रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १४औं बार्षिक साधारण सभा मन्थलीमा सम्पन्न भएको थियो । उक्त साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य डि.बि. बस्नेतले छरिएर रहेका सहकारी संस्थाहरुको समग्र विकासका लागि अहिले एकिकरणको आवश्यकता भएको र सहकारी संस्थाहरुले नेपालको आर्थिक विकासमा ठुलो योगदान गरेको बताउँदै उहाँले अब सहकारी संस्थाहरुको ध्यान उत्पादन क्षेत्रमा बढी केन्द्रित हुनुपर्नेमा समेत जोड दिनुभएको थियो । त्यसैगरी कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले सहकारी संस्थाहरु सरकारको घेरा भित्र नआउँदा अनुगमन तथा नियमनका लागि समस्या भएको बताउनुभएको थियो भने कार्यक्रममा जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेलले तिन खम्बे अर्थनिति मध्येको एउटा खम्बाका रुपमा रहेको सहकारी संस्थाको विकासका लागि सरकारको ध्यान जान नसकेको गुनासो गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष गोविन्दप्रसाद घिमिरे लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा संघका महासचिव नविन के.सी. द्धारा प्रस्तुत कार्यक्रम प्रतिवेदन तथा कोषाध्यक्ष पार्वति पाठकद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो । उक्त सभामा मन्थली बचत तथा ऋण सहकारी संस्था, नवजागरण वचत तथा ऋण सहकारी संस्था र सुप्रज्ञा बचत तथा ऋण सहकारी गरी फरक-फरक क्षेत्रमा उत्कृष्ट काम गर्ने ३ वटा सहकारी संस्थालाई सम्मान गर्दै कार्यक्रमको सहजीकरण संघका दोलखा फिल्ड इन्चार्ज राजेश खड्काले गर्नुभएको थियो भने सो कार्यक्रममा रामेछापस्थित ४० साकोसका ५० भन्दा बढीको सहभागिता रहेको थियो ।
त्यसैगरी राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारी एकिकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो । उक्त महासंघका सञ्चालक सदस्य डि.बि. बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल र नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे लगायतका बक्ताहरुले सहकारी संस्था एकिकरणका विषयमा आ-आफ्नो धारणा समेत राख्नुभएको थियो । उक्त अभिमुखिकरण कार्यक्रमको सहजिकरण राष्टिय सहकारी महासंघका नायव महाप्रवन्धक बाबुल खनालले गर्नुभएको थियो भने अभिमुखिकरण कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले गर्नुभएको थियो ।
Leave a Reply