देशैभर विभिन्न कार्यक्रम सहित मनाइयो सहकारी दिवस


६४ औं राष्ट्रिय सहकारी दिवस देशैभरि विभिन्न कार्यक्रमसहित मनाइयो । २०१३ सालमा नेपालमा पहिलो सहकारी संस्था बखानपुर ऋण सहकारी स्थापना भएको दिन चैत्र २० गतेलाई सहकारी दिवसका रूपमा मनाउने गरिएको छ । राष्ट्रिय सहकारी महासंघले प्रत्येक वर्ष सहकारी दिवसका लागि एउटा थिम तय गर्दै वर्षभरि नै सहकारी संघसंस्थाले त्यहि थिम प्रयोग गर्ने गरेका छन् । केहि दिन अघि यस वर्षको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरिएको थियो । कोभिड १९ को संक्रमण जोखिमका कारण यस वर्ष जुलुस तथा सभाहरूको कार्यक्रम नगरिएता पनि राष्ट्रिय महासंघका साथै देशै भरिका विभिन्न केन्द्रिय संघ, प्रदेश संघ एवम् जिल्ला संघहरूले खेलकुद प्रतियोगिता, सरसफाई कार्यक्रम, साहित्यिक कार्यक्रम, बृक्षारोपण आदि कार्यक्रम गरि सहकारी दिवस मनाएका छन् । काठमाडौँ र ललितपुर जिल्लामा जिल्ला सहकारी संघहरूले प्रत्येक नगरपालिकामा विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन् । जिल्ला सहकारी संघ लि. काठमाडौँले काठमाडौँ जिल्लाका प्रत्येक स्थानिय तहमा सरसफाई, बृद्धाश्रममा सहयोग लगायतका कार्यक्रम गरेको जनाएको छ । त्यसै गरी उक्त संघले आगामी चैत्र २३ गते सहकारीबारे विशेष संवाद कार्यक्रम र चैत्र २८ गते मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको जनाएको छ । जिल्ला सहकारी संघ लि. मोरङले चैत्र २० गते आफ्नो कार्यक्षेत्र भित्र रहेका संस्थाहरूलाई साँझ दिप प्रज्ज्वलन गरी सहकारी दिवस मनाउन आह्वान गरेको थियो । जिल्ला सहकारी संघ लि. बाँकेले उत्कृष्ट सहकारी संस्थाका साथै विभिन्न विधामा सम्मान प्रदान गर्दै सहकारी दिवसको कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय सहकारी महासंघद्वारा विशेष समारोह आयोजना:
राष्ट्रिय सहकारी महासंघले सहकारी दिवसका अवसरमा एक विशेष समारोहको आयोजना गर्‍यो । उक्त समारोहमा नेपाल सरकार शिक्षा मन्त्रालयका सचिव एवम् पूर्व सहकारी सचिव गोपीनाथ मैनालीले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ बारे कार्यपत्र प्रस्तुत गर्नुभयो । राष्ट्रिय सहाकरी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीलाई उत्पादनका क्षेत्रमा जान विभिन्न कानूनहरूले बाधा पुर्‍याएको हुँदा त्यस्ता कानूनहरू संसोधन गरि उद्योग एवम् व्यवसायमा सहकारीलाई सहज प्रवेश दिइनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष एवम् आईसिए ग्लोबल बोर्ड मेम्बर ओमदेवी मल्लले सहाकरी संस्थाहरू मर्यादित ढंगबाट चलाउने र प्रविधिको प्रयोगबाट सदस्यलाई उत्कृष्ट सेवा दिने तर्फ उन्मुख हुनुपर्ने धारणा राख्नु भयो । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले राष्ट्रिय सहकारी महासंघले इतिहासलाई स्मरण र सम्मान गर्ने कार्यलाई निरन्तरता दिएको धारणा राख्नु भयो ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार लिला प्रसाद शर्माले कर्तव्यको तेल हालेर मात्र अधिकारको रेल कुदाउनुपर्छ भन्ने अभिव्यक्ति दिँदै सहकारी संघसंस्थाका संचालकहरूले विद्यमान ऐनकानूनहरू र आफ्नो कर्तव्यको पालना गर्ने तर्फ बढि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
महासंघद्वारा संघसंस्थाहरू पुरस्कृत
६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले चैत्र १९ गते एक समारोहको आयोजना गरि विभिन्न सम्मान एवम् पुरस्कारहरूको घोषणा समेत गर्यो । उत्कृष्ट सहकारी पुरस्कार २०७७ चितवन जिल्ला सहकारी संघलाई प्रदान गरिने घोषणा गरियो । त्यसैगरी प्रत्येक प्रदेशबाट उत्कृष्ट सहकारी संस्था घोषणा गरियो । जसअन्तर्गत प्रदेश १ बाट कामधेनु दुग्ध विकास सहकारी संस्था लि. इटहरी, प्रदेश २ बाट त्रियुगा सहकारी संस्था फत्तेपुर, बागमती प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि., गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादन सहकारी संस्था लि. तनहुँ, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. बर्दिया र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.,मुगुलाई उत्कृष्ट सहकारी संस्था घोषित गरियो । सुदुरपश्चिम प्रदेशबाट भने उत्कृष्ट सहकारी छनौटका लागि कुनै पनि संस्था मनोनयनमा नपरेका कारण उत्कृष्ट घोषणा नभएको जानकारी उक्त सभामा दिइयो । प्रत्येक वर्ष महासंघका सदस्य संघहरूमा कार्यरत कर्मचारी मध्ये एक जनालाई उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिने प्रचलन अनुरूप जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरकी व्यवस्थापक सुमित्रा वाइबालाई पुरस्कृत गरिने घोषणा गरियो ।
सहकारी अभियन्ता दीपकप्रकाश बाँस्कोटा सम्मानित
राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका अग्रज व्यक्तित्व एवम् महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । चैत १९ गते आयोजना गरिएको विशेष समारोहमा सहकारी अभियानमा बाँस्कोटाले पुर्‍याउनु भएको योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने महासंघले गरेको हो ।


सहकारी विभागद्वारा सहकारी दिवसको विशेष समारोह आयोजना
सहकारी विभागले काठमाडौंमा सहकारी दिवसका अवसरमा बिशेष समारोह आयोजना गर्‍यो । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री डा. शिबमाया तुम्बाहाङफेले सहकारीलाई उद्योग, व्यवसाय र सेवाको क्षेत्रमा काम गर्न अवरोध गर्ने क्षेत्रगत कानुन संशोधन गर्नु पर्ने माग सहकारी अभियानले उठाए पनि त्यसमा कठिनाई रहेको बताउनुभयो । भूमिव्यवस्था सहकारी तथा गरीबि निवारण मन्त्रालयसँग सम्बन्धित बाहेक अन्य मन्त्रालयको क्षेत्राधिकारसँग सम्बन्धित कानुन संशोधन गर्न कठिनाई रहेको बताउनुभयो । मन्त्री तुम्बाहाङ्फेले सहकारीमा सुशासन कायम नराखी संविधानले परिकल्पना गरेको तीन खम्बे अर्थनीतिको सार्थकता पूर्ण रूपमा नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव एवम् सहकारी मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली, सहकारी सचिव टेकनारायण पाण्डे, संघिय सहकारी विभागका रजिष्ट्रार लीला प्रसाद शर्मा, सहकारी मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल सहित विभिन्न विषयगत केन्द्रीय संघ तथा जिल्ला सहकारी संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सचिव गोपीनाथ मैनालीले सहकारीको अवस्थाका साथै सुशासन र प्रविधिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । सहकारी सचिव टेकनारायण पाण्डेले सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली ‘कोपोमिस’, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण एकद्वार प्रणालीका रूपमा संचालन गर्दा प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।
संघिय सहकारी विभागका रजिष्ट्रार लीला प्रसाद शर्माले विभागद्वारा प्रकाशित सहकारीको तथ्याङ्कमा कतिपय त्रुटि रहेको स्वीकार्दै सहकारी अभियान, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा सो तथ्याङ्कलाई अद्यावधिक गर्ने प्रतिबद्धता जनाउनु भयो । रजिष्ट्रार शर्माले विभागले सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा सबै सहकारीको तथ्याङ्क प्रविष्ट गर्ने बताउनुका साथै सरकारलाई राजश्व चुहावट तथा सम्पत्ति शुद्धीकरण निवारण लगायतका नीति निर्माण गर्न पनि कोपोमिसको सहयोगी हुने दाबी गर्नुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीलाई उत्पादन र सेवाका क्षेत्रमा उद्योग, व्यवसाय संचालन गर्न बाधा पुर्‍याउने ऐन कानुन संशोधन गर्नुपर्ने माग राख्नुभयो । कँडेलले सहकारी ऐन २०७४ कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कार्यविधि तथा निर्देशिका अविलम्ब जारी गर्न विभागलाई आग्रह गर्नुभयो ।
सहकारी विभागद्वारा उत्कृष्ट करदाता संस्था सम्मानित
सहकारी विभागद्वारा आयोजित विशेष समारोहमा विभागले आर्थिक वर्ष २०७६/०७७ मा राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने प्रारम्भिक सहकारी संस्थालाई सम्मान गरेको छ । देशभरबाट अधिकतम आयकर बुझाउने तीन वटा संस्थालाई सम्मान गर्‍यो । कान्तिपथस्थित आईएमई कोअपरेटिभ सर्भिस, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कुलेश्वरस्थित महिला सहकारी संस्था लि.लाई सम्मान गरेको छ । गत आर्थिक वर्ष आईएमईले १ करोड ४९ लाख ८४ हजार ९ सय ४३ रुपैयाँ, सहारा नेपालले १ करोड २८ लाख ७४ हजार ९ सय १० रुपैयाँ र महिला सहकारीले १ करोड २१ लाख रुपैयाँ आयकर बुझाएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन