काठमाडौँ । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभामा अतिथि तथा सहभागीहरुले सहकारी प्रविधिमा जोडिन आवश्यक भएको बताएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीहरुलाई विद्युतीय कारोबारमार्फत अघि बढाउनुपर्नेमा जोड दिए । नगद कारोबारभन्दा डिजिटल माध्यमबाट कारोबार गर्दा जोखिम कम हुने भएकाले सबै सहकारीलाई विद्युतीय कारोबारमा लैजानुपर्ने उनले बताए ।

सहकारी क्षेत्रमा युगान्तकारी परिवर्तन आवश्यक भइसकेको उल्लेख गर्दै उनले भने, ‘अब पैसा बोकेर किनमेल गर्न जानुपर्दैन’ उनले भने,‘करिब ३ वर्षभित्रै क्यास बोक्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’ हब कोपरेटिभ सर्भिसका माध्यमबाट सबै सहकारीलाई प्रविधिमा जोड्ने तयारी भइरहेको उनले बताए ।

‘हब सहकारीका माध्यमबाट प्रविधिमैत्री विद्युतीय कारोबार हुनेछ,’ उनले भने,‘मोबाइलबाटै पैसा पठाउन, झिक्नलगायत विभिन्न कारोबार गर्न सकिन्छ ।’
हब कोअपरेटिभ सर्भिस सहकारीको पनि सहकारी भएको भन्दै सबै सहकारीले घरमै बसेर पनि प्रविधिमार्फत सम्पूर्ण सेवा दिन सक्नुपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीले पनि प्रविधिको प्रयोग गर्ने पौडेलको विश्वास थियो ।
तीनखम्बे अर्थनीतिमा सहकारी कमजोर खम्बा हुन नहुनेतर्फ अभियानले विशेष जोड दिनुपर्ने उनको भनाइ छ । सहकारी ऐन र नियमावलीले धेरै कोषको व्यवस्था गरेका कारण सहकारी बलियो हुने देखिए पनि सहकारीमा लाग्ने व्यक्तिको आकर्षण घट्न सक्नेमा उनले चिन्ता व्यक्त गरे । ‘ऐन संशोधन गर्ने क्रममा यस विषयमा व्यापक छलफल हुनेछ,’ उनले भने ।
प्रा.डा. डिल्लीराम दाहालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को जोखिममा पनि संस्थाले सदस्यको हितमा रचनात्मक काम गरेको बताए ।

उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवराज शर्माले खाद्यान्न कारोबार र साहित्यिक क्षेत्रको अभियान उल्लेख्य रुपमा अघि बढेको बताए । खाद्यान्न तथा उपभोग्य वस्तुको प्याकेजिङ, बिक्री वितरण, प्रकाशनलगायत क्षेत्रमा सहकारीले प्राथमिकता साथ काम गर्दै आएको उनले बताए । संस्थाले तीन स्थानबाट खाद्यान्न बिक्री गर्दै आएको छ ।
संस्थाका कोषाध्यक्ष योगराज पौडेलले गत वर्षको तुलनामा २७ लाख ५० हजार सेयर वृद्वि भई ५ करोड पुगेको बताए । संस्थाले अघिल्लो वर्षको तुलनामा १ं३.७९ प्रतिशतले वृद्वि गरी ३९ करोड ५० लाख निक्षेप संकलन गरेको छ । संस्थाले ६६ लाख ६९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
संस्था योजना तथा विसका उपसमिति संयोजक विपिन शर्माले नाफाबाट सेयर सदस्यलाई ८.७ प्रतिशत सेयर लाभांश दिने बताए । त्यस्तै, बचत तथा ऋण योजनामा सहभागी हुने सदस्यले संरक्षित पुँजी कोषबाट लाभ लिने उनले बताए । ‘संरक्षित पुँजी कोषबाट कसरी फिर्ता दिने भन्ने विषयमा कार्यविधि बन्दै छ’ उनले भने ।
संस्थाका सचिव अनिल खनालले सहकारी ऐन र नियमावली अनुसार कोषको व्यवस्था गरिएको बताए । नेपाल सहकारी पत्रकार समाजका सचिव तुलसी सुवेदीले संस्थाले खाद्यान्न कारोबारलाई व्यापक बनाउँदै जिल्ला जिल्लामा उत्पादन भएका टिपिकल उत्पादनलाई संकलन गरी सदस्यलाई बिक्री गर्नुपर्ने बताए ।
संस्थाका साहित्यिक विकास उपसमितिका संयोजक रोशन थापा नीरबले संस्थाले साहित्यलाई उच्च प्राथमिकता दिएकाले साहित्यिक विकासमा ठूलो योगदान पुगेको बताए ।
साहित्यिक पत्रकार सम्मान न्यौपानेलाई

१२औँ साधारणसभाका अवसरमा साहित्यिक क्षेत्रमा कलम चलाउने मनोज आदित्य न्यौपानेलाई ‘साहित्यिक पत्रकार सम्मान’ गरिएको छ ।
त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा दुईजना कर्मचारीलाई कदरपत्रले सम्मान गरिएको छ । कार्यालय सहायक अनिता अधिकारी र बजार प्रतिनिधि सरोज दाहाललाई कदरपत्रले सम्मान गरिएको थियो ।
Leave a Reply