जिरीमा लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा व्यवसाय विकास कार्यक्रम अन्तर्गत बागमती प्रदेश दोलखा जिल्ला जिरी नगरपालिका ५ स्थित एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २ दिने लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम आज सम्पन्न भएको छ । तालिममा संस्थाका महिला उद्यमी र उद्यमशिलता विकास गर्न चाहने १० जना महिला सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन र समापनमा सरिक नेफ्स्कूनकी सञ्चालक एवम् उद्यमशिलता उपसमिति संयोजक रिना आचार्यले उद्यमशिलता विकासमा महिलाहरु सहभागी भई आत्मनिर्भर बन्नुपर्ने निर्धारण राख्नुभयो । समयको माग अनुसार नेफ्स्कूनले सदस्य संस्थाहरुमार्फत उद्यमशिलता विकासलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । कार्यक्रममा एकीकृत फ्रेण्डशीप साकोसका अध्यक्ष, उपाध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत लगायतको समेत उपस्थिति रहेको थियो । यसैबीच, नेफ्स्कूनकी सञ्चालक आचार्य सहितको टोलीले स्थानीय महिलाहरुले सञ्चालन गरेको उद्यमको पनि अनुगमन निरीक्षण गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरणमा समेत सहभागी आचार्यले उद्यमशिलताको विधि, प्रविधि प्रयोग र बजारिकरणका सम्बन्धमा प्रस्तुति दिनुभएको थियो । यसैगरी, नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदीले व्यवसाय छनौट, विधि, बजार विविधिकरण, लेखापालन आदि विषयमा सहजिकरण गर्नुभएको थियो ।