कवि कृष्ण प्रधानको १९औँ कृति विमर्शन सम्पन्‍न


कवि, समालोचक तथा निबन्धकार कृष्ण प्रधानको १९औँ कृति ‘अग्नि–यात्रा’को हरेकपल डट कमको कार्यालयमा एक समारोहका बीच विमर्शन गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि दधिराज सुवेदीले कृतिको विमर्शन गर्दै भन्नुभयो, ‘कृष्ण प्रधान उहाँका पुस्ताका कविहरूमध्ये बिर्सनै नसकिने कवि हुनुहुन्छ । उहाँलाई समाज र इतिहासले यसै रूपमा स्विकार्ने र राख्‍ने छ । उहाँका कविताले देश–काल–परिस्थिति बोल्ने हुँदा ती कहिल्यै पुराना हुँदैनन्, कालजयी हुन्छन् ।’ साहित्यकार डा. तुलसी भट्टराईका शब्दमा, ‘कवि कृष्ण प्रधानले यो कृति तयार गर्न विभिन्न कोणबाट आगोका बारेमा अध्ययन गर्नुभएको रहेछ । त्यसैले यो कृति निकै खँदिलो बनेको छ ।

उहाँको लेखनमा आफ्नोपन पाइन्छ । त्यसैले कवि कृष्ण प्रधान कसैजस्तो नभएर कृष्ण प्रधानजस्तै हुनुहुन्छ ।’आफ्ना किशोर–सखा प्रधानसँग बिताएका डेराका जिन्दगीलाई सम्झँदै डा. विष्णुविभु घिमिरेले उहाँको मूल्याङ्कन यसरी गर्नुभयो, ‘कृष्ण प्रधान अत्यन्त अध्ययनशील र सिर्जनशील व्यक्तित्व हुन् । प्रसंशामा नफुल्ने र आलोचना गर्दा नरिसाउने उनको स्वभावका कारणले उनले आजको उचाइ गर्न सफल छन् ।’

डा. ज्ञानु पाण्डेले भने यस कृतिलाई यसरी विश्लेषण गर्नुभयो, ‘हरेकभित्र चेतनाको आगोलाई सदुपयोग गर्नका लागि अन्धो भएर होइन, आँखा खोलेर विद्रोहको रूपमा प्रयोग गर्न यस कृतिले रचनात्मक बाटो देखाएको छ ।’ डा. कुमार कोइरालाको विचारमा अग्नि–यात्रा अग्निलाई प्रतीकका रूपमा प्रयोग गरिएको प्रतीकात्मक कृति हो र कवि कृष्ण प्रधान क्रान्तिकारी धारका कविता लेख्‍ने प्रतीकवादी कवि हुन् ।

हरेकपल डटकमका प्रधान सम्पादक पुरुषोत्तम दाहालले प्रधानका कवितामा पाइने उर्जा र चेतनाको चर्चा गर्दै कविलाई यस कृतिले युगौँयुगसम्म बचाउने छ भन्नुभयो भने साहित्यकार विपिन शर्माले सहयोजन मन्तव्य प्रकट गर्दै कविलाई आगामी दिनमा अझ सशक्त लेखनीका लागि शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रममा कवि महेश प्रसाईँ, विश्वविमोहन श्रेष्ठ, राधिका गुरागाईँले विमर्शित कृतिका कविताका अंश वाचन गर्नुभयो । विमर्शित कृतिका कवि कृष्ण प्रधानले अग्‍नि–यात्रा कृति कोरोनाकालीन समयले दिएको चेतना भएको बताउनुभयो ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा प्राज्ञ विवश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि मनोजादित्य न्यौपानेले स्वागत मन्तव्य प्रकट र कवि गोकुल पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रम पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजन तथा हरेकपल डट कमको सहआयोजनमा सम्पन्‍न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन