२२औँ स्थापना दिवसमा लालिगुराँस सहकारीद्वारा एटिएम सेवा सुरुवात

ललितपुर । श्री लालीगुरास सहकारी संस्था लिमिटेडले एटिएम सेवा शुरु गरेको छ । पुल्चोक स्थित मुख्य कार्यालयमा सो सेवा शुरु गरेको हो । एटिएम बुथको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गर्नुभएको थियो । संस्थाको २२ औ स्थापना दिवसको अवसरमा एटिएम सेवा शुरु गरेको हो।
करिब २१ हजार शेयर सदस्यले हिजो सबहीबारबाट एटिएम सेवा प्रयोग गर्न सक्ने संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाले निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत एटिएम बुथ स्थापना गरी सेवा दिने बताउनुभयो ।

संस्थाले बिहीबारबाटै आफ्नो लगानीमा स्थापना भएको श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरेको छ । उद्योगको संस्थाका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत भण्डारीले गर्नुभएको थियो।

संस्थाले बिहीबारबाटै दुग्धजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको छ । कार्यकारी अधिकृत भण्डारीले व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको जानकारी दिनुभयो ।

चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले दुग्ध उद्योग स्थापना गरेको हो ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताउनुभयो ।

ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ ।

संस्थामा हाल २१ हजार शेयर सदस्य छन् । साथै ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको छ । २०५६ साल भदौ १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षाक्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मा.वि.÷कलेज प्रा.लि., डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।

संस्थाले आफ्नो सेवालाई स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखिकरण र अन्य तालिम प्रदान गर्दै आई रहेको छ । संस्थाले आगामी वर्ष आफ्ना सदस्यलाई थप सुविधा दिन उपत्यका भित्र विभिन्न स्थानमा र उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा सेवाहरु विस्तार गर्ने भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई संकुचित पार्दै गएको बताउनुभयो । उहाँले एक व्यक्तिले एउटा सहकारीमा मात्र सदस्य हुन पाउने जस्ता नीति अव्यवहारिक भएको बताउनु भयो ।

नेपाल बहुउद्देश्यीय सहकारी संघ लि. का अध्यक्ष समेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टीकोण फरक हुनुपर्ने बताउँदै नकरात्मक दृष्टीकोणलाई परिवर्तन गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । संस्थाले वार्षिकोत्सवको अवसरमा लालीगुराँस राष्ट्रिय मा.वि./कलेजको प्राङ्गनमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *