राष्ट्रिय सहकारी महासंघको आयोजना तथा जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीको संयोजनमा सर्लाहीको हरिवनमा यही बैशाखमा सहकारी प्रवद्र्धनमा स्थानीय तहसँग सहकार्य र समन्वय विषयक अन्तक्रिया सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले गर्नुभएको थियो । उहाँले ६-७ महिनादेखि सहकारी ऐनको मस्यौदा कृषि समितिमा रहेको र १० बैशाखबाट बस्ने संसदमा त्यसलाई पास गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सहकारी शित भण्डारको लागि सहकारी र सरकारको १ प्रतिशत लागतमा काम भइरहेको र कोभिड १९ को महामारीका कारण लकडाउन भएको बेला सहकारीका सदस्यको २२ करोड व्याज सरकारले तिरेको समेत उहाँले बताउनुभएको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लको अध्यक्षतामा भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । ओमदेवी मल्लले सहकारी प्रवद्र्धनमा स्थानीय तहसँग सहकार्य र समन्वय विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उहाँको प्रस्तुतीबाट त्यहाँ उपस्थिति विशिष्ट व्यक्तित्वहरु, नगरपालिकाका प्रमुख, उपप्रमुख, कर्मचारी तथा सहकारीकर्मीहरु उत्साहित हुनुभएको थियो ।
उहाँले सहकारीसँग सहकार्य गर्दा स्थानीय तह समृद्ध बन्ने र स्थानीय समुदायको जनस्तरमा समेत सकारात्मक परिवर्तन हुने विषयमा गहकिलो प्रस्तुती दिनुभएको थियो । उहाँको उक्त कार्यपत्रपछि नगर प्रमुखहरुले आफ्ना प्रतिक्रिया दिदै सहकारीसँग सहकार्य गरेर अघि बढ्ने जानकारी समेत व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा संविधान सभा सदस्य हरि उप्रेती, प्रदेस सभासदस्य डिल्लीप्रसाद उप्रेती, ६ वटा नगरपालिकाका प्रमुखहरु, ७ वटा न.पा.का उपप्रमुखहरु जिल्ला समन्वय समितिका उपप्रमुख, २ गाउपाकिलाका अध्यक्ष , ३ गाउपालिकाका उपाध्यक्ष समेत स्थानीय तहका कर्मचारी, विभिन्न विषयगत सहकारी संघ-संस्थाका सहकारीकर्मी, सञ्चारकर्मी गरी ८० जनाको उपस्थिति रहेको थियो । त्यसैगरी महासघका सञ्चालक रामबाबु यादवले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply