काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. नेफ्स्कून, केन्द्रीय कार्यालयको आयोजनामा चालु आर्थिक वर्ष २०७७/०७८ को अर्धवार्षिक समिक्षा एवम् फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरुको क्षमता विकास कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष परितोष पौडेल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्यहरु क्रमशः जिवसराज खड्का, रीना आचार्य, न्हुन्छेनारायण श्रेष्ठ, मन्दरा मिश्र, जनक खत्री, लेखा सुपरिवेक्षण समिति सदस्य द्वयशुभद्रादेवी महतो र सुशिल कुमार बस्नेत सहभागी हुनुहुन्थ्यो भने केन्द्रीय कार्यालय सहित काठमाडौं, ललितपुर, भक्तपुर, वनेपा र दोलखा फिल्ड कार्यालयका फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु, सम्बन्धित फिल्ड कार्यालय प्रमुख र नेफ्स्कून उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो ।

सङ्घका कोषाध्यक्ष दिपक पनेरुले स्वागत एवम् कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । अध्यक्ष परितोष पौडेलले नेफ्स्कूनको रणनीतिक योजनाका बारेमा प्रस्तुतिकरण गर्दै अभियान सफल हुँदा मात्रै नेफ्स्कून सवल हुने धारणा राख्नुभएको थियो । उहाँले नेफ्स्कूनको रणनीतिक योजना र आमरुपमा यसले राखेको मिसन र भिजनका बारेमा चर्चा गर्दै अभियानको जिम्मेवारी, योजना तथा मार्गदर्शनका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै महासचिव दामोदर अधिकारीले फिल्ड कार्यालय अन्तर्गत रहेर नेफ्स्कूनको प्रतिनिधित्व गर्ने उपसमिति सदस्यहरुले सकारात्मक सम्वाद र सहकार्यको माध्यमबाट नेफ्स्कूनका हरेक गतिविधिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “निर्धक्क भएर नेफ्स्कूनको परिचय अगाडि बढाउनुहोस्, संघले कहिल्यै पनि तपाईहरुले शिर निहुर्याउनुपर्ने काम गर्नेछैन ।” नेफ्स्कूनसँगको व्यावसायिक सम्बन्धलाई उच्च प्राथमिकता दिँदै सदस्यले खाइनखाइ जम्मा गरेको बचत सुरक्षा कसरी गर्न सकिन्छ भन्ने नेफ्स्कूनको चिन्तालाई अभियानको साझा बुझाइ बनाउन उहाँले आग्रह गर्नुभयो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले सङ्घको वर्तमान अवस्था र उपलब्धिहरु सहितको प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले सर्भिटाइजेसन र डिजिटाइजेसनको महत्व साथै यसका लागि नेफ्स्कूनले गरेको तयारी सम्बन्धमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सङ्घका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठले काठमाडौं उपत्यका लगायत काभ्रे र दोलखा फिल्ड कार्यालयको वार्षिक लक्ष्य एवम् अर्धवार्षिक उपलब्धि समिक्षा गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी फिल्ड कार्यालयका प्रमुखहरुले सम्बन्धित कार्यालयका उपसमिति सदस्यहरुको संयुक्त पहलमा तयार पारिएको समस्या तथा चुनौतिहरु सहितको फिल्डगत प्रस्तुतिकरण गर्नुभएको थियो । गोष्ठीमा सहभागी उपसमिति सदस्यहरुलाई महासचिव दामोदर अधिकारीले प्रमाण-पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सङ्घका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सेनाले गर्नुभएको थियो ।
Leave a Reply