पथप्रर्दशक नारी आवाजहरु


पथप्रर्दशक नारी आवाजहरु

डा.यमुना घले
परिषद् सदस्य
नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल सरकार

१११ औं अन्तराष्ट्रिय नारी दिवसको नारा “कोभिड–१९ प्रभावित संसारमा समानता सहितको महिला नेतृत्व” तथा नेपाल सरकारले तय गरेको राष्ट्रिय नारा “महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” दुवैको सारभूत मान्यता महिलाको सुरक्षा, नेतृत्व तथा सम्मानजनक आर्थिक सशक्तिकरण नै हो । यस सन्दर्भमा देशभित्र सञ्चालित २९,८,८६ सहकारी, जहाँ ७३ लाख सदस्य आवद्ध तथा ८८ हजार भन्दा बढिले रोजगारी पाईरहेको छ । यो क्षेत्रले अझ बढि महत्व राख्दछ । सहकारीहरुको प्राथमिकतामा बचत तथा ऋण, कृषि तथा बन तथा हस्तकलाका कामहरु प्रमुख भएता पनि लगानीको अंश भने उत्पादनमूलक क्षेत्रमा कमै देखिन्छ ।

तुलसी ज्ञवाली
उद्यमी एवं सामाजिक अभियन्ता

नेपालको आधा आकाश महिलाले ढाकेको छ । महिला घर परिवार र समाजको गहना हो । जुन घरमा महिलाको सम्मान हुन्छ, त्यो घर स्वर्ग जस्तै सुन्दर हुन्छ । महिला सक्षम हुनु भनेको घर परिवार मात्र नभएर टोल समाज हुँदै राष्ट्र स्तरकै आर्थिक, सामाजिक विकास तथा उन्नति हुनु हो । महिला सशक्तीकरणमा सहकारीको ठूलो योगदान रहँदै आएको छ । सहकारी खोलिनुभन्दा पहिला महिलाहरु आर्थिक गतिविधिमा खासै समावेश हुने थिएनन् । विभिन्न सभा सम्मेलन, तालिम, सेमिनार, बैठकमा महिलाको सहभागिता शुन्य हुन्थ्यो । निर्णायक तहमा महिलाको सहभागिता कम थियो । सहकारीको विकास भएपछि नै महिलाहरुको आर्थिक र सामाजिक पक्षमा आत्मनिर्भर भएको हो । एकका लागि सबै र सबैका लागि एक सहकारीको मुलमन्त्र नै महिलाको साथी बनेको छ । समग्रमा विकासको आधारशिला नै सहकारी हो ।

चन्द्रकुमारी खड्का भट्टराई
निवर्तमान सञ्चालक, नेफ्स्कून
अध्यक्ष उद्यम विकास साकोस, झापा

संयुक्त राष्ट्रसंघले १९७५ मा अन्तराष्ट्रिय महिला दिवसलाई आधिकारीक मान्यता दिए पश्चात हरेक बर्ष मार्च ८ लाई नारी दिवसको रुपमा मनाउन थालिएको हो । काम अनुसारको उचित दाम बाट शुरु भएको महिला आन्दोलन, महिला अधिकार र सम्मानका लागि मात्र नभएर समाज र राष्ट्र निर्माणका निम्ती प्रगतिको आधारशिला बनेको छ । आधा आकाश नारी शक्ति जस्ता शब्द चयनले नारीलाई सम्मान जनाइएको छ । नारी दिवस समाज प्रगति पथको जगको रुपमा लिनुपर्दछ । नारी दिवस मार्फत महिलाहरुको आवाज बुलन्द पार्दै नेपालको संविधानमा महिला अधिकार देखि नीति निर्माण तह सम्म आफ्नो हक अधिकार सुरक्षित गर्न सफल पार्ने दिवसको रुपमा स्थापित भएको छ नारी दिवस ।

विमला श्रेष्ठ
अध्यक्ष,
सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

पितृसत्तात्मक समाज संघको अन्तर संघर्ष र सयौं पुस्ताका महिलाहरुको शिक्षा, स्वास्थ्य राजनीति र सामाजिक, आर्थिकको पाटोमा महिलाहरुको भोगाइमा जीवनगाथाहरु धेरै सुने र भोगें यी कुराहरुलाई चिन्ने महिलाहरुले ठूलो सङ्‍घर्ष गर्न पर्यो । यसकै वावजुत आम अन्तराष्ट्रिय नारी दिवस मनाउन सफल भएका छन् । नेतृत्व विकास गर्न महिलाले सोचे जति सहज पक्केै छैन । घर व्यवहार इष्टमित्र, नाता गोतातिथि चाडपर्व आदिमा महिलाहरु परिवार सँगै रहेर सबै प्रकारका कार्यहरुमा सहजीकरण गरिरहेका छन् । यस्ता खालका दायित्व काँधमा आइपर्ने हुनाले पनि हरेक क्षेत्रमा महिलाहरुको जिम्मेवारी पुरुषको भन्दा बढि नै छ । हरेक क्षेत्रमा मितव्ययी ढङ्गले खर्चको व्यवस्थापन गर्ने महिलाहरुको विशेषता हो । यि सबै व्यवस्थापन गर्न महिलाहरु विहान ४ बजेदेखि वेलुका ११ बजेसम्म दिनचर्या बनेको हुन्छ ।

अम्विका गौतम आचार्य
उपाध्यक्ष, जिल्ला सहकारी संघ लि., कास्की

जनसंख्याको ५४.४ प्रतिशत महिला भएको नेपालको परिवेशमा महिला सशक्तीकरणमा सहकारीको भूमिका प्रष्ट छ । समाज रुपान्तरणका लागि महिला सशक्तीकरण गर्न भनि देशमा सयौं सरकारी तथा गैर सरकारी संस्थाहरु स्थापना भएपनि महिला सशक्तीकरणमा सहकारीको भूमिकालाई उच्च रुपमा हेर्नुपर्छ । वि सं २०१३ सालमा बखानसिंह सहकारीको स्थापनाबाट शुरु भएको सहकारी अभियान तिब्र गतिमा अगाडि बढेको थियो तर नेपालमा बहुदलीय शासन व्‍यवस्थाको सुरुवात भयो तत्पश्चात अर्थतन्त्रमा पनि खुला अर्थव्‍यवस्थाको सुरुवात भयो त्यसैको फलस्वरुप बैंक वितीय संस्था र सहकारी ऐन २०४८ पछि सहकारीहरुको स्थापना, विकास र विस्तार व्यापक भयो । अर्थतन्त्रको आकार वृद्धिसँगै सहकारीको विकासक्रम पनि तीव्र रुपमा हुँदै गयो । जसको फलस्वरुप हाल देशमा २९,००० भन्दा बढी सहकारीको स्थापना र सञ्चालन भइसकेको छ, जसले महिला सशक्तीकरणको क्षेत्रमा कोशेढुङ्गाको भुमिका निर्वाह गरेको पाइन्छ ।

दुर्गा तिवारी सन्जेल
महिला अभियान साकोस, बालकोट, भक्तपुर

अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरुको सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक र अन्य हरेक किसिमका उपलब्धिहरुको मापन गर्दै महिलाहरु एकजुट भएर मनाइने दिवस हो । घर, समाज, राष्ट्र र अन्तत विश्वकै आर्थिक समृद्धिमा महिलाहरुको देन निकै महत्वपूर्ण छ र यसलाई पहिचान र सम्मान गर्न पनि उत्तिकै महत्वपूर्ण छ । विश्वका सम्पूर्ण महिलाहरुको उपलब्धिहरुलाई सम्मान गर्दै महिलाहरुले महिला भएकै कारण भोग्‍नुपर्ने विभेद, हिंसा, प्रतिवन्धहरुको विरुद्द लड्दै महिलाको अधिकारको संरक्षणको महत्व दर्शाउन महिला दिवस आवश्यक छ ।
महिलाहरुको समृद्धिको पहिलो खुड्किलो उनीहरुको आर्थिक स्वतन्त्रता र विकास हो । सोको प्राप्तिमा सहकारीहरुको महत्वपूर्ण सहयोगी भूमिका रहेको हुन्छ । अझ नेपाल जस्तो विकासोन्मुख देशमा सहकारीको भूमिका अपरिहार्य छ । अन्तर्राष्ट्रिय महिला दिवस, २०७७ को अवसरमा “चुनौहरुतिलाई छनोट गर” भन्ने मुल मन्त्र सहित महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने नारा लिएर १११औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य र सभ्य रुपमा मनाऔं । महिलाको आर्थिक समृद्धिमा अग्रसर बनौं ।

सहना पसखल
अध्यक्ष नारी सेवा साकोस भक्तपुर

“Women in leadership Achieving an equal future in a COVID- world “भन्ने नाराका साथ आज मिति २०७७।११।२४ गते सोमबारका दिन तद्नूसार मार्च ८ २०२१ विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदै छ । यस दिवसको इतिहास हेर्दा विःसं १९११ मा पहिलो पटक मनाइएको थियो । तर यसलाई आधिकारिक रुपमा संयुक्त राष्ट्रले सन् १९७५ मा घोषणा गरी मनाउँदै आएको हो । शताबदीको रुपमा २०११ सालमा यो दिन मनाएको हुँदा आजको दिन १११ औं अन्तराष्ट्रिय नारी दिवस हुन गएको हो । संयुक्त राष्ट्रले मनाएको पहिलो नारी दिवस सन् १९९६ “Celebrating the past, planning for the future” भन्ने नारालाई सम्बोदन गरी मनाएको थियो । सोही दिन देखि आजको दिनसम्म यो दिवस महिलाहरुको र समग्र आर्थिक र राजनैतिक क्षेत्रमा भएको प्रगति र योगदानलाई सम्मान गरी मनाउँदै आइरहेको छ ।

रमिता महर्जन
व्यवस्थापक, ठेचो महिला जागरण साकोस, ललितपुर

हाम्रो समाजको महिला घरको लक्ष्मी, घरको इज्जतको रुपमा हेरिनथ्यो भने महिलाले ठुलो स्वरमा बोल्नु हुदैन, बाहिर हिड्न हुदैन, पुरुषमान्छेसँग बोल्न हुदैन, बाहिर गएर काम गर्नु हुदैन भन्ने मानसिकता भएको समाजमा बसेका थियौ। समाजमा पहिला महिला लाई घरको काममा मात्र सिमित राखिन्‍थ्यो, जति पढाई लेखाई भएपनि घरको दैलो भित्र नै सिमित हुन्‍थ्‍ए । उसको परिचय उसको परिवारबाट चिनाइन्थ्‍यो । फलानाको छोरी, बुहारी भनेर । घर बाहिर काम गर्न गयो भने घरपरिवार बिग्रने भयो भनिन्‍थ्यो । तर अहिले आएर पुरुषहरुसछँगसँगै सहकार्य गरेर सहकारी सञ्चालन गर्न सक्ने भैसक्‍ए । कुनै पनि कुरामा केटा भन्दा कम छैन भनेर अगाडी बढीसकेको छ । नेतृत्व क्षेत्रमा, उद्यमी व्‍यवसाय गर्नमा र राजनिति गर्नेमा समेत महिला अगाडी बढिसक्‍ए । महिला दिदिबहिनीहरुले आफ्नो घरको व्‍यवस्थापन सँगसगै सहकारीलाई पनि व्‍यवस्थापन गर्दै अगाडी बढाइराखेको छ।

सरस्वती भुजेल
सेवाकेन्द्र प्रमुख
पोखरा रोयल सकोस, कास्की

हरेक वर्ष मार्च ८ तारिखका दिन मनाईने अन्तराष्ट्रिय नारी दिवस यस वर्ष पनि विगत वर्ष झै १११औ अन्तराष्ट्रिय नारी दिवस “चुनौतीलाई छनौट गर” भन्ने मूल नाराका साथ मनाउन लागिएको छ । यो दिवस कुनै चाडपर्व नभई महिला माथि हुने अन्याय अत्याचार र लैगिंक विभेद विरुद्धको आवाज हो । महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापी रुपमा मजवुत पारिदै संकल्प र अठोटको साथ निरन्तर जारी राखिने निरन्तर यात्रा हो । नेपाली समाज जति जति नयाँ युगमा प्रवेश गर्दैछ, त्यति नै अपराधिक घटनाका प्रकृतिहरु पनि अमानवीय तथा डरलाग्दो रुपबाट अगाडि आइरहेका छन् । जसको पहिलो निशानामा नै महिला पर्ने गरेको पाईन्छ । कतिपय घटनाहरु महिलाले आफ्नो धर्म संस्कृति र परम्परा सम्झिएर सहन बाध्य छन् । यस किसिमबाट हुने शोषणबाट महिलाहरु मुक्त हुन खोजिरहेको कारण पनि नेपालमा महिला दिवसको महत्व बढेको पाइन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस
चिनारी साकोसको आयोजनामा PALM कार्यशाला