एकीकरणका लागि महासंघको पहल

ललितपुर । विषय मिल्दा संघहरुको एकीकरण प्रवर्द्धनका लागि राष्ट्रिय सहकारी महासंघले आज एकीकरण कार्यशाला गोष्ठी सञ्चालन गरेको छ । महासंघका अध्यक्ष मिनराज कडेलले कृषि क्षेत्रसँग सम्बन्धित १२ वटा केन्द्रीय संघहरुलाई लक्षित गरि एकीकरण कार्यशाला गोष्ठी आयोजना गरिएको बताउनुभयो । एकीकरणले सहकारीलाई बलियो बनाउने र क्षमता बृद्धि हुने भएकाले यसका लागि प्रोत्साहन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । उहाँले सहकारी ऐनले तोकेवमोजिमको प्रावधान पुरा गर्न नसकिने केन्द्रीय तथा जिल्लास्तरीय संघहरु एकीकरण हुँदा राम्रो हुने बताउनुभयो । गोष्ठीमा नेपाल सरकारका उपसचिव ऋषिराम पंगेनीले संघहरुको एकीकरणको आवश्यकता विधि एवं प्रक्रिया विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी अभियानलाई एकीकरणमार्फत सुदृढ गर्ने उद्देश्य संघको रहेको बताउनुभयो ।

उहाँले सरकारले प्रत्येक बर्षको बजेट तथा कार्यक्रममा एकीकरणलाई जोड दिएको बताउनुभयो । कार्यक्रममा महासंघका सञ्चालक डी.बी. बस्‍नेत, टेकप्रसाद चौलागाईको उपस्थिति थियो । कार्यक्रममा जडीबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष ईश्वरी सुवेदीले किसानको जीवनस्तर परिवर्तन गर्ने गरी एकीकरणमा जाँदा हुने बताउनुभयो । दुग्ध केन्द्रीय सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटाले केहि गतिविधि नगर्ने सहकारी संघहरु एकीकरण वा खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले केन्द्रीय भन्दा पनि पहिले जिल्ला सहकारी संघहरु एकीकरण गर्नु सान्दर्भिक हुने धारणा राख्नुभयो । केन्द्रीय मौरीपालन सहकरी संघका उपाध्यक्ष जानुका थापाले जिल्लाबाट नै एकीकरण शुरु गर्दा सहज हुने तर्क राख्नुभयो ।

केन्द्रीय चिया सहकारी संघका निवर्तमान अध्यक्ष गोविन्द दाहालले एकीकरण हुने संघ-संस्थाको समस्यामाथि कस्ले सम्‍बोधन गर्ने हो त्यो पनि स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय मत्स्यपालन सहकारी संघका उपाध्यक्ष सञ्‍जयकुमार शाहले एकीकरण बाध्यात्मक नभइ प्रवर्द्धनात्मक हुनुपर्ने विचार राख्नुभयो । नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा सुपरिवेक्षण समितिका संयोजक महेश्वर सुवेदीले एकीकरण प्रक्रिया स्थानीय तहबाटै शुरु भए बढी प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *