काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल र स्याङ्जा जिल्लाका स्थानीय बचत तथा ऋण सहकारी संघ-संस्थाका प्रतिनिधिहरुबीच स्याङ्जामा सहकारीका समयामयिक विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो । स्याङ्जा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र जिल्ला सहकारी संघ लि. को संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला बचत संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य विद्या श्रेष्ठ, जिल्ला सहकारी संघका लेखा सुपरीवेक्षण समिति संयोजक मुक्तिप्रसाद पाण्डे लगायत स्थानीय सहकारीका पदाधिकारी सदस्य एवम् व्यवस्थापकहरु सहित ४० भन्दा बढीको उपस्थिति रहेको थियो ।
उक्त वित्तीय सहकारी संस्थाहरुको साझा सञ्जाल निर्माणको अभियानमा नेफ्स्कूनले अगाडि सारेका कार्यक्रमहरु, साकोस स्तरीकरण कार्यक्रम र अभियानको सुरक्षा कवजको रुपमा रहेको स्थिरीकरण कोषको विषयमा नेफ्स्कून अध्यक्ष पौडेलले प्रकाश पार्नुभएको थियो भने उहाँले स्थिरीकरण कोष सञ्चालनका लागि अभियानको साथ, सहयोग र ऐक्यवद्धता आवश्यक रहेको विचार व्यक्त गर्दै सहभागीहरुको जिज्ञासालाई सम्बोधन समेत गर्नुभएको थियो ।
उहाँले अभियानको सबलताका लागि स्थिरीकरण र स्तरीकरण दुवै पक्ष महत्वपूर्ण रहेको चर्चा गर्दै साकोसहरुलाई सुरक्षित, स्थायी र विश्वसनीय बनाउने सवालमा सदस्यहरुको क्रियाशिलता अनिवार्य रहेने प्रष्ट पार्दै सन्दर्भ व्याजदरको विषयमा पनि विभागले बैठक बस्ने तयारी गरेको र बैठकको निर्णयबाट अभियानको भावनालाई सम्बोधन गर्नेगरी व्याजदर पुनरावलोकन हुने विश्वास लिएको बताउनुभएको थियो भने सो कार्यक्रममा नेफ्स्कून पोखरा फिल्ड कार्यालयका इन्चार्ज यमकला सुवेदी र बरिष्ठ सहायक दिप्ती आचार्य समेत सहभागी हुनुभएको थियो ।
Leave a Reply