चितवन । नेपालको सहकारी अभियानमा जेठो इतिहास बोकेको सहकारी संस्था “बखानपुर सहकारी ऋण समिति” शारदानगर, चितवनको संस्थापक सदस्य इन्द्रसिंह गुरुङलाई चितवन जिल्ला बचत संघले अभिनन्दन गरेको थियो । नेपालको सहकारी अभियानको शुभारम्भ, विकास र संम्वर्धनमा बखान सहकारीका स्थापनाकालीन सदस्य गुरुङले पुर्याउनुभएको बिशेष योगदानको उच्च मूल्यङ्कन गर्दै चितवन बचत संघले आफ्नो रजत महोत्वसको विशेष अवसरमा उहाँकै निवास भरतपुर–१९, शारदानगर पुगेर सम्मान स्वरुप अभिनन्दन गरेको थियो ।
चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुबेदीको अध्यक्षतामा आयोजित अभिनन्दन कार्यक्रम बागमती प्रदेश सहकारी संघका सञ्चालक तेजेन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा नेफ्स्कूनका सञ्चालक विद्या कोईराला, जिल्ला बचत संघका सचिव रामराज पौडेल, सहसचिव इश्वरी शर्मा ढ़काल, सञ्चालक प्रमिला ढ़काल, आनन्द पाण्डे, भरतपुर महानगर साकोस सञ्जालका संयोजक नारायण कंडेल, बखान सहकारी संस्थाका अध्यक्ष रेशम गुरुङ, संरक्षक द्वयचन्द्रध्वज गुरुङ, तोपमान गुरुङ र सञ्चालकहरुको विशेष उपस्थिति रहेको थियो भने संघका सचिव रामराज पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सहकारी इतिहासमा जननी जिल्लाको रुपमा रहेको चितवनमा अवस्थित जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संघ चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ यतिवेला रजतमहोत्सब समारोहको तयारीमा जुटेको थियो भने यही चैत्र ५ गते संघले रजतमहोत्सव विशेष समारोहको आयोजना समेत गर्दै छ ।
Leave a Reply