कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्‍न


पनौती, काभ्रे । नेफ्स्कूनले व्यवसाय विकास सेवा कार्यक्रम अन्तर्गत काभ्रेको पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. का १० जना महिला उद्यमी सदस्यहरुलाई लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण सम्बन्धी २ दिने तालिम प्रदान गरेको छ । तालिम आयोजना सामुदायिक साकोसले गरेको थियो भने प्राविधिक सहयोग एशियाली ऋण महासंघ र नेफ्स्कूनको रहेको थियो । बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिला सदस्यहरुलाई उद्यमी बनाउने अभिप्राय स्वरुप नेफ्स्कूनले आकूको सहयोगमा केही समय अघिदेखि यस प्रकारको तालिम सञ्चालन गर्दै आएको छ । सोही अनुरुप हिजो र आज सामुदायिक साकोसका १० महिला सदस्यहरुलाई उद्यमशीलताको परिचय, उद्यम छनौट, लगानीको वस्तुगत आँकलन, प्रतिफलको पूर्वानुमान, लेखा राख्‍ने विधि, योजना तर्जुमा, बजारीकरणका विविध तौरतरिका, प्रविधि र इकमर्श आदि विभिन्न विषयमा सहजिकरण गरिएको थियो ।

आज समापन समारोहमा बोल्दै सामुहिक साकोसका सञ्चालक सदस्य एवम् शिक्षा उपसमिति संयोजक मुकुन्दप्रसाद अर्यालले महिलाहरुले जानी रहेको कुरालाई व्यवस्थित, वैज्ञानिक र प्रविधिसँग जोडेर लग्दा सफलता हात पर्ने भन्दै यस किसिमको तालिमबाट व्यवहारिक रुपमा हासिल गरिने उपलब्धिबाट सस्थाका अरु सदस्यहरु पनि उत्प्रेरित र लाभान्वित हुने बताउनुभयो । उहाँले उद्यमशिलता आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । कार्यक्रममा सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत मदन बस्‍नेतले तालिम समापन भएपनि औपचारिक रुपमा सिकाइ र कामको थालनी अब हुने भन्दै सिकाइलाई व्यवहारिक परिणति प्रदान गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

उहाँले संस्थाका आधा भन्दा बढी हिस्सा ओगटेका महिला सदस्यहरुमध्येबाट तालिमका लागि १० जना छनौट गर्नु चुनौतीपूर्ण रहेको भन्दै यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रमुख कार्यकारी अधिकृत बस्‍नेतले भोलीका दिनमा तालिमबाट भएका सिकाइहरुको संस्था, नेफ्स्कून र आकूबाट समेत अनुगमन र निरिक्षण हुने भन्दै त्यसलाई ध्यानमा राखेर उद्यमलाई व्यवस्थित र अपेक्षाकृत उपलब्धि हासिल गर्ने दिशामा लाग्‍न सहभागीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमका सहभागीहरुले सिकेको कुराहरुलाई काममा जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नेफ्स्कूनकी कार्यक्रम अधिकृत रीता सुवेदी र सञ्चार अधिकृत रञ्‍जनमणि पौडेलले सहजिकरण गर्नुभएको तालिम कार्यक्रमको आजको समापन कार्यक्रम सञ्चालन संस्थाका समूह परिचालन अधिकृत अमित राज कर्णिकारले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन