भावातीत ध्यान विशेषाङ्क सार्वजनिक


वैदिक गुरु परम्पराबाट आएको भावातीत ध्यानका विषयसँग सम्बन्धित सामग्री सङ्कलन गरी तयार पारिएको भावातीत ध्यान विशेषाङ्क सार्वजनिक गरिएको छ ।नेपाल महर्षि वैदिक फाउण्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वामी ज्ञानानन्द सरस्वती, नायिका मनीषा कोइराला, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) का उपकुलति डा सुनीलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, आयोजक संस्थाका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालगायतले संयुक्तरुपमा विशेषाङ्क सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बाँस्कोटाले वैदिक ज्ञानको प्रवद्र्धनका लागि देशभर १२५ गुरुकुलमार्फत् ध्यान, यज्ञ प्रवद्र्धन गर्न लागिएको बताउनुभयो । ध्यानका माध्यमबाट मनका कारण शरीरमा लाग्ने रोग निवारण गर्न सकिने र पछिल्लो समय मनका कारण शरीरमा लाग्ने मनोकायिक रोगका रोगी बढेकाले भावातीत ध्यानलाई बिस्तार गर्न लागिएको बताउनुभयो ।

भावातीत ध्यानले मनका कारण शरीरमा लाग्ने चिन्ता, तनाव, उच्च रक्तचापलगायत रोग निको हुने गरेको तथ्य वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको उहाँले बताउनुभयो । “विगत २५ वर्षअघिदेखि मैले नियमित ध्यान गर्न थालेपछि ७३ वर्षको उमेरमा पनि अस्पताल जानुपरेको छैन, बिहान र बेलुका २०÷२० मिनेट ध्यान गर्ने गरेको छु, यो उमेरमा पनि युवा अवस्थामा जस्तै काम गर्न सकेको छु”, पूर्वराज्यमन्त्री बाँस्कोटाले भन्नुभयो । स्वामी ज्ञानानन्द सरस्वतीले जीवनमा आनन्द अनुभव गर्नु छ भने दिनमा एक घण्टा समय ध्यान गर्न आवश्यक रहेको बताउनुभयो । यसबाट व्यवहार संयमित भई अरु समयमा काम गर्न स्फूर्ति प्राप्त हुने उहाँको भनाइ थियो । केही गर्न विशेष ऊर्जा एवं कान्ति पाउन पनि ध्यान गर्नु आवश्यक रहेको स्वामी ज्ञानानन्दको विचार थियो ।

नायिका कोइरालाले मस्तिष्कका लागि ध्यान र शरीरका लागि व्यायाम आवश्यकपर्ने भएकाले दैनिक तरोताजा भएर काम गर्न ध्यानको अभ्यास गर्नुपर्ने बताउनुभयो । मनमा आउने नकारात्मक तत्वलाई सन्तुलनमा राख्न ध्यानले सहयोग गर्ने अनुभव उहाँले सुनाउनुभयो । प्रतिष्ठानका उपकुलपति श्रेष्ठले ध्यानमा प्रकृतिसँग जीवनलाई जोड्ने कला रहेको बताउनुभयो । नकारात्मक र सकारात्मक ऊर्जाका बीच मनलाई सन्तुलनमा राख्न भावातीत ध्यानले सहयोग गरेको उहाँको अनुभव थियो । आयोगका पूर्वउपाध्यक्ष पोखरेलले हाल विश्वभर रहेका देशको खुशीको परिसूचकसमेत सार्वजनिक गर्न थालिएकाले ध्यानले यो सूचक सुधार गर्न सहयोग गर्ने बताउनुभयो ।

वरिष्ठ किड्नी रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले दिनभर काम गर्दा आउने तनाव हटाउन ध्यान आवश्यक रहेको आफ्नो अनुभव सुनाउनुभयो । ध्यान केन्द्रभन्दा पार्टी प्यालेस र रेष्टुरेन्ट बढेकाले पनि मानिसलाई आहार विहारका कारण रोग बढ्ने गरेको बताउनुभयो । विद्यार्थी विशेषगरी चिकित्सा विषयकालाई ध्यानको नियमित अभ्यास गराउनुपर्ने डा काफ्लेको भनाइ थियो । विश्व शान्ति राष्ट्रका अन्तर्राष्ट्रिय निर्देशक डा किङ्स्ली ब्रुक्सले भावातीत ध्यानले मानव स्वास्थ्य, व्यक्तित्व विकास, सामाजिक व्यवहार व्यक्ति शान्त पार्दै विश्व शान्तिका लागिसमेत योगदान गर्ने भएकाले नेपालमा यसको प्रवद्र्धनका लागि सहयोग गरिएको बताउनुभयो । कार्यक्रममा ध्यान एवं सिद्धि शिक्षकद्वय माधवप्रसाद अर्याल, मीनराज अधिकारी, विशेषाङ्कका प्रधान सम्पादक भरतराज पौडेललगायतले भावातीत ध्यानका फाइदाका विषयमा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका तथ्यका विषयमा जानकारी गराउनुभएको थियो ।

तेत्तीस देशका १५० भन्दाबढी विश्वविद्यालयमा गरिएको वैज्ञानिक अनुसन्धानबाट व्यक्तित्व विकासका लागि भावातीत ध्यान उपयुक्त माध्यम भएको, यसबाट नकारात्मकता, मनोकायिक रोगसमेत घट्ने तथ्य प्रमाणित भएको थियो । ऋग्वेदका दशौँ मण्डलबाट लिइएको यो ध्यान पछिल्लो समय ज्योतिर्मठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीका शिष्य महर्षि महेश योगीले विश्वभर जागरण गर्नुभएको हो । भावातीत ध्यानका नाममा करिब २०० देशमा यो ध्यान सिकाइन्छ । हाल विश्वभर करीब एक करोड मानिसले यो ध्यानको नियमित अभ्यास गर्ने गरेको जनाइएको छ । नेपालमा करीब १० हजारले यसको नियमित अभ्यास गर्ने गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु