चितवन । नेपालको सहकारी इतिहासमा जननी जिल्लाको रुपमा रहेको चितवमा अवस्थित जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संघ चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ यतिवेला रजतमहोत्सब समारोहको तयारीमा जुटेको छ ।
संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीले यस बर्षलाई चितवन बचत संघको रजत बर्षको रुपमा मनाउन विविध कार्यक्रम तयारी भएको जानकारी गराउनुभएको थियो । उहाँले विविध सामाजिक क्रियाकलापहरु गर्ने, रजत स्मारिका प्रकाशन गर्ने र फागुन २९ गते संघको २५औं बर्ष प्रवेशको अवसरमा रजत महोत्सव समारोह आयोजना गरिने हुँदा सम्पूर्ण आबद्ध सदस्य, स्थानीय सहकारीकर्मी र शुभचिन्तकहरुलाई सहभागिताका लागि अनुरोध समेत गर्नुभएको थियो ।
संघले यस बर्षलाई रजतमहोत्सब बर्षको रुपमा मनाउने घोषणा गरेसँगै सहकारी अभियानको लागि पठनीय र संग्रहणीय सामाग्री प्रकाशन स्वरुप रजत स्मारिका प्रशासनको तयारी समेत गरेको र रजतमहोत्सवको अवसरमा आयोजित विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम अन्तर्गत संघले खुल्ला रक्तदान कार्यक्रम, महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी चेकजाँच तथा परीक्षण, हाजिरी जवाफ प्रतियोगिता लगायतका विविध कार्यक्रम तयारी गरेको थियो ।
उक्त बचत संघकी उपाध्यक्ष एवम् नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाको अध्यक्षतामा भरतपुर महानगरपालिका चनौलीमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले मानवीय जीवन रक्षाका लागि अति आवश्यक पर्ने रगत जस्तो महान दान गर्न सबै सहकारीकर्मीहरुको सहकार्य महत्वपूर्ण रहने बताउदै सहकारीले विविद्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुसँगै रक्तदान जस्तो पवित्र कामलाई पनि महत्वका साथ अगाडि बढाउँदा धेरै मानिसहरुको जिवन रक्षामा सहयोग पुगेको समेत उल्लेख गर्नुभएको थियो ।
उक्त रक्तदान कार्यक्रममा ५ महिला र २७ पुरुष गरी ३२ जनाले रक्तदान गर्नुभएको बचत संघकी उपाध्यक्ष कोइरालाले जानकारी गराउनुभएको थियो । कार्यक्रममा विभिन्न अतिथि र स्थानीय सहकारीकर्मीहरु सहित एक सयभन्दा बढीको उपस्थिति रहेको र संघ २०५३ साल फागुन २९ गते तत्कालिन जिल्ला सहकारी कार्यालय चितवनमा विधिवत दर्ता भएको थियो । त्यसैगरी प्रारम्भमा ९ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मिलेर गठन गरिएको यस संघमा हाल २०७ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध छन् भने २०६८ सालदेखि रणनीतिक योजना निर्माण गरी आफ्ना व्यवसायिक योजनाहरु कार्यान्वयन गर्दै आएको यस संघले चौथो व्यवसायिक रणनीतिक योजना निर्माण गरी कार्यान्वयनको चरणमा रहेको छ ।
वित्तीय सेवा अन्तर्गत संघले २०७८ पुष मासन्त सम्म १ करोड २५ लाख बराबरको सेयर पुँजी संकलन गरको थियो भने १० करोड ५७ लाख बचत संकलन र ७ करोड ५६ लाख बराबरको ऋण लगानी गर्न सफल भई हाल संस्थाको कुल सम्पत्ती करिब १५ करोड ५३ बराबरको रहेको छ ।
Leave a Reply