काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.नेफ्स्कून र राष्ट्रिय युवा परिषदको सहकार्य समन्वयमा उच्चस्तरीय SIYB/GYB (Start and Improve Your Business and Generate Your Business) विषयक अर्को प्रशिक्षक प्रशिक्षण टट सञ्चालनका सम्बन्धमा आज अन्तरक्रिया भएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा आज अपरान्न सङ्घका अध्यक्ष परितोष पौडेल एवम् परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले उपस्थितिमा विभिन्न बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को मान्यता प्राप्त उक्त तालिमको उपयोगिता, सहभागीहरुको छनौट र स्थान आदि विषयमा सघन छलफल भएको थियो । स्मरणीय छ नेफ्स्कून र परिषदको सहकार्यमा पहिलो SIYB/GYB प्रशिक्षण प्रशिक्षण कार्यक्रम अन्तर्गत केही महिनाअघि भक्तपुरको नगरकोटमा ७५ जनालाई तालिम प्रदान गरिएको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरुप अर्को प्रशिक्षक प्रशिक्षण कार्यक्रम २५ जनाको सहभागितामा कास्कीको पोखरामा आयोजना गर्ने प्रारम्भिक सहमति समेत आजको छलफलमा भएको छ ।
आजको छलफलमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, वरिष्ठ अधिकृत नवीनराज दाहाल, वरिष्ठ तालिम सहायक खिलनाथ लुँइटेल लगायत सवल वित्तीय अवस्था भएका विभिन्न साकोसका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो । परिषद, नेफस्कून र सहभागीहरुको समेत लागत साझेदारीमा उक्त तालिम आयोजना गरिने जनाइएको छ । तालिमको विषयवस्तु, उद्देश्य र औचित्यका बारेमा नेफस्कूनका अध्यक्ष पौडौल र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले सहभागी प्रमुख कार्यकारी अधिकृतहरुलाई स्पष्ट पार्नुभएको थियो । सहकारीमार्फत उद्यमशिलता विकासमा टेवा पुग्नुका साथै आइएलओको मान्यता समेत प्राप्त उच्चस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएकाले संस्थागत सहभागिताका लागि साकोसका व्यवस्थापन प्रमुखहरु सहमत हुनुभएको बताइएको छ ।
Leave a Reply