संगम साकोसको मोबाइल बैंकिङ सेवा सुरु
नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्था लि.ले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । विदुर नगरपालिका ४ बसपार्क रोडस्थित साकोसले आधुनिक बैंकिङ प्रणालीका विविध सेवाहरु समावेश भएको “संगम स्मार्ट एप” प्रयोग गरी सदस्यहरुले धेरै किसिमका वित्तीय सेवा लिन सक्ने जनाएको छ । जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले संगम स्मार्ट एपको उद्घाटन गर्दै सहकारीले नुवाकोट जिल्लामा पहिलोपटक मोबाइल बैंकिङ सेवा भित्र्याई प्रविधिमा फड्को मारेको बताउनुभएको थियो । उहाँले संगम साकोसले जिल्लामा प्रविधिमा अगुवा संस्थाको रुपमा आफुलाई स्थापित गरेको बताउनुभएको थियो । संस्थाका अध्यक्ष नारायण श्रेष्ठले हालको विषम परिस्थितिलाई समेत ध्यानमा राखेर सदस्यहरुलाई सुरक्षित, सरल र भरपर्दो तरिकाले पेपरलेस आर्थिक कारोबारको सहजताका लागि संगम स्मार्ट एप शुभारम्भ गरेको जानकारी गराउनुभएको थियो ।
सहकारीको रजतजयन्ती मनाउने क्रममा मोबाइल बैंकिङ एपको पहुँचलाई मध्यनजर गर्दै सदस्यता प्राविधिक साक्षरता कार्यक्रम पनि आयोजना गरिने उहाँले बताउनुभएको थियो । आधुनिक बैंकिङ सेवा अन्तर्गत इन्टरनेट बैंकिङ, बीमा भुक्तानी, बैंक, हवाई टिकट र लघुवित्तको खाताबाट खातामा रकम जम्मा गर्न र अन्तर बैंक भुक्तानी गर्न सकिने सहकारीका कोषाध्यक्ष तथा सूचना प्रविधि उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभएको थियो । संगम बचत तथा ऋण सहकारीमा खाता सञ्चालन गरी सदस्यहरुले मोबाइल नं रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सक्ने र इन्टरनेट बैंकिङमा संगमको बचत खाता र कर्जा खाताको विवरण, चेक रिक्वेस्ट, फण्ड ट्रान्सफर, मोबाईल, टिभी, इन्टरनेट, विद्युत, खानेपानी र टेलिफोन महसुल भुक्तानी लगायत सेवा उपलब्ध हुने साकासेले जनाएको थियो ।