नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने


काठमाडौं । नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर आफ्नो सञ्जाल बिस्तार गर्ने भएको छ । नेफ्स्कूनमा आवद्ध बचत तथा ऋण सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा मञ्‍च क्लबले यसै आर्थिक वर्षभित्र क्लबमा आवद्धता बिस्तार गदैै देशभरका व्यवस्थापन प्रमुखहरुलाई जोड्ने कार्यक्रम अघि सारेको छ । यसैगरी, क्लबले निकट भबिष्यमै राष्ट्रिय एवम् प्रदेशस्तरीय गोष्ठी गर्ने तयारी पनि गरेको छ । यही फागनुमा भक्तपुरमा आयोजित नेफ्स्कून साकोस म्यानेजर्स क्लबको योजना तथा कार्यविधि निर्माण कार्यशालाका क्रममा क्लबको कार्यविधि २०७५ मा समयानूकुल संशोधन गर्दै उपयुक्त विषयहरुमा सक्रिय र प्रभावकारी काम अघि बढाउने निर्णय भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले उद्घाटन गर्नुभएको कार्यशालामा संघका महासचिव दामोदर अधिकारी, कार्यप्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल, प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सेना, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठसँगै क्लबको वर्तमान कार्यसमिति एवम् संस्थापक एवम् निवर्तमान सदस्यहरुको सहभागिता थियो ।

नेफ्स्कूनका सदस्यहरुमध्ये उत्कृष्ट ठहरिएका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको साझा मञ्च नेफ्स्कून साकोस म्यानेजर्स क्लब २०६९ सालमा गठन गरिएको हो । विगत २ वर्ष यता फेरिएको यसको संरचना अनुसार नेफ्स्कूनले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर साउन ३२ गते घोषणा गर्ने उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत व्यवस्थापकको संयोजकत्वमा, निबर्तमान संयोजक १ जना, प्रदेशस्तरीय उत्कृष्ट साकोसका ७ व्यवस्थापन प्रमुख, सर्वोत्कृष्ट साकोसको व्यवस्थापक १ र उत्कृष्ट महिलातर्फको साकोसकी व्यवस्थापक १ जना सदस्य रहने व्यवस्था छ । क्लबका संयोजक सहित सदस्यहरुको कार्यकाल १ वर्षको हुनेछ । नेफ्स्कूनको वार्षिक साधारणसभाबाट पुरस्कृत साकोस तथा व्यवस्थापन प्रमुखहरुबाट अर्को वर्षका लागि उत्कृष्ट घोषितहरुलाई क्लबको जिम्मेवारी हस्तान्तरण हुनेछ ।

प्रारम्भमा नेफ्स्कून एवम् एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा सञ्चालित गुणस्तर सुनिश्चितता प्रमाणीकरण कार्यक्रम उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वोत्तम छनोट अर्थात् एक्सेस ब्राण्ड प्राप्त साकोसका व्यवस्थापन प्रमुखहरुको सहभागितामा “एक्सेस् साकोर्स म्यानेजर्स क्लब” नाम दिइएको उक्त फोरमलाई २ वर्षअघि “नेफ्स्कून साकोस म्यानेजर्स क्लब” नामाकरण गरिएको हो । नेफ्स्कून व्यवस्थापनका साथै देशभरका साकोसहरुबीच असल अभ्यासहरु साटासाट गर्ने, संस्थागत चुस्तता र कार्यदक्षताका लाागि अनुभवहरु आदानप्रदान गर्ने लक्ष्‍य हो । नेफ्स्कूनको सञ्जालभित्रका वित्तीय सहकारीहरुका साझा मुद्दाहरुमा चिन्तन मनन गर्ने, नवीन अवधारणाहरु विकास गर्ने र भोलीका सम्भावनाहरु पहिचान गर्ने फोरम हो । बचत तथा ऋण सहकारी अभियानभित्र कार्यरत मानव संशाधनको विकास र परिचालन गरी नवीनतम् विषयहरुको प्रवर्धन र अवलम्बनका लागि संघ अन्तर्गत एक व्यावसायिक विशेषज्ञ समूहको रुपमा क्लब रहने व्यवस्था क्लब सञ्चालन कार्यविधिमा उल्लेख छ । साकोस अभियानको सशक्तिकरणको लागि सहयोगीसिद्ध विषयहरुको चर्चा, सहजिकरण र बहसपैरवी, साकोसको केन्द्रीय संघ र प्रारम्भिक संस्थामा व्यावसायिकता विकासका लागि रणनीतिक मार्गनिर्देश तयार गर्न आवश्यक भूमिका खेल्ने लगायत यसका उद्देश्य निर्धारण गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस
चिनारी साकोसको आयोजनामा PALM कार्यशाला