प्रदेश नं. १ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानामगरले स्थानीय दिगो व्यवसायिक विकासका लागि सहकारीले वजारमा प्रत्यक्ष हस्तक्षेप गर्नुपर्ने वेला भएको विचार व्यक्त गर्नुभएको छ । राष्टिय सहकारी महासंघको आयोजना तथा वहुउद्देश्यीय सहकारी संघ लि. सुनसरीको संयोजनमा यही २०७७ माघ ६ गते इटहरीमा सम्पन्न भएको सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तर्क्रियाको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै सो कुरा वताउनुभएको हो । प्रदेश सरकारद्धारा सवैभन्दा अगाडि निर्णय सहकारीको लागि गर्ने गरेको वताउदै स्थानीय पालिकाहरुले अव पूर्वाधार विस्तार मात्र नभई सडकहरुमा स्थानीय उत्पादनहरु ओसार पसार हुनुपर्ने भन्दै किसानहरुले उत्पादन गरेको कृषि उपज विक्री वितरणका लागि पालिकाहरुले सहकारी क्षेत्रसंग मिलेर काम गर्नुपर्ने वताउनुभएको छ । प्रदेश नं. १ मा सहकारी हालसम्म गरेका क्रियाकलापहरु प्रसंशनीय रहेको वताउदै किसानहरुलाई व्यवसायिक वनाउन सहकारीमार्फत वजारको निर्माण तथा संचालन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

कार्यक्रममा वोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष, संविधानसभाका सदस्य तथा आईसिए ग्लोवल वोर्ड सदस्य ओमदेवी मल्लले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि संघहरुको रणनीतिक योजना तर्जुमाका लागि महासंघ केन्द्रित भएको वताउदै स्थानीय तहलाई सहकारीक्षेत्रसंग समन्वय र सहकार्य गर्न अनुरोध गर्नुभयो । यसैगरी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारीलाई प्राथमिकतामा राखि नीति, कार्यक्रम वनाउन स्थानीय पालिकाहरुलाई अनुरोध गर्नुभयो ।
यसै गरी कार्यक्रममा शुभकामना मन्तव्य दिंदै इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले स्थानीय तहले १६ वटा मन्त्रालयको काम प्रत्यक्ष रुपमा र ४ वटा मन्त्रालयको काम अप्रत्यक्ष रुपमा गर्नुपर्ने भएको वताउदै समय व्यवस्थापनमा कठिनाई भएतापनि उपमहानगरपालिकाद्धारा वचत तथा ऋण, वहुउद्देश्यीय र कृषि सहकारीको प्रतिनिधित्व हुनेगरी नगरप्रमुखको संयोजकत्वमा सहकारी समिति गठन भएको र सहकारी क्षेत्रको मुद्धाहरु एवंम प्रवद्र्धन र विकासका लागि वृहत रुपमा छलफल हुने गरेको वताउनुभयो । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी अभियान र पालिकाबाट संयुक्त रुपमा वास्केट फण्ड वनाउनुपर्ने वताउदै उक्त फण्डमा पालिकाबाट सक्दो सहयोग पुरयाउने आश्वासन दिनुभयो । कार्यक्रममा महासंघका संचालकद्धय शिवकुमार डागी र अमृता सुव्वाले मन्तव्य राख्नुभएको थियो ।
वहुउद्देश्यीय सहकारी संघका अध्यक्ष केदार न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य महासंघका लेखा सुपरिवेक्षण समितिका सदस्य सोम वहादुर श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रममा महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांग सुव्वाले स्थानीय आर्थिक विकासमा नेपालको सहकारी अभियान, अभ्यास चुनौती र सम्भावनाहरु विषयक कार्यपत्र र प्रदेश नं. १ को सहकारी रजिष्टार कार्यालयका रजिष्टार वलराम निरौलाले सुनसरी जिल्लाको सहकारी अभियानको वर्तमान अवस्था र यसको प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरी सहभागीहरुवीच अन्र्तक्रिया भएको थियो । पालिकाका उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष र पालिकाका प्रमुख प्रशासकीय अधिकृत ७ जना सहित १२ वटै पालिकाका सहकारी शाखा हेर्ने अधिकृत गरी जम्मा १५८ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरुद्धारा कार्यक्रम समय सान्र्दभिक र उपलव्धीमुलक भएको विचार व्यक्त गरेका थिए ।
Leave a Reply