स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनमा सहकारी अभियान तथा सरोकारवालाहरुको ऐक्यबद्धता


काठमाडौं । सहकारी अभियानका शीर्षस्थ व्यक्तित्वहरु एवम सरोकारवालाहरुले बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनमा ऐक्यबद्धता जाहेर गर्दै यसका लागि हरसम्भव सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरुले सबै बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई कोषमा आबद्धताको आव्हन गर्दै सरकारलाई समेत सहयोग गर्न जोडदार माग गर्नुभएको छ । अभियानको सबैभन्दा उच्च निकाय राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, अर्थ मन्त्रालय लगायतका प्रतिनिधिहरुले स्थिरीकरण कोष बचत तथा ऋण सहकारीहरुको लागि अत्यावश्यक भएको बताउँदै यसलाई सबैको सहभागितामा अघि बढाइनुपर्ने धारणा राख्नुभयो । हालसम्म प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा सबै वक्ताहरुको जोड थियो ।

आज संघीय राजधानीको नयाँ बानेश्वरमा बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको प्रथम वार्षिक परामर्श बैठकमा ऐक्यबद्धता सहित धारणा राख्नुहुनेहरुले बचत तथा ऋण सहकारीहरुको जगेडा कोषको रुपमा रहने स्थिरीकरण कोषको आवश्यकता र औचित्यको बहसको अब कुनै तुक नहुने बरु यसमा अभियान र सरकारको सहयोग र सहकार्यमार्फत अघि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब प्रसाद बडालले कोषलाई अपुग रकम उपलब्ध गराउन सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारीहरुलाई सम्भावित जोखिमबाट बचाउन कोषको भूमिका हुने र सहकारी ऐन र नियमावलीमा समेत सम्बोधन भएकाले अब द्रुत गतिमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अभियानकर्मीहरुले लबिङ, लबिङ र निरन्तर लबिङ गरिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो । कर्मचारीतन्त्रले असहयोग गरे कुनै पनि काम नहुने भएकाले छिटो निर्णय गराउनका लागि अभियानले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले कोष सञ्चालनका लागि कानुनी गाँठाहरु फुकाउने प्रयास जारी रहेको भन्दै महासंघको पूर्ण ऐक्यबद्धताको जानकारी गराउनुभयो । सहकारी संस्थाहरुलाई जोखिमबाट जोगाउन स्थिरीकरण कोष आवश्यक रहेको अन्तर्राष्ट्रिय अभ्यासबाट पनि सिकेको र त्यही अनुरुप नेफ्स्कूनले पहल गरेको स्मरण गराउनुभयो । कोष नेफ्स्कूनकै अभिन्न अंग हुनुपर्नेमा ऐनमा विकलांग भएर आएको बताउँदै उहाँले अपुग रकम सरकारले तत्काल उपलब्ध गराउनुपर्ने, अभियानपनि सक्रिय भएर सहभागी हुनुपर्ने, नेफ्स्कून आफै वा अभियानको साथ सहयोगले अघि बढाउनुपर्ने स्पष्ट विचार राख्नुभयो । संस्थाहरुले राम्रो गर्दा गर्दै पनि समस्यामा पर्न सक्ने अवस्थामा रेस्क्यू गर्न कोषको भूमिका हुने अध्यक्ष कडेलले बताउनुभयो ।

कोषलाई नेफ्स्कूनकै अभिन्न अंगको रुपमा लानुपर्ने र ऐन संशोधनको जारी पहलले निकट भविष्यमै निष्कर्ष निकाल्ने दाबी उहाँले गर्नुभयो । आउँदो बजेटमा सरकारबाट रकम उपलब्ध गराउने पहल गरिनुपर्नेमा पनि महासंघ अध्यक्षको जोड थियो । कोष दर्ता गर्नुपर्ने विषयमा मन्त्रालयबाट पछिल्लो समय भनाइ आएपनि ऐनमा त्यस्तो केही प्रावधान नरहेको विभागका रजिष्ट्रारले पनि स्वीकारेको उहाँले बताउनुभयो । सरकारसँग एकताबद्ध ढंगले बहसपैरवीका लागि महासंघ अध्यक्ष कडेलले आव्हान समेत गर्नुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले पनि कोषप्रति ऐक्यबद्धता जाहेर गर्नुभयो । कोषलाई पूर्ण रुपमा सञ्चालन गर्न अभियानले एक भएर पैरवी गर्नुपर्ने र त्यसमा बोर्ड र आफु जस्तो सुकै सहयोग गर्न तप्तर रहेको वचन दिनुभयो । यस सम्बन्धी नीतिगत अवरोधहरुलाई हटाउँदै जानुपर्ने उहाँको धारणा थियो । यसैगरी, प्रविधिमैत्री सहकारी अभियानमा अब सबैको ध्यान केन्द्रीत हुनुपर्ने सह अध्यक्ष पौडेलले बताउनुभयो ।

नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य डीबी बस्नेतले कोषलाई अघि बढाउन जस्तो सुकै सहयोग गर्न आफु, आफ्नो जिल्लाका बचत तथा ऋण सहकारीहरु र महासंघ र सबै बचत तथा ऋण सहकारीहरुलाई आग्रह गर्नुभयो । उहाँले सिद्धान्तमा अडिग रहँदा रहँदै दुर्घटना भएमा स्थिरीकरण कोष आवश्यक हुने भन्दै स्थिरीकरण कोषको सम्बन्धमा इतिहासको दस्ताबेजीकरण हुनुपर्ने माग गर्नुभयो ।

त्यस्तै, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले कोषको अवधारणा विकास क्रमको इतिहास स्मरण गर्दै अन्तर्राष्ट्रिय अभ्यास अनुसार नेपालमा पनि यसको पहलकद्मी गरिएको बताउनुभयो । अभियानलाई विश्वासमा लिएर सबैको सहभागितामा कोषलाई अघि बढाउनुपर्ने भन्दै उहाँले सरकारलाई घच्घच्याउने काममा अभियान निरन्तर लागिपर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष पौड्यालले कोषको हालसम्मको गतिविधिहरु समेटेर प्रतिवेदन पेश गर्दै बचत तथा ऋण सहकारी अभियानको जगेडा कोषको रुपमा स्थिरीकरण कोष रहेको र यसलाई कानुनी अड्चनका बीच अघि बढाउन नेफ्स्कून र अभियान प्रतिबद्ध रहेको धारणा राख्नुभयो । यसैगरी, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रबक्ता चन्द्र प्रसाद ढकालले शुभकामना व्यक्त गर्दै कोषलाई अघि बढाउने विषयमा नेफ्स्कून प्रतिबद्ध भएको उल्लेख गर्दै सबै वित्तीय सहकारीहरुलाई यसमा योगदानका लागि आग्रह गर्नुभयो । स्थिरीकरण कोषभित्र सबैलाई गोलबद्ध हुन उहाँले आग्रह गर्नुभयो । यसअघि, बैठकको स्वागत गर्दै कोष सञ्चालन समिति सदस्य रहनुभएका नेपाल राष्ट्र बैंकका उपनिर्देशक रामकाजी खाईजुले कोषलाई अभियानमैत्री र सहभागितामूलक बनाउने तर्फ काम भैरहेको जानकारी गराउनुभयो । कार्यक्रम सञ्चालन कोष सञ्चालन समितिका सदस्य सचिव एवम् नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्यहरु यज्ञ प्रसाद ढकाल, रिना आचार्य, न्हुछे नारायण श्रेष्ठसँगै कोष सञ्चालन समितिका सदस्यहरु भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पंगेनी, अर्थ मन्त्रालयका उपसचिव गोविन्द प्रसाद सुवेदी, नेपाल राष्ट्र बैंकका उप निर्देशक रामकाजी खाईजु, राष्ट्रिय सहकारी विकास बोर्डका उप निर्देशक अनिलराज पौडेल, राष्ट्रिय सहकारी महासंघ नेपालका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ लगायत कोषमा योगदान गर्ने बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरु, नेफ्स्कून उच्च व्यवस्थापन तथा सञ्चारकर्मीरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले गर्नुभएको थियो । स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था सहकारी ऐन २०७४ को दफा १०३ को उपदफा ३ ले गरेको छ ।

बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ को दफा ४४ बमोजिम परामर्श बैठक आयोजना गरिएको थियो । उक्त दफाको उफदफा १ मा “कोष सञ्चालन समितिले प्रत्येक आर्थिक वर्ष व्यतित भएको ६ महिनाभित्र सहभागी संस्थाहरुसँग परामर्श बैठक राख्नुपर्ने” उल्लेख छ । सोही अनुसार नेफ्स्कूनले आज प्रथम परामर्श बैठक राखेको हो ।

सहकारी नियमावलीको नियम ७४ (२) (क) अनुसार कोष सञ्चालन समितिको अध्यक्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्स्कून) को अध्यक्ष तथा (ञ) अनुसार सदस्य सचिव नेफ्स्कूनका कार्यकारी प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

सहकारी ऐन २०७४ को दफा १०३ मा बचत तथा ऋण विषयगत संस्थाको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरु मिली एक स्थिरीकरण कोष खडा गर्न सक्ने उल्लेख छ । सोही अनुसार २०७६ माघ २७ गते काठमाडौंमा सम्पन्न प्रारम्भिक भेला ९राष्ट्रिय गोष्ठी० मा २ सय ९२ संघ संस्थाबाट सहभागिता जनाउने प्रतिबद्धता जाहेर भएको थियो । सोही अनुरुप कोषमा हालसम्म १ सय ३४ संघ संस्थाबाट २ करोड ८९ लाखको प्रारम्भिक योगदान भैसकेको छ । उक्त रकम छुट्टै बैंक खाता खोली राखिएको छ । कोभिड १९ का कारण अन्य संघ संस्थाहरुबाट योगदानको काम केही अबरुद्ध भएपनि अब पुनः सुचारु भएको र दैनिक रुपमा यसमा योगदान भैरहेको कोष सञ्चालन समितिका सदस्य सचिव पोखरेलले जानकारी गराउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन