नगेन्द्रराज शर्माको राष्ट्रिय अभिनन्दन समारोह सम्पन्‍न


वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्माको ८४औँ जन्मोत्सवको अवसर पारेर एक समारोहका बीच उहाँलाई राष्ट्रिय अभिनन्दन गरिएको थियो । वि.सं. १९९४ चैत २२ गते रामेछापको मन्थलीमा जन्‍मनुभएको शर्मालाई ८४औं जन्मोत्सवका अवसरमा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले साहित्यकार शर्मालाई दोसल्ला ओढाई अभिनन्दनपत्र प्रदान गर्नुभएको थियो भने जोशीले नगेन्‍द्रराज शर्माको पत्‍नी कमला शर्मालाई पनि दोसल्ला ओढाई सम्मानित गर्नुभएको थियो । सो अवसरमा विभिन्न साहित्यिक संस्थाहरुले पनि उहाँको अभिनन्दन गरेका थिए । कार्यक्रममा अभिनन्दित व्यक्तित्व नगेन्द्रराज शर्मामाथि केन्द्रित रहेर तयार पारिएको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

साहित्यकार रोशन थापा नीरवद्वारा सम्पादित र उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाद्वारा प्रकाशित शर्माका समग्र रचनाहरु सङ्‌कलित कृति ‘नगेन्द्रराज शर्मा’ समग्र आख्यान लोकार्पण गरिएको थियो । कार्यक्रममा वाङ्मय शताब्दीपुरुष जोशीले शर्माको समग्र व्यक्तित्वको चर्चा गर्दै “नेपाली साहित्यको उत्थानमा साहित्यिक पत्रकारहरुको महत्वपूर्ण योगदान पुर्याउनु भएका शर्मा ८४ वर्ष पुग्नुभएको छ र ८४ वर्ष पुगेपछि मानिस पनि कालजयी हुन्छ । यो ईश्वरीय वरदान हो ।” भन्‍ने आफ्‍नो विचार तथा धारणा व्‍यक्‍त गर्नुभयो ।

विगत ५० वर्षदेखि अभिव्यक्ति द्वैमासिक साहित्यिक पत्रिका प्रकाशन तथा सम्पादन गर्दै आएका शर्माले अभिव्यक्तिका २ सय ८ अङ्क प्रकाशित गरिसक्‍नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले मैले आफूले सकुञ्‍जेल यसलाई निरन्तरता दिन्छु र नसकेको अवस्थामा अभिव्यक्ति परिवारले उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थासँग मिलेर निरन्तरता दिने व्यवस्था गरेको छु, म यसलाई मर्न दिने छैन भनेर आफ्‍नो विचार व्‍यक्‍त गर्नुभयो ।

उक्‍त समारोहमा अभिनन्दन मूल आयोजक समितिका अध्यक्ष पवन आलोकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरु रमा शर्मा, विधान आचार्य, किशोर पहाडी, देविका तिमिल्सिना, श्रीओम रोदनलगायत सम्‍पूर्णले आफ्नो धारणा राख्‍नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस