कास्कूनको १८औँ वार्षिक साधारणसभा सम्पन्‍न

काठमडौँ जिल्ला भरका बचत तथा ऋण सहकारी संस्थाहरूको आधिकारिक जिल्ला संघ काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. KASCCUN ले १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । राष्ट्रिय सहकारी महासंघको सभाकक्षबाट भौतिक रूपमा कार्यक्रम गर्दै भौतिक रूपमा उपस्थित हुन असमर्थ सदस्यहरूका लागि जुम प्रविधीमार्फत सहभागिता हुने गरी वार्षिक साधारणसभाको कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश सरकारका भूमीव्यवस्था तथा सहकारी मन्त्री चन्द्र लामाले पानसमा दीप प्रज्ज्वलन तथा विश्वमै पहिलो पटक बचत तथा ऋण सहकारीको सुरुवातकर्ता एफडब्लु राईइईसनको फोटोमा माल्यार्पण गरी साधारणसभाको समुद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, नेफ्सकूनका निवर्तमान अध्यक्ष डि.बी. बस्‍नेत, कास्कूनका निवर्तमान अध्यक्ष केशव दंगाल लगायतका अतिथीहरूको भौतिक उपस्थिति रहेको थियो । त्यसैगरी राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईसिए ग्लोबल बोर्ड मेम्बर ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. NEFSCUN का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ PROSCUN का अध्यक्ष उद्धव सापकोटा लगायतका अतिथिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै बाग्मती प्रदेश सरकारका भूमी व्यवस्था तथा सहकारी मन्त्री चन्द्र लामाले सदस्यको बचत सुरक्षित गर्ने कुरालाई प्रारम्भिक संस्था र सम्बन्धित संघहरू पहिलो प्रथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो भने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले काठमाडौंका बचत ऋण सहकारी संस्थाहरूमा समस्याहरू देखिएको भन्दै कास्कूनले सदस्यता विस्तारमार्फत गर्ने र ती संस्थाको सुशासनको पक्षमा सुधारका लागि पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो । आईसिए ग्लोबल बोर्ड मेम्बर ओमदेवी मल्लले कास्कूनले अनुगमन र एकीकरणको कुरालाई विशेष प्रथमिकतामा राखेर जिल्लाका बचत ऋण संस्थाको विकास र सुशासनमा थप योगदान पुर्याउन जरूरी रहेको बताउनुभएको थियो । त्यसैगरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी उप्रेतीले सहकारीको माध्यमबाट उत्पादन, प्रशोधन र वितरणका कार्यमा लगानी गरी जनताको जीवनस्तर उठाउने काममा कास्कूनको योगदान महत्वपूर्ण रहेको बताउनुभएको थियो भने नेफ्सकूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संघहरूका नेतृत्वकर्ताहरूको प्राथमिकता सहकारीको विकास, प्रवर्धन, नीतिगत सुधार र प्रविधिको पहुँच विस्तारमा हुनुपर्नेमा पछिल्लो समय त्यसतर्फ हुन नसकिरहेको आफूले महसुश गरेको बताउनुभएको थियो ।

कास्कूनको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघका कोषाध्यक्ष निरञ्‍जन सेढाईले संघको शेयर पुँजि ५ करोड ५९ लाख ९९ हजार पुगेको जानकारी गराउनुभएको थियो भने संघले १ अर्ब २१ करोड निक्षेप संकलन तथा ७१ करोड ५७ लाख ऋण लगानी गरेको उहाँको प्रतिवेदनमा उल्लेख थियो । उक्त संघले गत आर्थिक वर्षको कारोवारबाट आयकर व्यवस्था पछि १ करोड ५० लाख २० हजार खुद नाफा गरेको थियो भने संघका लेखा सुपरीवेक्षण समितिका संयोजक सुवासचन्द्र घिमिरेले संघको आन्तरिक सुपरीवेक्षणको क्रममा देखिएका विषयहरूमा टिप्पणी समेत गर्नुभएको थियो । त्यसैगरी संघका अध्यक्ष दिपक पनेरूले आफ्नो मन्तव्य राख्दै संघको सञ्‍चालक समिति र लेखा सुपरीवेक्षण समिति संघलाई नीति, विधि र प्रविधिमार्फत व्यवस्थित रूपमा सञ्चा‍लन गर्न सम्पूर्ण प्रयाससहित लागिपरेको र संघले वित्तिय कारोवारका अतिरिक्त निरन्तर सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम, रक्तदान, मागमा आधारित तालिम, सम्मान तथा पुरस्कार लगायतका विविध कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिनुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *