समिक्षा एवम् सञ्‍चालक कर्मचारी तालिम सम्पन्‍न

पनौती । नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी तथा संचालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । संस्थाका सल्लाहकार तथा पनौती नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सहकुलकुमार हुमागाई उदघाटन सत्रको प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै हुमागाईले सहकारीले बचत तथा ऋणका अलावा कमजोर वर्गलाई ध्यानमा राखेर कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभएको थियो । संस्थाका सचिव अकुरप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सल्लाहकार विदुर हुमागाई यज्ञप्रसाद हुमागाई उपसमितिका केदार नाथ आचार्य, लेखा तथा सुपरिवेक्षण समिति संयोजक रमेशराज राजलवट लगायतले सहकारी संस्थाको विषयमा बोल्नुभएको थियो ।

सहकारीको अर्धवार्षिक वित्तीय अवस्थाका बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी अधिकृत दिपक तिमिल्‍सेनाले संस्थामा सहकारीको मर्म र धर्म बमोजिम कार्य गर्दै आएको बताउँदै विभिन्न ६ वटा संंस्था एकीकरण भएर ग्रामीण क्षेत्रलाई लक्षित गरि सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । उनका अनुसार जिल्लाको साविकका ११ गाविसलाई कार्यक्षेत्र बनाएको संस्थाले पौष मसान्त सम्ममा ४७०४ जनालाई कुल ४ करोड १९ लाख ५८ हजार ९ सय रुपैंयाको शेयर प्रदान गर्न सफल भएको छ । कुल ४३ करोड ४१ लाख २४ हजार ५ सय ६९ कुल पुँजी जम्मा गर्न सफल संस्थाको ३६ करोड १० लाख ९२ हजार ३ सय ३६ कर्जा लगानीमा रहेको छ । औषतमा १३.४० प्रतिशत व्याजदरमा ऋण प्रवाह गरेको संस्थाले बचतकर्तालाई औषतमा ८.६० प्रतिशत व्याज दिएको छ । संस्थाले आगामी असार मसान्तमा कुल पुँजी ५१ करोड २२ लाख ३५ हजार ९ सय पुर्याउने प्रक्षेपण गरेको छ ।

संस्थाको अर्धवार्षिक समिक्षा पछि संचालक तथा कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम संचालन गरिएको थियो । कास्कूनका प्रमुख कार्यकारी अधिकृत तथा सहकारी प्रशिक्षक कृष्णप्रसाद आचार्यले प्रशिक्षण दिनुभएको थियो । संस्थाको विकासका लागि संचालक तथा कर्मचारीहरुको भूमिकाका विषयमा आचार्यले सहजीकरण गर्नुभएको थियो । नगरकोटको होटल चौतारीमा भएको कार्यक्रमको पनि समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै संस्थाका सल्लाहाकार तथा नेपाल बार एशोसियसन काभ्रे शाखाका पूर्व अध्यक्ष रमेशप्रसाद हुमागाईले तालिमका सिकेका विषय संस्थामा प्रत्यक्ष रुपमा देखिनुपर्ने कुरामा जोड दिनुभएको थियो । कुल ७३ जना सहभागि कार्यक्रममा प्रमुख अतिथि हुमागाईले प्रमाण-पत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सल्लाहाकार उपेन्द्र हुमागाईले गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *