भक्तपुर । अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यबिनायकले ९४ लाख २७ हजार ६७७ रुपैँया ४७ पैसा खुद नाफा कमाएको थियो भने संस्थाको १२ औं बार्षिक साधारण सभामा प्रकाशित प्रतिवेदनअनुसार संस्थाले आ.व. २०७७/०७८ मा १० करोड २६ लाख ६७ हजार ११२ रुपैयाँ १७ पैसा आम्दानी गरी ९ करोड ३२ लाख ३९ हजार ४३४ रुपैयाँ ७० पैसा खर्च भई ९४ लाख २७ हजार ६७७ रुपैयाँ ४७ पैसा मुनाफा गरेको थियो । त्यसैगरी कोरोना भाइरस महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त संस्थाले कार्यालयमा नै साधारण सभा तथा निर्णय प्रमाणिकरण कार्यक्रम गरीरहेको थियो भने संस्थाका अध्यक्ष बच्चुराम थापाले संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो संस्था चाहिँ त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको बताउनुभएको थियो ।
उक्त संस्थाले सहकारी सिद्धान्त, ऐन, नियम, विनियम र आचार संहिताको पूर्ण पालना गर्दै आफ्नो सदस्यहरुको छरिएर रहेको पूँजीलाई संकलन गर्दै आफ्ना सदस्यहरुका बीच उत्पादनमूलक, सिपमूलक, आयमूलक, व्यवसायमूलक र रोजगारमूलक क्षेत्रहरुमा लगानी गरी आर्थिक तथा सामाजिक रुपले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्ने लक्ष्य रहेको सचिव राजु श्रेष्ठले बताउनुभएको थियो भने कोषाध्यक्ष तुलसादेवी थापा राईले आ.व. २०७७/०७८ मा ३ करोड २१ लाख ३८ हजार ७०० रुपैयाँ शेयर, ८६ करोड १४ लाख २४ हजार ३८ रुपैयाँ ३८ पैसा बचत र ७४ करोड १९ लाख ९५ हजार ६८४ रुपैयाँ लगानी भएको र हाल संस्थामा २ हजार ९७ महिला र २ हजार ९२ पुरुष गरी कूल ४ हजार ८८९ जना सदस्य रहेको समेत जानकारी दिनुभएको थियो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन गिरीले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी वृद्धि गर्ने उद्देश्यले संस्थाका सदस्यहरुलाई नियमानुसार शेयर खरिद गर्न र थप सुविधा सहितको नयाँ कार्यक्रम ल्याउनु पर्ने सुझाव दिँदै संस्थामा काम गर्ने कर्मचारीहरुको मनोबल र आत्मबल बढाउन समय, काल, परिस्थिति अनुरुप आवश्यक नयाँ ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने नीति अवलम्बन गर्नुपर्ने तथा संस्थाको आर्थिक एवं प्रशासनिक व्यवस्था समयानुकुल सुदृढ गर्नका लागि विद्यमान नीति नियम र कार्यविधिहरु परिमार्जन गर्दै लैजानु पर्ने सुझाव समेत दिनुभएको थियो । त्यसैगरी संस्थाका प्रबन्ध निर्देशक राजु थापाले अनमोलले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सदस्यको सन्तुष्टि नै सफलताको घडी भएकोले सदस्यहरुको आवश्यकता र चाहाना अनुरुप कार्यक्रमहरु बनाई लागू गर्ने र मूल्यांकन गर्ने योजना संस्थाको रहेको जानकारी दिनुभएको थियो ।
Leave a Reply