नेफ्स्कून र लुम्बिनी प्रदेश संघबीच साझेदारी सम्झौता

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुको सबलीकरणका लागि नेफ्स्कून र लुम्बिनी प्रदेश बचत संघ बीच व्यवसायिक साझेदारी कार्यक्रम सम्बन्धमा अर्कौ ऐतिहासिक सम्झौता लुम्बिनीको रुपन्देहीमा सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले आजै साझेदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो । बचत तथा ऋण सहकारी अभियानको इमान्दारीता, गुणस्तरीयता र विश्वसनियता बृद्धिका लागि नेफ्स्कून र लुम्बिनी प्रदेश बचत संघबीचको सहकार्य महत्वपूर्ण बन्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिनुभएको थियो । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष एवम् रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दीपक पनेरु, सञ्चालक सन्दिप सापकोटा र प्रदेश बचत संघको तर्फबाट अध्यक्ष कृष्णप्रसाद नेपाल, उपाध्यक्ष, अन्य पदाधिकारीहरु र सञ्चालक समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले प्रदेश संघलाई संस्थागत रुपमा सञ्चालन गर्न र दीगो विकासका लागि दिपक्षीय साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश राष्ट्रकै नमूना प्रदेश बन्ने विश्वास व्‍यक्त गर्दै संघलाई निरन्तर रुपमा साथ र सहयोग पुर्‍याउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद नेपालले आफुहरुले पदभार ग्रहण संगै एकै साथ गरिएको साझेदारी पत्रको हस्ताक्षरबाट उत्साहित बनेको बताउदै सहकारी अभियानकर्मीका लागि ऐतिहासिक दिन हुने विश्वास व्‍यक्त गर्दै सबै पक्षको साथ र सहयोगबाट लुम्बिनी प्रदेशको सहकारी अभियानलाई सार्थक बनाउने धारणा राख्नुभयो । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश संघसँगको सहकार्य दीगो हुने विश्वास प्रकट गर्नुभयो । महासचिव दामोदर अधिकारीले श्रोतको संकलन, वितरण प्रणाली र अनुगमन तथा मूल्यांकनको पाटोलाई प्रकावकारी ढंगबाट अगाडि बढाइने धारणा राख्नुभयो ।

उक्त कार्यक्रममा कोषाध्यक्ष दिपक पनेरुले प्रविधिलाई आत्मसाथ गर्दै केन्द्र, प्रदेश र स्थानीय संघबीच एकरुपता निर्माण गर्दै अगाडि बढ्ने कुरामा नेफ्स्कूनले आवश्यक भूमिका खेल्ने धारणा राख्नुभयो । त्यसैगरि आजै एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश बचत संघका नवनिर्वाचित पदाधिकारीहरुका लागि सपथ ग्रहणको कार्यक्रम समेत सम्पन्न भएको थियो । उक्‍त कार्यक्रम आज राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचनको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता सहित शुरु भएको एक समारोहका बीच सपथ लिइएको थियो । सपथ लिनेमा संघका अध्यक्ष नेपाल सहित उपाध्यक्ष मिना सिग्देल, महासचिव ऋषिराम सापकोटा, सचिव बसन्त ढकाल, कोषाध्यक्ष प्रेम गुरुङ्ग, लेखा समिति संयोजक कृष्ण चौहान क्षेत्री, सञ्चालकहरु राजन आचार्य, भोजबहादुर बस्नेत, श्यामकुमार पाण्डे, ज्ञानु पौडेल, लक्ष्मण बेल्बासे, सूर्यकुमारी शाही, रुद्धप्रसाद श्रेष्ठ र निर्मला अधिकारी हुनुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *