काठमाडौं । नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण तथा अनुगमन कार्यक्रम कर्ब्स अन्तर्गत चन्द्रागिरी क्लष्टरमा आबद्ध काठमाडौंका साकोसहरुबीच जोखिम व्यवस्थापन तथा सिकाई आदान प्रदान कार्यशाला सम्पन्न भएको थियो । त्यसैगरी बलम्बुस्थित चम्किला तारा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा सम्पन्न कार्यशाला प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल र विशेष अतिथि कोषाध्यक्ष दिपक पनेरुको उपस्थितिमा भएको थियो ।
नेफ्स्कूनका अध्यक्ष पौडेलले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रमहरुले संस्थालाई नीति, विधि र प्रविधि प्रयोगमा डोहोर्याउँदै सदस्यको बचतको सुरक्षा, दीगो संस्थागत विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै सदस्यको बचत सहकारीमा र सहकारीको बचत अभियान मार्फत परिचालन गरेर वित्तीय सुशासन कामय गर्नुपर्ने बताउँदै कार्यक्रममा आबद्ध सदस्य साकोसहरुको संरक्षण र प्रवर्धनमा नेफ्स्कून निरन्तर लागिरहेको उल्लेख समेत गर्नुभएको थियो ।
उक्त कार्यशालामा कोषाध्यक्ष दिपक पनेरुले कार्यक्रममा आबद्ध सदस्य संस्थाहरुको आफ्नो वित्तीय तथा व्यवसायिक सुरक्षणका लागि उल्लेख्य उपलब्धि हासिल गर्न सक्ने खालका सेवा र सदस्य केन्द्रीत ऋण प्रवाहलाई जोड दिँदै उत्पादनमूलक व्यवसाय निरन्तरताका लागि पहल गर्न अनुरोध गर्नुभएको थियो भने आयोजक साकोसका अध्यक्ष तारा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनश्रमिक साकोस, गुर्जुधारा साकोस, सतुङ्गल साकोस, श्री सगरमाथा साकोस, चम्किला तारा महिला साकोस, युगबाणी साकोस, ध्रुब लक्ष्मी साकोसबाट संस्थागत प्रस्तुती रहेको थियो ।
Leave a Reply