चितवनको विकासचोकमा एभरेष्ट साकोसको सेवा केन्द्र उद्घाटन

चितवनको भरतपुर–३, लायन्सचोक स्थित केन्द्रीय कार्यालय रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आजबाट भरतपुर ५, विकासचोकमा सदस्य सेवा केन्द्र शुभारम्भ गरेको छ । सेवा केन्द्रको उद्घाटन प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो भने साकोसका अध्यक्ष बाल गोपाल चुकेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथि, टोल विकास संस्था र समितिका प्रतिनिधि र महिला समुहका अध्यक्षहरुबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सो कार्यक्रमका सहभागी बक्ताहरुले सदस्य नै सहकारीका मालिक भएको हुँदा सदस्यका चाहना र सन्तृष्टीलाई प्राथमिकतामा राखेर गुणस्तरीय सेवा प्रवाहलाई जोड दिन आग्रह गर्नुभएको थियो ।

त्यसैगरी कोस सञ्चालनमा नीति, विधि र प्रविधि प्रयोगमा विशेष ध्यान दिँदै वित्तीय कारोबार चुस्त, दुरुस्त र नियमसंगत हुनुपर्नेमा जोड दिदै सदस्य सक्षमता नै साकोसको सबलता हो, यसका लागि साकोसले नियमित सदस्य शिक्षा, सञ्चालक तथा कर्मचारी क्षमता अभिबृद्धि तालिम, कर्मचारीहरुमा प्रविधि सीप विकास तालिम लगायतका विषहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा सहभागी बक्ताहरुको जोड रहेको थियो ।

उक्त संस्थाका अध्यक्ष बालगोपाल चुकेले सदस्यहरुका लागि सहज, गुणस्तरीय र सबै प्रकारका वित्तीय सेवा उपलब्धता सँगै सदस्य हेरचाह, सामाजिक उत्तरदायित्व, शिक्षा, तालिम, स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमहरुमा निरन्तरता दिँदै आइरहेको बताउनुको साथै सेयर सदस्यहरुलाई सबल बनाउन र व्यवसायिक सक्षमता विकास गर्न आवश्यकताका आधारमा सीपमुलक तालिम सञ्चालन गरिने जानकारी समेत गराउनुभएको थियो । उक्त सेवा केन्द्र समुद्घाटन कार्यक्रममा शेयर सदस्य र स्थानीय गरि २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो भने संस्थाले सेवा केन्द्र उद्घाटनको अवसर पारेर नयाँ सदस्यता विस्तारका लागि चैत महिनाभरी विशेष छुटको व्यवस्था समेत गरिएको जानकारी गराएको थियो ।

२०६४ साल चैत्र १४ गते दर्ता भएको एभरेष्ट साकोसले सदस्यसेवा विस्तारलाई मध्यनजर गर्दै यो पहिलो सेवाकेन्द्र शुभारम्भ गरेको हो । भरतपुर महानगरपालिकाका वडा नंम्बर-१ देखि १३ सम्म र १५, १६ र २९ वडामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको साकोसमा कुल ३ हजार ५ सय ८६ सेयर सदस्य रहेका छन् भने संस्थाको चुक्ता शेयर पुँजी ५ करोड ५० लाख, बचत संकलन २९ करोड २० लाख, ऋण लगानी ३४ करोड २० लाख, कोष रकम ३ करोड ७५ लाख सहित जम्मा सम्पत्ति ४१ करोड ५० लाख रहेको संस्थाका व्यवस्थापक सरु ढकालले जानकारी दिनुभएको थियो ।

त्यसैगरी सदस्यहरुलाई नजिकको सेवा केन्द्रमार्फत सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य सहित सेवा केन्द्र विस्तारमा जुटेको साकोसले आजै १६ बर्षमुनिका बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण समेत गराएको थियो । उक्त भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क आँखा परीक्षण कार्यक्रममा ६६ जना बालबालिकको आँखा जाँच गरिएको साकोसले जनाएको थियो भने कार्यक्रममा संस्थाका उपाध्यक्ष शान्तलाल प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक सरु ढकालले गर्नुभएको थियो ।


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *