सहकारीको २५ वर्षे रणनीति तयार


राष्ट्रिय सहकारी विकास बोर्डले सहकारीको २५ वर्षे रणनीतिको मस्यौदा  तयार पारेको छ । आज एक कार्यक्रम गर्दै बोर्डका सहअध्यक्ष दक्ष पौडेलले भूमी व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्री पद्मा अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो । सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका लागि यो रणनीतिक दस्तावेज निर्माण गरिएको मन्त्री अर्यालले बताउनु भयो । सहकारी क्षेत्रको विकासको अवस्था र त्यसको सबल पक्षहरूको मूल्यांकन गर्नुका साथै सहकारीबाट हालसम्म हासिल उपलब्धिका आधारमा अब सहकारी क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने रणनीति तय गर्नका लागि यो दस्ताबेज महत्वपूर्ण हुने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले उक्त रणनीति मन्त्रालयले अध्ययन गरेर चाँडै कार्यान्वयनमा ल्याउने बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै भूमिव्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले यस रणनीतिले २५ वर्षमा सहकारी क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने कुराको भिजन दिएको बताउनु भयो । रणनीतिक योजनामा उल्लिखित विषयहरूलाई सरकारले आवधिक योजनामा राखेर वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने सचिव पाण्डेले बताउनुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षमा कहाँ पुर्याउने भन्ने योजनासहित यो रणनीति तयार पारिएको बताउनु भयो । सहकारी क्षेत्रलाई समयसापेक्ष रुपमा प्रविधिमैत्री बनाउने सहअध्यक्ष पौडेलको दाबी थियो ।

सहाकरी मन्त्री अध्यक्ष रहने व्यवस्था रहेको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समितिको बैठकले २५ वर्षे रणनीतिको मस्यौदा तयार गर्नका लागि चक्रबहादुर पराजुलीको संयोजकत्वमा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेल, सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डे, राष्ट्रिय सहकारी विकास बोर्ड कार्यकारी समिति विशेषज्ञ सदस्य इन्दिरा पन्त, राष्ट्रिय योजना आयोगकाका उप–सचिव महेश खरेल रहेको समिति गठन गरेको थियो । उक्त समितिले सहकारी क्षेत्रका सरोकारवाला र विज्ञहरूसँग छलफल तथा राय सुझाव संकलन गरी रणनीतिको मस्यौदा तयार गरिएको बोर्डले जनाएकोछ ।

रणनीतिमा सहकारीको विकासक्रम, नेपालमा सहकारीको समग्र अवस्था, विषयगत सहकारी संस्थाको विद्यमान अवस्था,  सहकारीका सवल पक्ष तथा सम्भावनाहरु समावेश गरिएको छ । सहकारी क्षेत्रको आर्थिक विश्लेषण र प्रक्षेपण, अर्थतन्त्रमा सहकारीको योगदान तथा अन्तर्राष्ट्रिय अनुभव, विश्व अर्थतन्त्रमा सहकारीको योगदान, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान,सहकारीका प्रमुख सूचकहरुको प्रक्षेपण र रणनीति योजना अन्तर्गत हासिल गर्ने लक्ष्यहरु उल्लेख गरिएको छ ।

पन्ध्रौं योजनमा (आधारपत्र) मा उल्लेख गरे बमोजिम आगामी २० वर्षमा देशको आर्थिक वृद्धि स्थिर मूल्यमा १०.५ प्रतिशतले रहने मान्यताको आधारमा सहकारी क्षेत्रले आउँदो ५, १०, १५, २० र २५ वर्षमा प्राप्त गर्न सक्ने उपलब्धि र त्यसबाट नेपालको अर्थतन्त्रका विविध क्षेत्रहरूमा हुने योगदानलाई वस्तुपरक रूपमा प्रक्षेपण गर्ने प्रयत्न गरिएको बोर्डले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रिलायवल बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
सहकारी डबली ४० मा ‘स्थानियता र सहकारी’ विषयमा छलफल
२२औँ स्थापना दिवसमा लालिगुराँस सहकारीद्वारा एटिएम सेवा सुरुवात
दोहोरो सदस्यता कात्तिक १ गते देखी अन्त्य हुँदै