मिलिजुली कालिञ्चोक साकोसमा लेखा, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न
चरिकोट, दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट दोलखाको आयोजना तथा एसियाली ऋण महासङ्घ अकु र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सङ्घ नेफ्स्कुनको प्राविधिक सहयोगमा व्यवसाय विकास सेवा अन्तर्गत २०७७ साल माघ १२ र १३ गते सञ्चालित लेखा, कानुनी व्यवस्था तथा बजारीकरण तालिम एक समारोहको साथ आज सम्पन्न भएको छ । तालिम कार्यक्रमको उद्घाटन र समापन संस्थाको उपाध्यक्ष सरुणा बस्नेत श्रेष्ठको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नेफस्कुनकी सञ्चालक सदस्य एवं उद्यमशिलता उपसमिति संयोजक रिना आचार्यले विधिवत रुपमा तालिमको उद्घाटन गर्नु भएको थियो । उक्त तालिममा महिला सञ्चालक सहित संस्थाको महिला उद्यमी र उद्यमशिलतालाई सहजै विकास गर्न इच्छुक महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कुनकी सञ्चालक सदस्य रिना आचार्यले तालिमको उदेश्य माथि प्रकाश पार्दै महिलाहरु अब समयको माग अनुसार व्यवसायीक उद्यमी बन्नुपर्ने र उद्यमशिलता विकासको लागि सङ्घले सहयोग गर्ने धारणा व्यक्त गर्नुको साथै नयाँ सोच र सीपले व्यवसायमा लाग्न पनि अनुरोध गर्नुभएको थियो ।

नेफ्स्कुनकी सञ्चालक सदस्य रीना आचार्यले विद्युतिकरण विधि तथा नियमहरु सम्बन्धि सहजीकरण गर्नुभएको थियो भने, तालिम कार्यक्रममा नेफस्कुनकी कार्यक्रम अधिकृत रिता सुवेदीले सरलरुपमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा व्यवसायको चरण, बजार र बजार रणनीति माग र आपुर्तीको आधारमा बजार निर्धारण , लक्षित ग्राहक पहिचान, बजार प्रतिस्पर्धा र मुल्य श्रृङ्खला र अभिलेखको महत्व तथा ढाँचाहरु , वित्तिय पहुच , शिर्षकमा व्यवसायिक खेलसहित महिलाहरुलाई सहजै बुझ्ने गरि सहजीकरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा सहभागीले तालिमबाट आफु र आफ्नो व्यवसायलाई विकास गर्नको लागि सहयोग पुगेको धारणा व्यक्त गर्नुभएको थियो भने समापन कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनकी सञ्चालक सदस्य रीना आचार्यले सहभागी महिला शेयर सदस्यहरुलाई प्रमाण-पत्र वितरण गर्नुभएको थियो । उक्त समारोहमा सञ्चालक समिति र संस्थाको प्रमुख कार्यकारी अधिकृतको समेत उपस्थित रहेको थियो ।