बुटवल । सहकारी विभाग र नेफ्स्कूनको सहकार्यमा रुपन्देहीको बुटवलमा २ दिने सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कोपोमिस तालिम शुरु भएको छ । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा ५१ साकोसका ५३ जना सहित ६० जनाको सहभागिता थियो । तालिममा सहभागी साकोसबाट कम्यूटर सम्बन्धी ज्ञान भएका कर्मचारी तथा पदाधिकारीहरुको उपस्थिती रहेको छ । उद्घाटन कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सन्दिप सापकोटा, नेफ्स्कून रुपन्देही फिल्ड व्यवस्थापन उपसमिति सदस्य महेश्वरप्रसाद श्रेष्ठ, जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई, जिल्ला सहकारी संघ रुपन्देहीका सञ्चालक सदस्य गङ्गालाल सापकोटा लगायतको समेत सहाभागिता थियो । हिजो शुरु कार्यक्रमको सहजिकरण सहकारी विभागका लक्ष्मण राई र नेफ्स्कूनी कार्यक्रम अधिकृत रीता सुवेदीले गर्नुभएको छ । औपचारिक कार्यक्रम सञ्चालन फिल्ड कार्यालय रुपन्देहीकी इन्चार्ज राधा पोखरेलले गर्नु भएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहकारी क्षेत्रमा सुशासन कायम गर्न कोपोमिस प्रणाली लागू गरेको र यसको कार्यान्वयनमा सम्पूर्ण सहकारीहरुको सक्रिय उपस्थिति आवश्यक रहेको बताउनुभयो । राज्यले सहकारी सम्बन्धी सम्पूर्ण सूचना तथा विवरण नागरिकलाई प्रवाह गर्न र आर्थिक मितव्ययिता कायम गर्न कोपोमिसको कार्यान्वयन अनिवार्य रहेको बताउनुभयो । सदस्यहरुलाई सक्रिय बनाउन पनि यसको भूमिका रहेको बताउनुभयो कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य सन्दिपराज सापकोटाले स्वागत मन्तव्य राख्दै कोपोमिसले सहकारीहरुको सम्पूर्ण विवरणलाई सरल, सहज र सस्तो शूल्कमा व्यवस्थित गर्न र साथै सहकारीहरुमा रहेको दोहोरो सदस्यताको समस्यालाई समाधान गर्न यसको महत्वपूर्ण भूमिका रहेकोले कोपोमिसको कार्यान्वयन गर्न सबै साकोसलार्ई अनुरोध गर्नुभयो ।

कार्यक्रममा महेश्वरप्रसाद श्रेष्ठले सहकारी क्षेत्रमा रहेको आरोप, स्वेच्छाचारी हटाउन, संस्थालाई सदस्य उन्मुख बनाउन र सम्पत्ति शुद्धीकरणको समस्यालाई हल गर्न पनि यसको महत्वपूर्ण योगदान रहेको कुरा स्पष्ट पार्नुभयो । राज्यले एक व्यक्ति एक सहकारीको मान्यता कायम गर्दै सहकारी संस्था सुशासन कायम गर्न कोपोमिसको भूमिका रहेको कुरा पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक तथा सहजकारीको भूमिका रहनुभएको सहकारी विभागका कर्मचारी लक्ष्मण राई प्रशिक्षार्थीहरुले सोधेको सवै जिज्ञासाहरुको समाधान गर्दै सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा विवरण प्रविष्टि गर्ने सवै प्रक्रियाका बारेमा स्पष्ट पार्नुभयो ।
कार्यक्रममा साकोसको तर्फबाट प्रतिवेदक समेत रहेको तेजप्रसाद श्रेष्ठले दुई दिने कोपोमिस सम्बन्धी तालिम कार्यक्रमले सबै साकोसहरुलाई कोपोमिसमा संस्थाका सम्पूर्ण तथ्याङ्क, विवरण, प्रतिवेदन अद्यावधिक गर्न ठूलो मद्धत पुगेको बताउनुभयो ।
Leave a Reply