तथ्याङ्‍क र प्रचारप्रसार अभावमा बचत ऋण सहकारीहरुको भूमिका ओझेलमा


मकवानपुर । जिल्ला सहकारी संङ्‍घ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाले बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यहरूलाई उत्पादनमूलक तथा व्यावसायिक क्षेत्रमा ऋण प्रवाह गरी महत्वपूर्ण काम गरेपनि त्यसको तथ्याङ्क अद्यावधिक नहुँदा योगदान ओझेलमा परेको बताउनुभयो । सहकारीबाट प्राप्त उपलब्धि र उदाहरणीय सफलताका कथाहरु श्रव्यदृश्य माध्यममार्फत प्रचारप्रसार गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । हिजो सम्पन्‍न मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्‍घ लि. कास्कूनको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि देवकोटाले कोभिडको समयमा कास्कूनले तरकारी बजारीकरण, राहत सङ्‍कलन तथा वितरण, एवम् प्रविधिको उच्चतम प्रयोगमार्फत सदस्य उत्प्रेरणा कार्यक्रम सञ्‍चालन गरेकोमा प्रसंशा समेत गर्नुभयो । यद्यपि, यस्ता अनुकरणीय कामहरुको प्रचार प्रसार आवश्यक भएको तर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।

उद्घाटन सत्रमा बोल्दै सङ्‍घकी अध्यक्ष कल्पना श्रेष्ठले जिल्लाभरका सदस्य संस्थाहरुको विवरण, सृजना गरेको रोजगारी, बचत संकलन तथा ऋण लगानी, सामाजिक योगदान लगायतका विवरण एकीकृत गर्ने उद्देश्यका साथ पुस्तक प्रकाशनको तयारी भैरहेको जानकारी गराउनुभयो । साथै उहाँले सङ्‍घको भवन निर्माण लगायत समसामयिक परिस्थितिका बारेमा जानकारी गराउँदै नीति विधिहरूबाट सरकार र सहकारी दुबै निर्देशित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । सङ्‍घको वर्तमान सेवा सुविधा, साझेदारी कार्यक्रम लगायतका विषयमा अन्तरक्रियात्मक शैलीमा अभिमुखीकरण सम्पन्‍न भएको थियो।

हेटौडा उपमहानगरपालिका र थाहा नगरपालिकासँगै भिमफेदी, वकैया, बाग्‍मती, राक्सिराङ, मनहरी, इन्द्रसरोवर र मकवानपुरगढी गाउँपालिका गरी ९ स्थानिय तहका ३५ साकोसबाट ३५ जनाको सहभागिता रहेको कार्यक्रममा संङ्‍घकी व्यवस्थापक सुमित्राकुमारी वाईवाले स्वागत मन्तव्य राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने