रिलायवल बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

रिलायव बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोभिड १९ को महामारीका कारण सहकारी विभागले जारी गरेको निर्देशन अनुसार सदस्यहरूलाई १५ दिनको समय दिई उपस्थिति पुस्तिकामा हस्ताक्षर गराउने र वार्षिक प्रतिवेदन वितरण गर्ने कार्य गरिएको संस्थाका कार्यकारी सचिव विजयसुन्दर खड्काले बताउनु भयो । २०७७ भाद्र २५ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार आश्विन १२ गते देखि सदस्यहरूलाई संस्थाको कार्यलयमै भौतिक दुरी कायम गरि स्वास्थ्य सतर्कता अपनाउँदै उपस्थिति पुस्तिकामा हस्ताक्षर गराइएको खड्काले बताउनुभयो ।

साधारणसभामा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका संचालक तथा संस्थाका सल्लाहकार के.बी उप्रेतीले संस्थाले क्रमिक रूपमा आर्थिक गतिविधि, सुशासनको अवस्थामा सुधार गर्दै गएको भन्दै थप प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष ओमदेवी मल्लले कोभिड १९ को महामारीका विचमा पनि संस्थाले आफ्नो कारोवारलाई नियमित राखेको र सदस्यलाई सेवा दिने कुरामा कमी नगरेको दाबी गर्नुभयो । मल्लले संस्थाका नियमित कामहरूलाई थाँति नराखिकन समयमै साधारणसभा सम्पन्न गरिएको उल्लेख गर्नु भयो । अघिल्ला वर्षहरूमा जस्तो सदस्यहरू सबै एकैसाथ भेटघाट भई कार्यक्रम गर्न सम्भव नहुँदा केहि खल्लो महशुस भएको बताउनु भयो ।

उक्त साधारणसभामा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईसिए ग्लोबल बोर्ड सदस्य पनि रहनुभएकी संस्थाकी अध्यक्ष ओमदेवी मल्लद्वारा स्थापित ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७’ द्वारा आदर्श संचार सहकारीका सहसम्पादक सृजना पन्तलाई प्रदान गर्ने घोषणा गरियो । पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित हुने धौलागिरी दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार डटकममा आबद्ध हुनुहुन्छ । उक्त सम्मानमा १५ हजार नगद सहित सम्मान पत्र प्रदान गरिने कुरा कोषका संस्थापक मल्लले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको अन्त्यमा संस्थाको कुलसम्पत्ति २९ करोड ५० लाख ७५ हजार रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यसै गरि संस्थाको चुक्ता पूँजि ३ करोड पुगेको र कुल निक्षेप संकलन १५ करोड ७४ लाख ६ हजार रहेको जनाइएको छ । संस्थाले उक्त समयसम्ममा १६ करोड २९ लाख २४ हजार कर्जा लगानी गरेको छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *