कास्की । पोखरा ८, न्यूरोडस्थित पिपल्स बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । यही चैतमा सञ्चालित तालिमको दोस्रो तथा अन्तिम दिन सञ्चालकहरुको क्षमता विकाससम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो । कार्यक्रममा सहकारी र साकोस सञ्चालन पद्धति, सञ्चालकहरुको भूमिका, कर्तव्य, अधिकार, प्रभावकारिता, नेतृत्व विकासको महत्व तथा आयामहरु आदि विषयमा नेफ्स्कूनका सञ्चार अधिकृत रञ्जनमणि पौडेलले सहजीकरण गर्नुभएको थियो ।

यसैगरी, अघिल्लो दिन सुशासनका विषयमा संस्थाका निवर्तमान अध्यक्ष युवराज बोहरा, कर्मचारीहरुको क्षमता विकास सम्बन्धमा संस्थाका सचिव देवेन्द्र बास्तोलाले, तनाव व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणासम्बन्धमा संस्थाका सञ्चालक विश्वास पराजुली र संस्था सञ्चालनका विविध पक्षमा संगिता पौडेलले सहजीकरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष शंकरबहादुर खत्रीले तालिममा संस्थाका सञ्चालकहरुलाई सहकारी सञ्चालनका आधारभूत विषयमा जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्दै कर्मचारीहरुले पनि विभिन्न उपयोगी विषयमा उत्प्रेरणामूलक शिक्षा लिने अवसर प्राप्त गरेको उहाँले बताउनुभएको थियो ।

उहाँले यस्ता खालका तालिमलाई अव निरन्तरता दिइने बताउँदै सक्रिय सञ्चालकका साथै दक्ष र अनुभवी व्यवस्थापनको सहकार्यका आधारमा पिपल्स साकोसलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । तालिमका सहभागी संस्थाका अन्य सञ्चालक एवम् कर्मचारीहरुले पनि उक्त तालिममा बचत तथा ऋण सहकारी सञ्चालन, सुशासन, वित्तीय स्वास्थ्य, सदस्यको भूमिका, सञ्चालकको जिम्मेवारी, कर्मचारी र सञ्चालकहरुबीचको सम्बन्ध आदिका बारेमा जान्ने बुझ्ने अवसर प्राप्त भएको प्रसन्नता व्यक्त गर्नुभएको थियो ।
Leave a Reply