आज ६५औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइदै

काठमाडौं । आज ६५औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिक संस्थादेखि, जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा समेत विविध सप्ताहव्यापी कार्यक्रमहरु सहित यो दिवस मनाइदै छ ।

नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक सहकारी वर्षमा राष्ट्रिय सहकारी महासंघले नारा तय गरी सहकारीलाई दिशा निर्देश गर्ने काम गर्दै आएको छ । महासंघले गत वर्षकै निरन्तरता स्वरुप ६५औं राष्ट्रिय सहकारी दिवसको थिम नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरेको छ । मुलुक कोभिड १९ बाट तंग्रिदै गर्दा सहकारी क्षेत्र पनि प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा ६४औं राष्ट्रिय सहकारी दिवसमा तय भएको नाराले सार्थकता पनि पाउँदै छ । धेरै सहकारी संस्थाहरु प्रविधिमा समेत प्रवेश गरिसकेका छन् भने नेपाल सरकारले पनि सहकारीलाई प्रविधिमा जान नीतिगत व्यवस्था गरेको छ ।

यस वर्षको सहकारी दिवसको पूर्वसन्ध्यामा सहकारी संघ संस्थाहरुले सामाजिक उत्तरदायित्वका विविध सृजनात्मक कार्यक्रमहरु आयोजना गरेका छन् भने धेरैजसो दिवस लक्षित कार्यक्रमहरु सम्पन्न पनि भइसकेका छन् । त्यसैगरी आज भन्दा ६४ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको छ ।

विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ ।


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *