लागु गर्न खोज्यौँ र त्यसका लागि सम्वन्धित निकायसँग अनुरोध गर्यौँ । कानूनले सहकारीलाई ती काम गर्न बञ्चित गरेको छ जुन सदस्यको हितमा हुन्छ । हामीले  हाम्रा ३४ हजार सेयर सदस्यदरु आबद्ध गराएर सदस्यहरुलाई हातमा सिप, घरमा व्यवसाय र गोजिमा आय आर्जनको पैसा बनाएर एउटा सबल नागरिक बनाउनु पर्छ भन्ने उदेश्यका साथ ब्यवसायिक तालिमहरु पनि गराउने काम गर्यौ । कानुनले त्यसलाई वञ्चित गरे पनि यो क्षेत्र तिमीहरुको होईन भनेपनि सदस्यलाई सबल र सक्षम बनाउने कुरामा नलाग्ने कुरा त भएन । तर देशको कानून, अस्थिर राजनितीक परिवेशका कारणले गर्दा खेरि हामिले जति अपेक्षा गरेका थियौँ त्यति गर्न सकिएन होला तर पनि स्वास्थ्य सुरक्षाका सवालमा हाम्रो संस्थाले सदस्यहरूलाई निकै राम्रो सुविधा दिएको छ ।

दिपेन्द्र राउत
अध्यक्ष, शिखर वचत तथा ऋण सहकारी संस्था लि.

सहकारी आफैँमा एउटा उद्यमशिलताको क्षेत्र हो । सहकारीले सदस्यलाई उद्यमी बनाउनु मात्र नभएर विभिन्न किसिमबाट रोजगारी सृजना गर्नु पनि उद्यमशिलता हो भन्ने मलाई लाग्छ । प्रत्यक्ष रूपमा सहकारीले उद्यम वा व्यवसाय नगरे ता पनि यसले सदस्यलाई व्यवसायिक सम्भावनाको क्षेत्रमा लगानी गरिदिने, त्यस सम्बन्धी ज्ञान, सीप, परामर्श र तालिम दिने लगायतका कुराहरू गर्न सक्छ ।  हामीले पनि प्रत्यक्ष रूपमा सहकारीका व्यवसायिक परियोजना संचालन नगरे तापनि सदस्यलाई सेवा दिने, बजारसम्मको पहुँच प्रदान गर्ने र आवश्यक लगानी गरिदिने गरेका छौँ । कृषिको क्षेत्रमा काम गर्न त्यति सजिलो भने छैन । हामीले पनि कृषि परोयोजनामा काम गर्यौँ तर संस्थागत रूपमा जाँदा अलग्गै कुरा होला, व्यक्तिगत रूपमा र सामुहिक रूपमा त्यो काम गर्न गाह्रो नै रहेछ भन्ने मेरो अनुभव छ ।

दुर्गा देवी खतिवडा
अध्यक्ष, महालक्ष्मी कृषि सहकारी संस्था लि.

सहकारीहरूले महिलालाई सीपसँगै चेतना पनि प्रदान गरिरहेका छन् । हामीले  उद्यमशिलताको कुरा गर्दा महिलाहरूका समस्यालाई पहिला बुझ्नै पर्ने हुन्छ । वर्तमान समयमा देशमा दिनानुदिन महिलाहरू घरमै कुटिएका, घरबाट निकालिएका र बाहिर पनि कतै एसिड प्रहार र दुर्व्यवहारका घटना देखिन्छन् । यस्ता कुराले पनि महिलालाई खुलेर उद्यमशिलताका क्षेत्रमा आउन रोकिरहेको छ । हामीले हाम्रो संस्थाबाट विशेष गरी कृषिमा लाग्नका लागि प्रेरित गरेका छौँ । कृषिका लागि ऋण लगानीका साथै बीउबिजन, मल लगायतका सेवाहरू संस्था मार्फत अगाडि बढाएका छौँ ।

भगिरथ राई, अध्यक्ष, मेची मासु उत्पादक तथा वितरक सहकारी संस्था लि.

हामीले किसानहरूका मासुजन्य पशुपंक्षीहरू खरीद गरि मासु पसलहरूलाई दिने तथा मासु उत्पादन र वितरणसम्बन्धी व्यवसायलाई ऋण लगानी गर्ने गरेका छौँ । चल्ला, चारो लगायतका सामग्रीहरू किसानलाई उपलब्ध गराउने र किसाननबाट मासुजन्य पशुपंक्षी, अण्डा आदि खरिद गरिदिने गरेका छौँ । हामीले आफ्नै परियोजना पनि संचालन गर्ने सोच बनाएका छौँ तर अहिले कोभिड १९को महामारीको अवस्थाले अगाडि बढ्न सकेका छैनौँ । खुला सिमाना र विना रोकटोक भारतबाट पशुपंक्षी र मासु आयात हुने र अबैध रूपमा पनि यिनको कारोबार हुने कारणले गर्दा व्यवसाय निकै प्रभावित र किसानहरू पनि मारमा परेका छन् ।

२०७७ भाद्र १९ गते शुक्रबार भएको सहकारी डबली (३५) को भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी डबली ४० मा ‘स्थानियता र सहकारी’ विषयमा छलफल
सहकारी डबली ३८