भक्तपुरको सत्रौं बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको सत्रौं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको थियो । सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सभाको उद्घाटन गर्दै सहकारी धेरै भए तर सहकारीको आफ्नो उत्पादन नभएकोले देशको परनिर्भता हटाउन काम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो भने ओरेन्टल सहकारीका सञ्चालकहरुलाई सरकारले कारबाही गर्न नसकेको भन्दै सरकारकै संरक्षणमा भइरहेको यस्ता विकृति बिरुद्ध सहकारी संस्थाले अभियान चलाउनुपर्ने धारणा राख्नुभएको थियो । त्यसैगरी अतिथि राष्ट्रिय सहकारी महासंघका संचालक एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेतले संघ, प्रदेश, स्थानिय तहको सहकारी ऐन नियमावलीको अन्यौलको कारण सहकारी संघ संचालनमा समस्या आइरहेको र सहकारीको छाता संघमा आबद्ध नभई सरकारकै संरक्षणमा सिभिल सहकारी चलाएको विचार व्यक्त गर्नुभएको थियो ।

अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले भक्तपुर जिल्ला बचत संघले सहकारी अभियानमा नीतिगत लविङ्ग, बहस पैरवी, शिक्षा तथा तालिममा अग्रणी भुमिका खेल्दै नेपाल बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष एवम् अग्रज सहकारीकर्मी कैलाश भक्त प्रधानाङ्गले सहकारीलाई राजनीतिकरण गर्दा सहकारी अभियान अगाडि बढ्न नसकेको विचार व्यक्त गर्नुभएको थियो भने बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियानलाई शुद्धिकरण गरी गुणात्मक सहकारी विकासमा बाग्मती सरकारसँग पहल भईरहेको र जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का, संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले गैर सामुदायिक सहकारी संस्थालाई निरुत्साहित गरी समुदायमा आधारित सहकारी संस्था विकासका लागि संघ स्थापना भएको स्मरण गर्दै हाल बहुउद्देश्यीय सहकारी संस्थाहरुको अस्वभाविक दर्ताले सहकारीमा विकृति विसंगती बढ्नेतर्फ चिन्ता व्यक्त गर्नुभएको थियो ।

सभाको सभापतित्व गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सन्दर्भ व्याजदर र सेवा शुल्क तोक्ने सहकारी विभागको कार्य सदस्यले सदस्यलाई शोषण हुनबाट सचेत बनाएको कुरा बताउदै एक व्यक्ति एक सहकारीको व्यवस्था व्यवहारिक नभएकोले संशोधन हुनुपर्ने विचार राख्दै सहकारीको आयकर ५ प्रतिशत हुदाँ सहकारी संघ संस्थामा अग्रिम व्याज करकट्टी १५ प्रतिशत नै कायम रहनु न्याचित नभएको कुरा बताउनुभएको थियो । त्यसैगरी संघका उपाध्यक्ष हरी बल्लले स्वागत मन्तव्य दिदैं नेफ्स्कून र सहकारी बैंकको अस्वस्थ प्रतिस्पर्धाले सहकारी सहकारी बीच नै प्रतिस्पर्धा चलेको र सभाको मुख्य सत्रमा संघका सचिव जगनाथ प्रजापतिले संघको आ.व. २०७७।७८ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांष प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभएको थियो भने संघका कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व.२०७७।७८ को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । सभाबाट आ.व.२०७७।७८ मा १ अर्व ६७ करोड ६२ लाख ४३ हजारको वासलात र २ करोड २१ लाख ९९ हजारको नाफा सहितको लेखापरिक्षण प्रतिवेदन पारित गर्दै आगामी आ.व.२०७८।७९ मा संघको वासलत १ अर्व ९२ करोड ७३ लाख २९ हजारको बजेट पारित गरेको थियो भने संघले ८० लाख ६० हजारमा भवन निमार्ण सम्पन्न गरी आफ्नै भवनबाट कारोबार संचालन भएको र संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आ.व.२०७७।७८ को लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योग्दान गर्ने बचतमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., उपकार बचत तथा ऋण सहकारी संस्था लि., ऋणमा संचित बचत तथा ऋण सहकारी संस्था लि., सागबारी बचत तथा ऋण सहकारी संघ लि र तौडोलछाप बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई प्रशंसा पत्र वितरण समेत गरिएको थियो । उक्त सभामा २०० वटा सदस्य संस्थाहरु मध्ये १६७ जनाको उपस्थिति रहेको थियो भने सभाको संचालन संघका संचालक कृष्णश्वरी प्रजापतिले र सभामा सम्पन्न निर्वाचनबाट कृष्ण गोविन्द लाखाजुको अध्यक्षतामा चार वर्षको लागि सञ्चालक समिति निर्वाचित भएको थियो । नवनिर्वाचित उपाध्यक्षमा हरी बल्ल, सचिव जगन्नाथ प्रजापति, कोषाध्यक्ष कान्छा भक्त घजु, सञ्चालक सदस्य पञ्च कृष्ण श्रेष्ठ, काजी बहादुर पञ्च, इन्द्रप्रसाद ब्यान्जु, लेखा सुपरिवेक्षण समितिको संयोजकमा बाल मुकुन्द उपाध्याय, सदस्यमा श्रीप्रसाद र सुशिल पराजुली बराल निर्विरोध निर्वाचित हुनुभएको थियो भने संचालक समिति सदस्यमा महिलातर्फ कृष्णश्वरी प्रजापति र सन्तोषी खतिवडा अत्याधिक मतले विजयी हुनुभएको थियो ।

 


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *