स्थिरीकरण कोष अभिमुखीकरण तथा सञ्‍जाल सुदृढीकरण कार्यक्रम सम्पन्‍न


कञ्चनपुर । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष अभिमुखीकरण तथा सञ्जाल सुदृढीकरण सम्बन्धी कार्यक्रम सुदुरपश्चिम प्रदेश–कैलालीको धनगढीमा हिजो सम्पन्न भएको छ । नेफ्स्कूनको आयोजनामा सञ्चालित कार्यक्रममा सुदुरपश्चिम प्रदेशका नौ जिल्लाः कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी र दार्चुला जिल्लाबाट गरी १ सय ६० जना सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख व्यक्तित्व राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् नेफ्स्कूनका पूर्व सञ्चालक तारा लामा तामाङ हुनुभएको थियो । त्यसैगरी सहकारी विज्ञ डा. गोविन्दराज जोशी, नेफ्स्कून पदाधिकारीहरु चन्द्रप्रसाद ढकाल, दामोदर अधिकारी, दीपक पनेरु, कञ्चनपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु प्रेमलाल गौतम, भवानी चन्द्र, भूपेन्द्र थापा, सुरज वोगटी, जगदीश भट्ट, बद्री भट्टराई उपस्थित हुनुभएको थियो ।

प्रमुख अतिथि एवम् महासंघका सञ्चालक तारा लामा तामाङले बचत तथा ऋण सहकारी संस्था आफैंमा संवेदनशील क्षेत्र हुँदा यसको सञ्चालन प्रभावकारिता र सुशासनमा विशेष ध्यान दिनुपर्ने बताउँदै बचत तथा ऋण सहकारी अभियानमा नेफ्स्कूने अगाडि सारेका कार्यक्रम प्रभावकारी रहेको चर्चा गर्नुभयो । उहाँले सुदुरपश्चिमका सहकारी प्रवर्द्धन र विकासमा नेफ्स्कूनले ल्याएका कार्यक्रमहरु उत्कृष्ट रहेको विचार व्यक्त गर्दै जुनसुकै बेला पनि जोखिममा पर्न सक्ने बचत तथा ऋण सहकारीको संरक्षणका लागि स्थिरीकरण कोष आवद्धता अनिवार्य रहको सन्दर्भमा चर्चा गर्नुभयो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले स्थिरीकरण कोष बचत तथा ऋण सहकारी अभियानको जगेडा कोषको रुपमा विकास भइरहेको जानकारी गराउँदै कोष सञ्चालनको पूर्णताका लागि अभियानको ऐक्यवद्धता आवश्यक रहेको औल्याउनुभयो । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सम्बन्धी प्रस्तुतीकरण नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन