स्थिरिकरण कोषको सञ्चालनमा सामूहिक ऐक्यबद्धता


चितवन । बचत तथा ऋण सहकारीहरूको सम्भावित जोखिम न्यूनीकरणका लागि स्थापित स्थिरिकरण कोषको प्रभावकारी सञ्चालन प्रति चितवनमा सहकारी अभियन्ताहरुबीच सामुहिक ऐक्यबद्धता जाहेर भएको छ । नेफ्स्कून चितवन फिल्ड कार्यालयको आयोजनामा बुधवार सञ्चालित बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरिकरण कोष अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले कोष सञ्चालन प्रभावकारितामा अभियानको ऐक्यबद्धता रहेको बताउनुभएको हो । नेफ्स्कूनका अध्यक्ष एवम् कोष सञ्चालन समितिका अध्यक्ष परितोष पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि मीनराज कंडेलले बचत तथा ऋण सहकारीहरुलाई सम्भावित जोखिमबाट बचाउन कोषको भूमिका बारे प्रष्ट पार्दै सहकारी ऐन र नियमावलीमा समेत सम्बोधन भएकाले अब अभियान द्रुत गतिमा अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले संस्थाहरुले राम्रो गर्दा गर्दै कुनै पनि वेला समस्यामा पर्न सक्ने अवस्था आउनेहुँदा त्यसको तत्काल सुरक्षाका लागि कोषको भूमिका निर्विकल्प रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुलाई जोखिमबाट जोगाउन स्थिरिकरण कोष आवश्यक रहेको कुरा अन्तर्राष्ट्रिय अभ्यासबाट पनि सिकेको र त्यही अनुरुप नेफ्स्कूनले पहल गरेको स्मरण गराउँदै कोष नेफ्स्कूनकै अभिन्‍न अङ्‍ग बन्‍नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले बचत तथा ऋण सहकारी अभियानको जगेडा कोषको रुपमा स्थिरिकरण कोष रहेको र यसलाई कानुनी अड्चनका बीच अघि बढाउन नेफ्स्कून र अभियान प्रतिवद्ध रहेको धारणा राख्नुभयो । स्थिरीकरण कोषभित्र सबैलाई गोलवद्ध हुन आग्रह गर्दै कोषलाई अभियानमैत्री र सहभागितामूलक बनाउन सबैको साथ सहयोग नै महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघकी उपाध्यक्ष शान्ती अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, सञ्चालक सदस्य जीवसराज खडका, विद्या कोइराला, नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् बाग्म‍ती प्रदेश बचत संघका अध्यक्ष उद्दव सापकोटा, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य तेजेन्द्रबहादुर खड्का, केन्द्रीय उपसमिति सदस्य विष्णुमाया लामा, सहकारी अभियन्ताहरु गोपालप्रसाद गौतम, ओमप्रसाद सापकोटा, प्रकाश गैरे, दिपकराज खनाल, हरिश्चन्द्र सुवेदी, रामप्रसाद सिग्देल लगायत स्थानीय सहकारीकर्मीहरुको विशेष उपस्थिति थियो भने चितवन, मकवानपुर र नवलपुर जिल्लाका गरी विभिन्न साकोसका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधि सहित १४६ जना उपस्थित हुनुभएको थियो । स्वागत मन्तव्य नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले र स्थिरीकरण कोष सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कूनका सदस्य विभाग प्रमुख दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो । सोही कार्यक्रमका अवसरमा नेफ्स्कूनद्वारा नवलपुर जिल्ला बचत सघका नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको थियो ।

कार्यक्रम सञ्चालन नेफ्स्कूनकी फिल्ड कार्यक्रम अधिकृत यमकला सुवेदीले गर्नुभएको थियो भने कार्यक्रम समापनका अवसरमा सञ्चालक विद्या कोइरालाले सहभागीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । सहकारी ऐन २०७४ को दफा १०३ मा बचत तथा ऋण विषयगत संस्थाको सञ्चालनमा सम्भावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरु मिली एक स्थिरिकरण कोष खडा गर्न सक्ने उल्लेख गरिएको छ । उपदफा ३ ले स्थिरिकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था गरेको छ । सोही अनुसार २०७६ माघ २७ गते काठमाडौंमा सम्पन्न प्रारम्भिक भेला राष्ट्रिय गोष्ठीमा २ सय ९२ संघ संस्थाबाट कोषमा सहभागिता जनाउने प्रतिवद्धता जाहेर भएको थियो । सोही अनुरुप कोषमा हालसम्म १ सय ३२ संघ संस्थाबाट ३ करोड १२ लाखको प्रारम्भिक योग्दा‍न भैसकेको छ । चितवन र नवलपुर जिल्ला बाट गरी १४ बचत तथा ऋण सहकारी संस्थाको योगदान रकम कोषमा जम्मा भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु