हिमाली ब्राह्मी महिला साकोसको ब्राह्मी सेवा केन्द्र शुभारम्भ
काठमाडौं । चितवनको हिमाली ब्राह्मी महिला साकोसले ब्राह्मी सेवा केन्द्र क्षेत्रपुरबाट कारोबार शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले ब्राह्मी सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो । सेवा केन्द्र उद्घाटनका क्रममा शुभकामना व्यक्त गर्दै उपमेयर शाहले आर्थिक विकासमा प्रमुख तीन खम्बामध्येको एउटा खम्बा सहकारी भनेर संविधानमै सुनिश्चित गर्नुका साथै सहकारीले सदस्यहरुको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको हुँदा सहकारीप्रति सबैको सकारात्मक सोच अभिबृद्धि भएको बताउनुभएको थियो । उहाँले सहकारी क्षेत्रको वृद्धि विकासका लागि महानगर सँधै सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार भएको बचतबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष भवानी देवी अधिकारीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक विद्या कोइराला, सहकारीकर्मी शोभा अर्यालको विशेष उपस्थिति साथै संस्थाका सञ्चालक एवम् कर्मचारीहरु उपस्थित हुनुभएको थियो । भरतपुर महानगरपालिका ११, जागृतिचोकमा मुख्य कार्यालय रहेको हिमाली ब्राह्मी महिला साकोस गत पुस २८ गते हिमाली महिला साकोस र ब्राह्मी महिला साकोसबीच एकीकरण भई अगाडि बढेको थियो । एकीकरणपश्चात गत पुसदेखि संयुक्त कारोबार शुरु गरेको उक्त साकोसमा हालसम्म कुल १८ सय ६४ सदस्य र कुल २० करोड वासलात रहेको छ ।