२८ औं वार्षिक साधारणसभा सम्पन्न
ललितपुर । महालक्ष्मी नगरपालिकामा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको थियो । संस्थाले क्षेत्रगत रुपमा साधारणसभा शुरु गरी विधिवत रुपामा समापन गरिएको थियो । संस्थाकी अध्यक्ष देवी श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको महालक्ष्मी न.पा वडा-नं ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठको प्रमुख आतिथ्यता, वडा नं ९ का कार्यवाहक अध्यक्ष राजकुमार केसीको विशेष आतिथ्यता रहेको थियो । संस्थाले कोभिड १९ को महामारीलाई मध्यनजर गरी गोदामचौर सेवाकेन्द्र, कोटडाँडा, शंखादेवी सेवाकेन्द्र र मुख्य कार्यालय लुभुमा सदस्यहरुका लागि उपस्थिति पुस्तिका खुला गरी वार्षिक प्रतिवेदन वितरण तथा सल्लाह सुझाव संकलन गरेको थियो ।
संस्थाले सीमित व्यक्तिको उपस्थितिमा विद्युतीय माध्यमबाट सभा समापन गरेको र सभामा अध्यक्ष श्रेष्ठले २०५० सालमा २७ जना शेयरसदस्य र १३५० रुपैया शेयरपुँजी लिएर ग्वार्को पूर्वको पहिलो सहकारीको रुपमा संस्था स्थापना भएको र हालसम्म आइपुग्दा संस्थामा ६ हजार ५४२ सदस्य १ अर्ब ६९ करोड ३२ लाख कुल सम्पत्ति पुगेको सभामा उहाँले बताउनुभएको थियो ।कोभिड १९ का बीचमा समेत कुल सम्पत्ति वृद्धिको लक्ष्य १०५ प्रतिशत र ब्याज असुली ९९ प्रतिशत भई सदस्यलाई १५ प्रतिशत लाभांश दिन सक्ने भएको उहाँले उल्लेख गर्नुभएको थियो ।संस्थाले सदस्य राहत कोष, औषधी उपचार खर्च र सदस्य सुरक्षा जस्ता कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई भैपरी आउँदा आर्थिक सहयोग गर्दै आएको उहाँले जानकारी गराउनुभएको थियो ।
संस्थाका कोषाध्यक्ष सुधिर पौडेलले सभामा आ.व. २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १४ करोड २५ लाख शेयरपुँजी, १९ करोड ८६ लाख जगेडा कोष, १ अर्ब २० करोड ३६ लाख बचत सङ्कलन गरी १ अर्ब १७ करोड ६७ लाख ऋण लगानी गरेको बताउनुभएको थियो । संस्थाले सदस्यहरुका लागि कल्याणकारी मोबाइल एपसमेत सञ्चालनमा ल्याइसकेको र सो एपको प्रयोग गरी खाताको मौज्दात जाँच, चेकबुक माग, रकम ट्रान्सफर गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ ।