आधारशिला तथा सहकारी सचेतना अभिमुखिकरण कार्यक्रम


डडेलधुरा । नेफ्स्कूनका सञ्चालक एवं डडेलधुरा फिल्ड कार्यालय संयोजक माधवप्रसाद जोशीको अध्यक्षता र संघका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा आज नेफ्स्कून र स्थानीय निकायबीचको संयुक्त साझेदारीमा आधारशिला तथा सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अमरगढी नगरपालिकाका उपप्रमुख सङ्गिता भण्डारीको विशेष आतिथ्यता रहेको थियो भने राष्ट्रिय सहकारी महासंघका सञ्चालक पद्‍मा गुरुङ, अमरगढी नगरपालिका सम्पूर्ण वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय, नेफ्स्कून डढेलधुरा फिल्ड कार्यालयका फिल्ड व्यवस्थापन उपसमिति सदस्य मिना फुलारा, अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउँद, सहकारी शाखाका अधिकृत सुरजप्रसाद जोशी, नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्‍त कार्यक्रममा स्थानीय सहकारी प्रतिनिधिहरु र नेफ्स्कूनका कर्मचारी सहित २७ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सुदुरपश्चिममा सहकारी मार्फत पर्याप्त विकासका सम्भावना हुँदा हुँदै पनि हामीले यस क्षेत्रमा सहकारी अभियानको जागरणलाई प्रभावकारी रुपमा समेट्न नसकिएको बताउनुभयो । भौगोलिक विकटताको यस सुदुरपश्चिम क्षेत्रमा सहकारीको प्रवर्द्धन र विकास गर्ने आधार सहितको आधारशिला कार्यक्रम मार्फत जोडिन पाउँदा खुशी पनि व्यक्त गनुृभएको थियो । सहकारी महासंघका सञ्चालक तथा डडेलधुरा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पद्‍मा गुरुङले नेफ्स्कूनले ल्याएको आधारशिला कार्यक्रम सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा सञ्चालित सहकारीहरुको विकास र प्रवद्र्धनका लागि प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो ।

अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले आधारशिला कार्यक्रम डाक्टरहरुले मानिसको होलबडी चेकअप गरेजस्तै सहकारीको होलबडी चेकअप गर्ने कार्यक्रम रहेको र यो कार्यक्रम अमरगढी नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुका लागि एकदमै महत्वपूर्ण भएको जानकारी गराउनुभयो । अमरगढी नगरपालिकाका उपप्रमुख सङ्गिता भण्डारीले आधारशिला कार्यक्रम डडेलधुराको अमरगढी नगरपालिकामा ल्याएर नेफ्स्कूनले एकदमै राम्रो काम गरेको भन्दै धन्यवाद दिदै अहिलेको समयमा सम्पूर्ण कार्य सहकारी मार्फत नै गर्न सकिने र नेफ्स्कूनसँगको साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमले पनि सहकारीको विकास र प्रवर्द्धनमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्‍त गर्नुभयो ।

नेफ्स्कूनका सञ्चालक माधवप्रसाद जोशीले आधारशिला कार्यक्रम सुदुरपश्चिम प्रदेशको पहिलो अभिमुखीकरण कार्यक्रम रहेको र आधारशिला कार्यक्रमको सुरुवात भई सम्झौता भएकोले अमरगढी नगरपालिकालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा आधारशिला कार्यक्रमको आवश्कता, सञ्चालन प्रक्रिया, सहकारी संस्थाहरुको भूमिका, आधारशिला कार्यक्रमको परिचय सहित समसामयिक विषयमा प्रस्तुतीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन डडेलधुरा फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन