काठमाडौं । भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले राष्ट्रिय युवा परिषद् र नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता सम्बन्धी साताव्यापी Generate Your Business (GYB) /Start Your Business (SYB) तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । नेफ्स्कून र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा केही समयअघि आयोजना गरेको GYB/SYB प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त व्यक्तिहरुले तालिम सहजीकरण गर्नुभएको थियो । युवा उद्यमशीलता विकासका निम्ति नेफ्स्कून र युवा परिषद्को संयुक्त पहलकद्मीमा आयोजना गरिएको GYB/SYB तालिमको अवधारणा लागू गर्ने पहिलो नगरपालिका चाँगुनारायण बनेको छ । कार्यक्रमको समापनमा सम्बोधन गर्दै नेफस्कूनका अध्यक्ष परितोष पौडेलले दक्ष युवा उद्यमी जनशक्ति निर्माणमा संघ र राष्ट्रिय युवा परिषद्को प्रयासले सार्थकता पाउँदै गएको दावी गर्नुभयो । तालिम अन्तर्गत विभिन्न १० समुहमा विभक्त ३ सय प्रशिक्षार्थीहरुलाई ३० जना प्रशिक्षकहरुले सहजीकरण गर्नुभएको थियो ।

चाँगुनारायण नगरपालिकाले ३ सय जना युवालाई उद्यमी बनाउने योजनासहित उक्त तालिम आयोजना गरेको हो । युवा उद्यमशीलता अभियानमा सहयोग पुर्याउन इच्छुक उद्यमीहरुलाई नेपाल बैंकले प्रदान गर्ने सहुलियतपूर्ण कर्जामध्ये ३ लाख रुपैयाँसम्मको व्याज नगरपालिकाले वेहोर्ने सहमति समेत भएको छ । नेफ्स्कूनले GYB/SYB तालिम सञ्चालन गर्ने १ सय ५० प्रशिक्षकहरु तयार पारेको छ । तालिममा ७ दिनसम्म नेफ्स्कूनकोतर्फबाट गोंगबु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारीले सहजीकरण गर्नुभएको थियो । अधिकारीले यसअघि नेफ्स्कून र युवा परिषद्को संयुक्त पहलकद्मीमा आयोजना गरिएको GYB/SYB तालिम समेत लिनुभएको थियो । भक्तपुरको चाँगुनारायण नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका २०७७ र सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि व्याज अनुदानसम्बन्धी कार्यविधि २०७७ बनाएर युवा उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

तालिममा उद्यम, उद्यमशिलताको परिचय र व्यवसाय प्रकारहरु सीप र क्षमताहरु, वस्तु तथा सेवाको लागत निर्धारण, व्यवसायिक योजना तयारी, व्यवसायिक विचार सृजना, दिमागी मन्थन र व्यवसायको प्रारम्भिक छनौट प्रक्रिया, जनशक्ति व्यवस्थापन, व्यवसायको स्वरुप, कानुनी दायित्व, खरिद व्यवस्थापन, लगानीमा प्रतिफल, पार बिन्दु र नगद प्रवाह, व्यवसायिक योजना प्रस्तुतिकरण आदि विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिम समापन समारोहमा हिजो प्रशिक्षकहरुलाई प्रशंसापत्र तथा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
Leave a Reply