काठमाडौं । विराटनगर महानगरपालिका वडा नम्बर-८ मुख्य कार्यालय रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. र कटहरी गाउँपालिका वडा नम्बर-२ स्थित तरकारी उत्पादक कृषि सहकारी संस्था लि. बीच एकीकरण भएको थियो । यी दुई भिन्न प्रकृतिका सहकारीहरुबीच एकीकरण कार्य सम्पन्न भई प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सुनसरीबाट संस्था एकीकरण प्रमाणपत्र समेत प्राप्त भएको थियो । उक्त एकीकरण पश्चात् संस्थाको नाम ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. बिराटनगर-८ हाटखोला कायम भएको थियो भने अध्यक्ष धर्मलाल सिंह कोइरी र अनिरुद्रप्रसाद राजबंशी सहित २० जनाको सञ्चालक समिति कायम भएको थियो ।
त्यसैगरी कानुनतः ९० दिनभित्र एकीकृत साधारणसभा आयोना गरी नयाँ सञ्चालक समिति गठन गरिने तयारीमा संस्था जुटेको व्यवस्थापक बलबहादुर घिमिरेले जानकारी गराउनुभएको थियो । विगतमा पनि ईश्वर साकोस र सपोर्ट नेपाल बचत तथा ऋण सहकारी संस्था लि. कटहरी -४ बीच एकीकरण भएको र ईश्वर साकोसले सहकारी विभाग, नयाँ बानेश्वर काठमाडौंबाट २०७६ साल फागुन २२ गते एकीकरणको स्वीकृति प्राप्त समेत गरेको थियो भने पछिल्लो एकीकरणसँगै अब ईश्वर साकोसको कुल सम्पत्ति १० करोड २८ लाख रुपैयाँ र सदस्य संख्या साढे १२ सय पुगेको व्यवस्थापक घिमिरेले साकोस आवाजलाई बताउनुभएको थियो ।
एकीकृत कारोबार सुरु भैसकेको बताउँदै उहाँले अब सदस्यहरुको कृषि उपज उत्पादनको बजारीकरणका लागि साकोसले काम गर्ने बताउनुभएको थियो । साकोसको कार्यक्षेत्र विराटनगर महानगरपालिकासँगै कटहरी, जहदा र ग्रामथान गरी ३ वटा गाउँपालिका पुगेको थियो भने हाल २ सेवा केन्द्र सञ्चालनमा रहेको छ । उक्त ईश्वर साकोस हाल नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध रहि २०७८ साल कार्तिक २६ गते सम्पन्न दुबै संस्थाका सञ्चालक तथा लेखा समिति, उपसमिति, सक्रिय सदस्यहरुको भेलाले एकीकरण प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको थियो ।
Leave a Reply