कास्कून साकोस व्यवस्थापन प्रमुखहरुबीच अन्तरक्रिया सुशासनमा पहिलो प्राथमिकता


काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी सङ्‍घ लि.कास्कून र न्यूरोड क्षेत्रमा सञ्‍चालित साकोसका व्यवस्थापन प्रमुखहरुबीच आज सामयिक बिषयहरुमा सघन अन्तरक्रिया भएको छ । नेफ्स्कून–कास्कून साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्‍न आजको कार्यक्रममा काठमाडौंको मुटु मानिएको न्यूरोड क्षेत्रका २९ साकोसका व्यवस्थापन प्रमुखहरुको सहभागिता थियो । कास्कूनले पछिल्लो समयमा आफ्नो सेवा व्यवसाय प्रवर्धनसँगै बचत तथा ऋण सहकारी अभियानका महत्वपूर्ण विषयहरुमा सदस्य संस्था, सञ्‍जालका उपल्ला निकाय एवम् सरोकारवालाहरुसँग छलफल र बहसपैरवीलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । यसै सिलसिलामा आजको कार्यक्रम आयोजना गरिएको कास्कूनले जनाएको छ ।

कास्कूनका अध्यक्ष एवम् नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले अध्यक्षता गर्नुभएको कार्यक्रममा कास्कूनका कोषाध्यक्ष निरञ्‍जन सेढाई, सञ्‍चालक विरेन्द्र भण्डारी, व्यवसाय प्रवर्धन उपसमिति सदस्य देवराज न्यौपाने, नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, नेफ्स्कून फिल्ड कार्यालय न्युरोड व्यवस्थापन उपसमिति सदस्य ठाकुरनाथ आचार्य, नेफ्स्कून फिल्ड कार्यालय न्युरोडका ईन्चार्ज मनोज कार्की लगायतको उपस्थिति थियो । कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्ण आचार्यले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहभागी व्यवस्थापन प्रमुखहरुले कास्कून–नेफ्स्कून साझेदारीका विषयहरु, साकोसहरुको सञ्‍चालनमा साझेदारीको भूमिका, सन्दर्भ व्याजदर, नियमनकारी निकायका गतिविधिहरु, न्युरोड क्षेत्रका साकोसहरुमा कोभिड १९ को प्रभाव र सङ्‍घहरुको उपस्थिति लगायत विषयमा राख्नुभएको जिज्ञासाहरुको सम्बोधन सङ्‍घका उपसमितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, सञ्‍चालक, कोषाध्यक्ष, अध्यक्ष एवम् नेफ्स्कूनका विभागीय प्रमुखले गर्नु भएको थियो । कास्कूनका अध्यक्ष दिपक पनेरुले अभियानले झोलाका झोला पैसा नबाढ्ने र संस्थाको सबै भारी पनि नबोक्ने भन्दै आवश्यक परेको बेलामा शसक्त विचार र सम्झन लायक व्यवहार प्रदर्शन गर्ने बताउनुभयो । त्यस्तो सटिक अभिव्यक्ति र स्मरणीय व्यवहार नै सदस्यहरुका लागि अचुक हुने दाबी उहाँको थियो ।

अध्यक्ष पनेरुले राज्यले जारी गरेका सहकारी ऐन, नियमावली, मापदण्ड, निर्देशिका र कानुनहरुको पालना र प्रयोग गरी संस्थालाई सुशासनमा सञ्‍चालन गर्नुपर्ने धारणा राख्नुभयो । नेफ्स्कून जिल्ला सङ्‍घ साझेदारी कार्यक्रमले जिल्ला सङ्‍घलाई जिम्मेवार, सक्षम र उत्तरदायी बनाउन र पहुँच विस्तार गर्ने काम भएको उहाँले जानकारी गराउनु भयो । जिल्ला सङ्‍घको संरचना सङ्‍घीय र प्रादेशिक ऐनहरुमा स्पष्ट रहेको भन्दै अध्यक्ष पनेरुले तिनको भावना अनुरुप अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै भविष्यमा संरचनागत फेरबदल भएमा पनि प्रदेश वा नेफ्स्कूनसंग समाहित हुँदा पनि कुनै प्रलय नहुने भन्दै सदस्य र सम्भावित सदस्यहरुलाई आश्‍वस्‍त तुल्याउनुभयो । उहाँले सबै साकोसलाई निश्‍चिन्त रही कास्कूनमा आबद्ध हुन हार्दिक आग्रह समेत गर्नुभयो ।सो कार्यक्रम सञ्‍चालन कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन