कास्की । ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC पोखरामा सम्पन्न भएको थियो । नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिममा साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापन गरी १८ जनाको सहभागिता रहेको थियो । त्यसैगरी तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा रहनुभएको थियो भने उद्घाटन साकोसका अध्यक्ष धिरेन्द्रकुमार शाक्यले र तालिम सहजीकरण नेफ्स्कूनका तालिम विभाग प्रमुख गणेशप्रसाद तिमिल्सेना र कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो ।
त्यसैगरी समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री बुढाले हाल केही सहज भएको बताउँदै कोभिडका कारण उत्पन्न समस्या र चुनौती सामना गरी सहकारीहरुले सदस्यहरुलाई सेवा प्रवाह गरेको र संविधानमा अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा सहकारी उल्लेख भए बमोजिम तिनै तहको सरकारहरुले यसलाई व्यवस्थित गर्न महत्व दिएको उहाँको भनाई थियो । उहाँले सहकारीले समाजिक उत्तरदायित्व बहन गर्नुपर्ने भन्दै विपन्न वर्गहरुको हितमा सहकारीहरुले कार्य गर्नुपर्नेमा जोड दिदैँ सदस्यहरुलाई व्यवसायिकता र उद्यमसँग जोडदै रोजगारी वृद्धि गर्न सहकारी क्षेत्रसँग आग्रह गर्नुभएको थियो ।
उक्त साकोसका अध्यक्ष शाक्यले तालिममा सिकेको सीप र ज्ञानलाई व्यवहारमा कार्यान्वयन गरी संस्थागत सुशासन कायम गर्दै सदस्यमैत्री सेवामार्फत संस्थालाई वित्तीय रुपमा सुरक्षित र दिगो बनाउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
Leave a Reply